तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पछिल्तिरको ढोकाबाट अमेरिका प्रवेश गर्दैछन् चिनियाँ कम्पनीहरू
- Author, विल ग्रान्ट
- Role, बीबीसी मेक्सिको संवाददाता
मोन्टरेको 'म्यान वा फर्निचर कारखाना' मा बनिरहेका आरामदायी कुर्सी र छालाबाट बनेका लचकदार सोफाहरू शत प्रतिशत 'मेक्सिकोमा बनेका' हुन्।
यी सोफाहरू विक्रि हुने स्थान भनेका 'कस्ट को' र 'वालमार्ट' जस्ता अमेरिकाका ठूला सुपर मार्केटहरू हुन्। तर यो कम्पनी चिनियाँ हो र मेक्सिकोमा फर्निचर बनाउने कारखाना चिनियाँ पुँजीमा निर्माण भएको हो।
अमेरिका, चीन र मेक्सिको बीच व्यापारमा रहेको त्रिकोणात्मक सम्बन्धले मेक्सिकोमा चल्तीको भाषामा ‘निअरशोरिङ’ अर्थात् नजिकै उत्पादनको उपलब्धता भन्ने अर्थ दिने शब्दावली नै जन्माएको छ। त्यसलाई बस्तुको बजार नजिकै त्यसको उत्पादन गरेर आयात निर्यात कारोबारलाई सहज तुल्याउने अर्थमा व्याख्या गरिएको पाइन्छ।
अमेरिकाले चिनियाँ उत्पादनमा लगाउने महँगो आयात कर छल्न पछिल्ला वर्षहरूमा आफ्नो कारखानालाई मेक्सिकोमा स्थानान्तरण गर्ने 'म्यान वा' पनि एउटा कम्पनी हो। मेक्सिकोमा कारखाना राख्दा चिनियाँ कम्पनीहरूले उत्पादन अमेरिका ढुवानी गर्न लाग्ने खर्च पनि कम हुने गरेको छ। अमेरिका र चीनबीच बढ्दो व्यापार द्वन्द्वबीच पूर्णतया मेक्सिकोमा उत्पादन भएका सामग्रीमा लाग्ने कर पनि कम पर्नजान्छ।
कम्पनीका महाप्रबन्धक यु केन वेईले मलाई निकै फराकिलो कारखाना देखाउँदै मेक्सिकोमा त्यो स्थापना गर्नुका पछाडि आर्थिक र व्यवस्थापकीय कारण रहेको बताए।
“हामी यहाँ उत्पादन तेब्बर वा चौबर बनाउने योजनामा छौँ,” राम्रो स्पेनी भाषा बोल्ने उनले भने। “हाम्रो उद्देश्य यहाँ मेक्सिकोमा पनि भियतनामकै स्तरमा उत्पादन गर्नु हो।”
सन् २०२२ मा मात्रै मोन्टरेमा स्थानान्तरण भएको यो कम्पनीले अहिले नै ४५० जना कर्मचारी राखेको छ। यु केन वेई कर्मचारीहरूको सङ्ख्या बढाएर १२०० पुर्याउने योजना सुनाउँछन्। आगामी वर्षहरूमा उनले कारखानामा काम गर्ने कैयौँ नयाँ ठाउँहरू थप गर्ने योजना सुनाए।
"यहाँ मेक्सिकोका मानिसहरू निकै मेहनती र छिटो काम सिक्ने क्षमताका छन्," यु भन्छन्। "हामीसँग राम्रा अपरेटरहरू छन् र उनीहरूबाट भएको उत्पादन उच्च छ। कामदारको हकमा पनि मेक्सिको आउनु राम्रो रणनीति भयो।"
मेक्सिकोको अर्थतन्त्रमा टेवा
चिनियाँ कम्पनीहरूले मेक्सिकोमा उत्पादन थालेसँगै यो देशको अर्थतन्त्रमा पनि राम्रो टेवा पुगेको छ। गत वर्षको जुनसम्म ५२ अर्ब डलरको निर्यात गरेको मेक्सिकोको निर्यात यो वर्ष ५.८ प्रतिशतले बढेको छ।
तर यो प्रवृत्तिमा बिस्तारै कमी आउने सङ्केत देखिएका छन्। यो वर्षको दुई महिनामा मात्रै सन् २०२० मा भएको कुल लगानीको आधा पुँजी बराबरको लगानीका घोषणा भएका छन्।
म्यान वा सोफा कारखाना चिनियाँ-मेक्सिकन औद्योगिक पार्क भित्र छ। यो पार्कभित्र ठाउँको माग निकै उच्च छ र अहिलेसम्म उपलब्ध भएका ठाउँ जति सबै बिक्री भइसकेका छन्।
अझ रोचक के छ भने मेक्सिको इन्ड्रस्ट्रिअल पार्क असोसिएशनले सन् २०२७ सम्म बनिसक्ने थप ठाउँहरू पनि अहिले नै बिक्री भइसकेको जनाएको छ। कैयौँ मेक्सिकन अर्थशास्त्रीहरूले यो देशमा चिनियाँ रुचिमा कमी आउने कुनै सङ्केत नदेखिएको बताएका छन्।
"मेक्सिकोमा पुँजी आउनु पछाडि संरचनात्मक कारण छ," मेक्सिकोका बाह्य व्यापारमामिलाका पूर्व उपमन्त्री हुआन कार्लोस बेकर पिनेदा भन्छन्। "चीन र अमेरिकाबीचको व्यापार युद्ध छिट्टै अन्त्य होला जस्तो मलाई लाग्दैन।"
बेकर पिनेदा अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा वार्ता समितिमा पनि थिए।
"मेक्सिकोमा आइरहेको चिनियाँ पुँजी कतिपय देशको नीतिका लागि असहज लाग्नसक्छ," उनी भन्छन्। "तर अन्तर्राष्ट्रिय व्यापार कानुन अनुसार ती उत्पादनहरू पूर्णतया मेक्सिकन नै मानिन्छन्।"
यसले मेक्सिकोलाई दुईवटा शक्तिराष्ट्रबीच खेल्ने ठाउँ दिएको छ। मेक्सिकोले हालै मात्र चीनलाई विस्थापित गर्दै आफू अमेरिकाको प्रमुख व्यापार साझेदार बनेको छ। यसलाई एउटा रणनीतिक परिवर्तनको रूपमा समेत हेरिएको छ।
अमेरिकी कम्पनी पनि मेक्सिकोमा
अमेरिकासँग मेक्सिकोको व्यापार बढ्नुको अर्को कारण अमेरिकी कम्पनीहरू पनि हुन्। अहिले अमेरिकी कम्पनीहरूले पनि ढुवानी लागत कम गर्न एशियाका अन्य ठाउँमा रहेका आफ्ना कारखानाहरू मेक्सिकोमा सारिरहेका छन्।
यसको एउटा कारण इलोन मस्कको गत वर्षको एउटा घोषणा पनि थियो। उनले मोन्टरे बाहिरपट्टी टेस्लाको गिगाफ्याक्ट्री स्थापना गर्ने योजना अघि सारेका थिए। तर मस्कको विद्युतीय कार कम्पनीले १० अर्ब डलरको कारखानाको अझैसम्म शिलान्यास गर्न सकिरहेको छैन।
टेस्ला यहाँ कारखाना सुरु गर्ने योजनाबाट पछि हटिसकेको त छैन तर विश्व अर्थतन्त्रमा आएको मन्दी र यो कार उत्पादकमा हालै भएका रोजगारी कटौतीका कारण पनि टेस्लाले काम ढिलो गरिरहेको छ।
तर चिनियाँ लगानीको विषयमा कतिपयले अमेरिका र चीनबीचको व्यापक भूराजनीतिक सङ्घर्षलाई लिएर मेक्सिकोलाई सचेत रहन भनिरहेका छन्।
"यो सहरको सबैभन्दा पुरानो धनाढ्य अमेरिकालाई नयाँ धनाढ्य चीन सहरमा आउँदा समस्या हुनसक्छ," मेक्सिको स्थित न्याश्नल अटोनोमस विश्वविद्यालयमा चीन-मेक्सिको अध्ययन केन्द्रका एनरिके डुसेल भन्छन्।
"र मेक्सिकोका यसअघिका प्रशासनको होस् वा अहिलेको प्रशासनसँग यो त्रिपक्षीय सम्बन्धबारे कुनै रणनीति छैन।"
चुनावपछि के होला
मेक्सिको र अमेरिका दुवै देशहरूमा यो वर्ष निर्वाचन हुँदैछ र त्यसले यसमा नयाँ राजनीतिक सोच पनि जन्माउन सक्छ। तर ह्वाइट हाउसमा डोनल्ड ट्रम्प वा जो बाइडन जो आए पनि चीनसँगको सम्बन्ध सुधार हुने विश्वास धेरै कमले गर्ने गर्छन्।
डुसेल ‘निअरसोरिङ’ लाई ‘सेक्युरिटी सोरिङ’ अर्थात् सुरक्षा चासोलाई नजिक ल्याउने अर्थमा पनि हेरिनुपर्ने बताउँछन्। उनी वासिङ्गनले चीनसँगको सम्बन्धमा सबैभन्दा अगाडि सुरक्षाको विषय उठाउने गरेको बताउँछन्। उनी यसको कोपभाजनमा पर्ने जोखिमबारे मेक्सिकोले चिन्ता लिनुपर्ने समय आएको बताउँछन्।
यी सबै चिन्तामाझ डुसेल भन्छन्, “मेक्सिकोले चीनसमक्ष मेक्सिकोमा स्वागत छ भन्ने ठूलो सङ्केत राखेको छ। यसले अमेरिका र मेक्सिकोबीचको सम्बन्ध राम्रो नबनाउने बुझ्न कुनै पनि विद्यावारिधि गरिरहन आवश्यक पर्दैन।”
तर अरू कतिपय मानिसहरू भने धेरै आशावादी छन्।
“मलाई के लाग्छ भने यो प्रवृत्तिले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने प्रश्न नै होइन। के चाहिँ हो भने यो प्रवृत्ति कति हदसम्म फाइदाजनक हुनसक्छ भन्ने हो,” मेक्सिकोका पूर्व व्यापार अधिकारी हुआन कार्लोस बेकर पिनेदा भन्छन्।
"म विश्वस्त छु की मानिसहरूले यही कुरा कोलम्बियामा पनि गरिरहेका छन्, भियतनाममा पनि छन् र कोस्टारिकामा पनि। हामीले मेक्सिकोमा के पक्का गर्नुपर्छ भने यो प्रवृत्तिले लामो समयसम्म निरन्तरता पाउन सरकार र व्यावसायिक क्षेत्रको निर्णय अनुसार सञ्चालन हुनुपर्छ।"
उता मोन्टरेमा म्यान वा फर्निचरमा सबैभन्दा सिपालु सूचिकारले ढुवानी गरेर निर्यातका लागि उत्तरी सिमापारी पठाउनुअघि सोफाहरूलाई अन्तिम रूप दिँदैछिन्।
अमेरिकी परिवारले आफू नजिकको वालमार्टमा यहाँ बनेका सोफा किन्दा त्यसपछाडिको भूराजनीतिबारे खासै थाहा पाउँदैनन्।
तर ‘निअरसोरिङ’ अमेरिका पस्न चलाखिपूर्ण तरिकाले बनाइएको पछिल्तिरको ढोका बन्न पुगेको होस् वा यो दुई महाशक्तिबीचको महँगो युद्धको भाग बनेको होस्, विश्व व्यापारमा देखिएको अमैत्रीपूर्ण समयमा यसको सबैभन्दा धेरै फाइदा भने मेक्सिकोले लिनसक्ने देखिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।