अमेरिका र चीनबीच 'व्यापार युद्ध' चर्किँदा विश्वको अर्थतन्त्रमा पर्न सक्ने असर

    • Author, बेन चू
    • Role, बीबीसी भेरिफाई

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा बुधवार ९ एप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको 'व्यापार युद्ध' हुने सम्भावना देखिएको छ।

चीनले अमेरिकासँग नझुक्ने र "अन्तिमसम्म लड्ने" बताएको छ। अमेरिकी निर्णयको जबाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ।

यो 'व्यापार युद्ध' चर्किँदा विश्वको अर्थतन्त्रमा कस्तो असर पर्ला?

अमेरिका र चीनले कति व्यापार गर्छन्?

अमेरिका र चीनबीच विश्वका शीर्षस्थ अर्थतन्त्र हुन्। गत वर्ष करिब ती दुई देशबीच ५८५ अर्ब अमेरिकी डलरको सामान व्यापार भएको थियो।

अमेरिकाले चीनबाट धेरै आयात गरेको थियो। अमेरिकाले ४४० अर्ब अमेरिकी डलरको आयात गर्दा चीनले अमेरिकाबाट केबल १४५ अर्ब अमेरिकी डलरको सामान मात्रै आयात गरेको थियो।

ट्रम्पले आफू पहिलो पटक राष्ट्रपति हुँदा पनि चीनबाट हुने आयातमा उल्लेखनीय कर लगाएका थिए। उनका उत्तराधिकारी जो बाइडनले पनि त्यो कर हटाएनन् बरु अझै बढाए।

ती दुवै 'व्यापार अवरोध'ले अमेरिकामा चीनबाट हुने आयात कम गर्न सघाए। परिणामस्वरूप सन् २०१६ मा कुल अमेरिकी आयातको १६ प्रतिशत हिस्सा ओगटेको चिनियाँ आयात गत वर्ष १३ प्रतिशतमा सीमित रह्यो।

अनि व्यापारमा चीनसँगको अमेरिकी परनिर्भरता पनि विगत दशकमा घटेको छ।

यद्यपि कतिपय विश्लेषकहरूले अमेरिकामा हुने चिनियाँ निर्यात दक्षिणपूर्वी एशियाली देशहरूबाट हुन थालेको औँल्याएका छन्।

उदाहरणका लागि, सन् २०१८ मा ट्रम्प प्रशासनले चीनबाट आयात हुने सौर्य ऊर्जाका प्यानलहरूमा ३० प्रतिशत कर लगायो।

तर अमेरिकी कर छल्न चिनियाँ सौर्य प्यानल निर्माता कम्पनीहरू मलेशिया, थाईल्यान्ड, क्याम्बोडिया र भियतनाममा आफ्ना जडान कारखाना स्थानान्तरण गरेका र त्यहाँबाट तयारी सामान अमेरिका पठाएको प्रमाण अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२३ मा पेस गर्‍यो।

अहिले ती देशहरूमा पनि बराबर कर लगाइएका कारण अन्ततः चीनमा उत्पादन हुने व्यापक सामानहरूको मूल्य अमेरिकामा महँगो पर्न सक्छ।

अमेरिका र चीनले एकअर्काबाट के आयात गर्छन्?

सन् २०२४ मा अमेरिकाबाट चीन निर्यात भएको सबैभन्दा ठूलो परिमाण भटमास थियो। विशेष गरी आफ्नो देशमा पालिएका अनुमानित ४४ करोड बङ्गुरलाई खुवाउन चीनले अमेरिकाबाट भटमास आयात गर्छ।

अमेरिकाले औषधि र पेट्रोलियम पदार्थ पनि चीनमा निर्यात गरेको छ।

अर्कोतर्फ चीनबाट अमेरिका निर्यात हुनेमा सामग्रीमा सबैभन्दा ठूलो परिमाण विद्युतीय उपकरण, कम्प्युटर र खेलौनाहरू छन्। विद्युतीय सवारीसाधनका लागि अत्यावश्यक ब्याटरीहरू पनि ठूलो मात्रामा चीनबाट अमेरिका निर्यात भएका छन्।

अमेरिकाले चीनबाट सबैभन्दा ठूलो परिमाणमा आयात गर्ने सामान स्मार्टफोन हो। यसले कुल आयातको ९ प्रतिशत भाग ओगटेको छ। अमेरिकी बहुराष्ट्रिय कम्पनी एपलका ठूलो मात्रामा स्मार्टफोनहरू चीनमा तयार हुन्छन्।

अमेरिकाले चिनियाँ आयातमा लगाएको करको असर एपलको शेअरमा देखिएको छ। एक महिनामा यो कम्पनीको शेअर मूल्यमा २० प्रतिशतले गिरावट आएको छ।

ट्रम्प प्रशासनले बेइजिङका लागि लगाएको २० प्रतिशतका कारण चीनबाट अमेरिकामा आयात हुने यी सबै सामानहरू अमेरिकामा महँगो पर्ने निश्चित देखिएको छ।

यदि ट्रम्पले साँच्चिकै १०० प्रतिशतभन्दा बढी कर लगाए भने त्यसको असर पाँचगुना बढी हुन सक्छ।

अनि अमेरिकी करको बदलामा चीनले लगाएको करले पनि त्यसै गरी चिनियाँ उपभोक्ताहरू महँगीमा पर्छन्।

तर करबाहेक पनि दुई देशको व्यापारमा असर गर्ने तत्त्वहरू छन्।

दुर्लभ खनिज र चिप्सको व्यापार के होला?

तामा, लिथिअम र 'रेअर अर्थ' धातुजस्ता उद्योगहरूका लागि चाहिने महत्त्वपूर्ण पदार्थको प्रशोधनमा चीनको केन्द्रीय भूमिका छ। यस्ता धातुहरू अमेरिका जाने बाटोमा चीनले विभिन्न अवरोध सिर्जना गर्न सक्छ।

सेनाले थर्मल इमेजिङ र रेडारमा प्रयोग गर्ने जर्मेनिअम र ग्यालिअम दुई धातुमा चीनले यो कदम चालिसकेको छ।

अर्कोतर्फ अमेरिकाले चीनमाथि आर्टिफिशल इन्टेलिजन्सजस्ता प्रविधिका लागि अत्यावश्यक अत्याधुनिक माइक्रोचिप्सहरूमा 'प्राविधिक नाकाबन्दी' लगाउन सक्छ।

यस्ता उपकरण चीनले हालसम्म आफैँ उत्पादन गर्न सकेको छैन। यसअघि जो बाइडन प्रशासनले पनि चीनलाई माइक्रोचिप आयात कठिन बनाएका थिए।

ट्रम्पका सल्लाहकार पीटर नभारोले क्याम्बोडिया, मेक्सिको र भियतनामजस्ता देशहरूलाई अमेरिकाले आफ्नो देशमा निर्यात जारी राख्नका लागि चीनसँग व्यापार गर्न नहुने सर्त राखेर दबाव दिने सङ्केत गरेका छन्।

अरू देशलाई यसले कसरी असर गर्छ?

अमेरिका र चीन दुवै देशले वैश्विक अर्थतन्त्रको ठूलो भाग ओगटेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार दुवै देशको जोड्दा त्यो विश्वको अर्थतन्त्रको ४३ प्रतिशत हुन्छ।

यदि दुवै देश पूर्ण स्तरको व्यापार युद्धमा होमिए भने त्यसले उनीहरूको आर्थिक वृद्धि सुस्त गर्छ र आर्थिक मन्दी निम्त्याउन पनि सक्छ। त्यसले अरू देशहरूको अर्थतन्त्रलाई पनि असर गर्नुका साथै विश्वकै आर्थिक वृद्धि सुस्त बनाउन सक्छ।

त्यसको असर विश्वस्तरका लगानीमा पर्न सक्छ। अनि अरू पनि सम्भावित परिणामहरू हुन सक्छन्।

चीन विश्वको सबैभन्दा ठूलो उत्पादक देश हो। यो देशले आफ्नो देशमा खपत हुनेभन्दा धेरै ठूलो परिमाणमा उत्पादन गरिरहेको छ।

यो देश अहिले नै कुल आयात गर्नेभन्दा एक खर्ब अमेरिकी डलर बढीको सामान निर्यात गरिरहेको छ। अनि यहाँ राज्यले निश्चित कम्पनीहरूलाई सस्तो ब्याज दरमा ऋण र आन्तरिक अनुदान पनि दिने गरेका कारण चीनमा उत्पादन हुने सामग्रीहरू तुलनात्मक सस्तो छन्।

यसको एउटा उदाहरण स्टील हो। यदि यस्ता उत्पादनहरू अमेरिका प्रवेश गर्न सफल भएनन् भने चिनियाँ कम्पनीहरूले तिनलाई अरू नै देशमा "थन्क्याउन" सक्छन्।

त्यो केही उपभोक्ताका लागि फाइदाजनक पनि हुन सक्छ। रोजगारी सङ्कटमा परेका र तलब कटौती भइरहेका देशहरूले यो सस्तोमा किन्न सक्छन्।

यूकेको लबी ग्रूपले स्टील अत्यधिक मात्रामा यूकेमा आउन सक्ने भन्दै सचेत गराएको छ।

चीन र अमेरिकाबीच हुने 'व्यापार युद्ध'का बाछिटा विश्वभरि नै महसुस हुन सक्छ। अधिकांश अर्थशास्त्रीहरूले विश्वभरि पर्ने असर नकारात्मक हुन सक्ने बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।