गाजा-इजरेल संघर्ष 'रक्तपातपूर्ण'

आइतबारमात्रै एक सय जना भन्दा बढी प्यालिस्टिनीको ज्यान गएको ठानिएको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, आइतबारमात्रै एक सय जना भन्दा बढी प्यालिस्टिनीको ज्यान गएको ठानिएको छ

यसै महिनाको सुरुमा प्यालिस्टिनी बिद्रोहीहरु विरुद्ध सैनिक कार्वाही शुरु गरिए यताकै सबैभन्दा ठूलो मानवीय क्षति आइतबार गाजामा भएको छ।

इजेरेली सैनिक कार्वाहीमा एकै दिनमा ज्यान गुमाएका १०० भन्दा बढी प्यालेस्टिनीहरु मध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ।

शनिबार यताको लडाइँमा १३ जना सैनिकको ज्यान गएको छ जुन इजरेलले व्यहोरेको हालसम्मकै ठूलो क्षति हो।

सन् २००८-०९ मा उसले गाजामा ३ हप्ता सम्म चलाएको स्थल सैनिक कार्वाहीमा पनि इजरेलले यती ठूलो क्षती बोहोरेको थिएन्।

प्यालिस्टिनी उग्रवादी समूह हमासले आफूले एकजना इजरायली सैनिकलाई बन्धक बनाएको बताए पनि त्यसको पुष्टी भएको छैन्।

सैनिक बन्धकमा परेको खबर सार्वजनिक भएपछि खुसियालीमा बन्दुक पडकाएर गाजा सिटीमा नाराबाजी गरिएको थियो।

गोलाबारी

इजरेली गोलाबारीमा शेजैया इलाकामा ६० जना भन्दा मारिएका छन् र त्यहाँका धेरै घरहरु भग्नावशेषमा बदलिएका छन्।

उक्त लडाँइमा बाँच्न सफल एकजनाले भने, “मेरो बुवा मारिनुभएको छ र मेरो परिवारका कयौं सदस्य घाइते भएका छन्, मलाई उनीहरु कहाँ छन् र उनीहरुमध्ये को जीवित छन् भन्ने थाहा छैन्।”

दुई हप्ता यताको लडाईंमा गाजामा मारिनेहरुको संख्या ४ सय २५ पुगेको छ।

पछिल्लो भिडन्तहरुमा मारिने इजरेली सैनिकको संख्या १८ पुगेको छ।

गाजामा दुई हप्तादेखि भैरहेको लडाई रोकिने सङ्केत देखिएको छैन्

तस्बिर स्रोत, AFP GETTY

तस्बिरको क्याप्शन, गाजामा दुई हप्तादेखि भैरहेको लडाई रोकिने सङ्केत देखिएको छैन्

दक्षिण इजरेलमा रहेका बीबीसीका क्रिस मोरिस भन्छन्, "यति धैरै सैनिक एकैदिनमा मारिएको घटनाले इजरेली समाजलाई स्तब्ध बनाउने देखिन्छ।"

संकट

तर प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्षति भएपनि आवश्यक पर्दासम्म गाजामा सैनिक कार्वाही जारी राख्ने बताएका छन्।

प्यालिस्टिनी राष्ट्रपति महमुद अब्बासले शैजेया जिल्लामा भएको इजरेली कार्वाहीलाई नरसंहारको संज्ञा दिएका छन्।

गाजाको तनावपूर्ण अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक बस्दैछ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले गाजा सिटि भन्दा पूर्वी इलाकामा भएको सर्वसाधारणको हत्याको भत्सर्ना गर्दै इजरेललाई संयम अपनाउन आग्रह गरेका छन्।

उनले भने, “म सबै पक्षसँग मेरो माग फेरी दोहोर्याउन चाहन्छु की उनीहरुले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नैपर्छ, त्यहाँको हिंसा तत्कालै रोकिनुपर्छ।”

दुवै पक्षबीच तत्काल युद्धविराम गराउन पहल गर्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री जोन केरी सोमबार कायरो पुग्दैछन्।