पाकिस्तानमा हिन्दू विवाह विधेयक

पाकिस्तानमा अल्पसंख्यक समुदायमा पर्ने हिन्दूहरुको विवाह सम्बन्धी विधेयक त्यहाँको संसदीय समितिले स्वीकृत गरेको छ।
दुई प्रतिशत भन्दा केही बढि जनसंख्या रहेको अल्पसंख्यक हिन्दू समुदायलाई विधेयकले संवैधानिक रुपमा अरु नागरिक सरह बनाउने त्यहाँका उर्दू मिडियाले लेखेका छन्।
पाकिस्तानमा हिन्दू म्यारिज रजिस्ट्रेशन अर्थात हिन्दू विवाह दर्ता विधेयकलाई संसदीय समितिको स्वीकृती मिलेकोमा पाकिस्तानी उर्दू मीडियाले स्वागत गरेको छ।

तस्बिर स्रोत, MADIHA AIJAZ
‘जंग’ पत्रिकाले त्यसलाई अल्पसंख्यक समुदायलाई अधिकार दिने दिशामा महत्वपूर्ण कदम भएको बताएको छ।
विवाह दर्ता
अखबारमा लेखिएको छ- अहिलेसम्म पाकिस्तानमा यस्तो कुनै कानून थिएन त्यसैले हिन्दू विवाहलाई कुनै कानूनी मान्यता थिएन।
यस्तो अवस्थामा हिन्दू युवतीहरुले जबर्जस्ती विवाह भोग्नुपरेको मात्र होइन, हिन्दू समुदायका लागि परिचयपत्र, भीसा, पासपोर्ट र सम्पत्ति हस्तान्तरणमा पनि निकै समस्या पर्ने गरेको थियो।

संसदीय समितिको निर्णयको स्वागत गर्दै जंग लेख्छ अब हरेक हिन्दू विवाह दर्ता गर्न जरुरी हुन्छ।
त्यसैगरी 'नवा-ए-वक़्त'ले विधेयकबारे लेखेको छ- हिन्दू युवक या युवतीको विवाह गर्ने उमेर १८ हुनुपर्नेछ, पण्डितले विवाह गराउनेछन् र त्यसै मौकामा सरकारी दर्तावाल पनि उपस्थित हुनेछन्।
सकारात्मक
अखबारले भनेको छ- १८ वर्ष उमेर तोकिएकाले बाल विवाह रोक्न सकिन्छ र पति या पत्नीमध्ये एकले धर्म परिवर्तन गरे विवाह समाप्त हुनेछ।
अखबार भन्छन्- हिन्दूहरुमा जर्बजस्ती धर्म परिवर्तनबारे जुन आशंकाहरु छन् त्यसलाई हटाउन विधेयक पारित गर्नु अघि हिन्दू सांसदहरुसँग पनि राय लिएर सकारात्मक कदम उठाउने हो भने उनीहरुको शंका निवारण हुनेछ।
त्यस्तै 'एक्सप्रेस' लेख्छ, प्रस्तावित कानून हिन्दू समुदायका लागि एक सकारात्मक सन्देश हो।
जसले पाकिस्तानको संविधान अनुसार समान अधिकार प्राप्त नागरिक भएको भन्ने स्थापित हुनेछ।
अखबार भन्छ- यो कानूनबाट हिन्दू युवतीहरुको जबर्जस्ती विवाहको समस्या अन्त्य गर्न मद्दत मिल्नेछ भने उनीहरुलाई विवाहको मामिलामा पूर्ण रुपमा संवैधानिक संरक्षण प्राप्त हुनेछ।








