तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: 'प्रतिकूल अवस्थामा नेपाल भारत सीमाबाट समान ढुवानीबाहेक अन्य आवतजावत रोकिने'
छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल-भारत सीमामार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन्।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रवार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।
त्यसमध्ये नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा १८ भारतीय र एक विदेशी तथा उत्तराखण्ड र पश्चिम बङ्गालमा एक-एक जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।
कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै हाल आवातजावतका लागि नेपाल र भारतले चारवटा नाका खुला राख्ने निर्णय गरेका छन्।
अझ कडाइ
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले हाल स्वास्थ्य जाँच गरेर नेपाल र भारतका नागरिकहरूलाई तोकिएका नाकाहरूबाट आवतजावतको व्यवस्था मिलाइएको भए पनि परिस्थिति हेरेर त्यसबारे थप निर्णय गरिने बताए।
उनले भने, "अहिले ४ वटा प्रवेशबिन्दुहरू तोकिएको छ। अवस्था हेरेर त्यसलाई घटाउन सकिन्छ। परिस्थिति अझ बिग्रियो भने सबै आवतजावत नै नियन्त्रण गर्नुपर्ने हुन्छ।"
अहिले नै हामीले आवतजावत पूर्ण रूपमा नियन्त्रण गर्ने भनिसकेका छैनौँ। तर परिआउँदा उच्चस्तरीय समितिमार्फत् लकडाउनसम्मको निर्णय पनि गर्नुपर्ने हुन्छ।"
उनले 'लक डाउन' को अवस्थामा पनि भारतबाट सामानको ढुवानीका लागि भने खुल्ला नै राख्ने उल्लेख गरे।
कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै भारतको गृह मन्त्रालयले रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउने सूचना छ दिनअघि जारी गरेको थियो।
केन्द्रका अधिकारीहरूले अवस्थालाई नजिकबाट नियालिरहेको बताइरहँदा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश नजिकैको बेल्हिया नाकाबाट बिहीवार १३ हजार जनाभन्दा बढी नेपाल प्रवेश गरेको सीमामा खटिएका एक अधिकारीले बीबीसीलाई बताए।
बेल्हिया नाकामा स्वास्थ्य जाँचको व्यवस्थापन गरिरहेको सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापा भन्छिन्, "एकदमै भिडभाड हुने भएकाले हामीले नाम लेख्न सकिरहेका छैनौँ। तर सबैको जाँच गरिरहेका छौँ।"
"बिहीवार गोरखपुरबाट विवाहमा आउँदै गरेकी एक बालिकामा लक्षण जस्तो देखिएपछि हामीले उतै फिर्ता गरिदियौँ। भारततर्फ पनि प्रवेश गर्नेहरूलाई जाँच भइरहेको छ र हामी दुवै पक्षबीच राम्रो समन्वय रहेको छ।"
नेपाल र भारतबीच झण्डै १८ सय किलोमिटर लामो खुला सिमाना रहेको छ र दैनिक उपभोग्य सामग्रीदेखि अधिकांश उत्पादनमा नेपाल भारतसँग निर्भर रहने गरेको छ।
यसअघि बिहीवार भारतले आइतवारबाट लागु हुने गरी एक सातासम्मका लागि कुनै पनि अन्तर्राष्ट्रिय उडानहरूलाई आफ्नो देशका विमानस्थलमा अवतरण गर्न नदिने बताएको थियो।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
आपूर्ति सरकारको प्राथमिकतामा
यसअघि बीबीसीसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सामान ढुवानीका लागि चीनसँगको नाका खोल्न लागिएको र भारततर्फका नाकामा आवतजावतमा कडाइ गर्न लागिएको बताएका थिए।
कोरोनाभाइरसको सङ्क्रमण देखा परेसँगै उत्तरतर्फका नाकाहरूबाट हुने सबै प्रकारका आवतजावत र आर्थिक गतिविधि ठप्प भएका थिए।
उनले आवतजावत नियन्त्रणलाई कोरोनाभाइरसलाई नेपालमा प्रवेश हुन नदिने अर्थमा लिइनुपर्ने र त्यसबाट आपूर्तिमा असर नपर्ने उल्लेख गरेका थिए।
उनको भनाइ छ, "हामीले भारत र चीन दुवैतर्फका नाकाहरूबाट सामानहरू भित्र्याउने भनेका छौँ। कुन सामान कति दिनसम्म क्वारन्टीनमा राखेर बजार पठाउने भन्नेबारे पनि गृहकार्य भइरहेको छ।"