कोरोना भाइरस नेपाल: थप ५७ व्यक्तिमा सङ्क्रमण

विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप ५७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

जेठको पूर्वार्धपछि पहिलो पटक यति न्यून सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। जेठ १२ मा ७७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,५०२ पुगेको छ।

तीमध्ये ११,६३७ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा १०३ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,८२५ मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

शुक्रवार १०१ जनामा थप सङ्क्रमण पुष्टि भएको थियो। गत साता शुक्रवार ७० र शनिवार ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,३३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३,११,८२९ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २३,००० भन्दा केही बढी छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?