खाना पकाउने ग्यास पाउन उपभोक्ताले किन पालो पर्खनु परिरहेको छ

तस्बिर स्रोत, Getty Images
काठमाण्डूको चुच्चेपाटीका ग्यास बिक्रेता विष्णु पौडेल समयमै खाना पकाउने ग्यास दिन नपाएका कारण पछिल्लो समय आफ्ना ग्राहकको गुनासो सामना गरिरहनुपरेको बताउँछन्।
उद्योगहरूबाटै मागे जति ग्यास नपाएका कारण आफूले विशेष गरी घरायसी ग्राहकहरूलाई पालो लगाएर खाना पकाउन प्रयोग गरिने एलपी ग्यास दिइरहेको उनले बताए।
"हामीले नै भने जति ग्यास नपाएका कारण दिन सकिरहेका छैनौँ। अभाव नै पनि होइन तर पालो पर्खनुपर्ने अवस्था छ," उनले भने।
नेपालमा एलपी ग्यासको आधिकारिक आयातकर्ता नेपाल आयल निगमले भने खाना पकाउने ग्यासको आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ।
उपभोक्ताले खाना पकाउने ग्यास किन समयमा पाइरहेका छैनन्?
नेपालमा जाडो महिनामा हिटर, गिजर लगायत न्यानो बनाउने तथा पानी तताउने उपकरणमा पनि एलपी ग्यास प्रयोग हुने गरेका कारण यसको माग बढ्ने उद्योगीहरू बताउँछन्।
जाडोमा तापक्रम कम हुने भएका कारण पकाउन पनि समय लाग्ने लगायतका कारण यसैपनि ग्यास बढी खपत हुने गरेको बिक्रेताहरू बताउँछन्।

एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले अहिले नेपालमा ग्यास नै कम आयात भएको दाबी गरे। काठमाण्डूमा ग्यास आपूर्ति गर्ने अधिकांश उद्योगहरूले ग्यास ढुवानी गर्ने बिहारको बरौनी रिफाइनरीबाट आपूर्ति प्रभावित भएको उनले बताए।
"एउटा त ग्यास ढुवानी गर्ने बुलेटहरूको अभाव छ। अर्को बरौनी रिफाइनरीबाट लोडिङ प्रभावित छ," घिमिरेले भने।
"उनीहरूकहाँ पनि ग्यासको आपूर्ति कम रहेछ। पहिले त आफ्नालाई दिने भयो त्यसपछि हामीलाई दिने हुँदा परिमाण पुगिरहेको छैन।"
वीरगन्जबाट छ घण्टाको दूरीमा रहेको भारतीय आयल कर्पोरेशनको उक्त रिफाइनरीबाट सम्बन्धित ग्यास कम्पनीहरूले आफैँ ग्यास ढुवानी गर्दै आएका छन्।
नेपाल आयल निगमले उपलब्ध गराउने प्रडक्ट डेलिभरी अर्डर 'पीडीओ' अर्थात् माग आदेश अनुसार आईओसीले ग्यास भर्दै आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।
"निगमले आईओसीसँग बुझ्दा लोडिङमा कुनै समस्या छैन। चुनावमा ग्यास खपत बढ्न सक्ने अनुमान छ, त्यसकारण हामीले १० प्रतिशतसम्म थप पीडीओ जारी गर्ने भनेका पनि छौँ," उनले भने।
नेपालमा ग्यासको माग कति छ

तस्बिर स्रोत, RSS
आयल निगमका अनुसार नेपालमा मासिक औसत ४५ हजार मेट्रिक टन ग्यासको माग छ।
जाडो महिनामा औसत ४८ हजार र सामान्य अवस्थामा ४५ हजार मेट्रिक टन एलपीजी ग्यासको माग रहने गरेको निगमको भनाइ छ। तर एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले जाडो महिनामा ५० देखि ५५ हजार मेट्रिक टनसम्म ग्यासको माग हुने गरेको बताए।
"अहिले ४० देखि ४२ मेट्रिक टन मात्रै आयात भइरहेका कारण हामीले बजारमा माग भए जति पठाउन सकिरहेका छैनौँ," करिब आधा दर्जन कम्पनीको ग्यास बजारमा पठाउने गरेका घिमिरेले दाबी गरे।
"यो विगत दुई तीन महिना देखि नै भइरहेको छ। यहाँसम्म त धान्यो अब बिस्तारै अभावतिर जाने अवस्था छ।"
तर आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले मङ्सिर महिनामा ४५ हजार र पुस महिनामा ४७ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको बताए। निगमका अनुसार माघ १० सम्म १६ हजार मेट्रिक टन आयात भएको छ।
"अहिले दैनिक १०० बुलेट एलपी ग्यास भारतमा लोड भइरहेको छ। माग जति नै ग्यास आयात भइरहेको छ कुनै अभाव छैन," ठाकुरले भने।
उद्योगहरूसँग छलफल

तस्बिर स्रोत, BBC/AshokDahal
नेपाल आयल निगमले ग्यास फिलिङ गर्ने उद्योगका प्रतिनिधिहरूसँग आइतवार छलफल गरेको थियो।
काठमाण्डूमा सबैभन्दा धेरै बजार रहेको नेपाल ग्यासले समयमा फिलिङ गर्न नसक्दा उक्त कम्पनीका उपभोक्ताहरू पालो पर्खनु पर्ने अवस्थामा रहेको आफूहरूको जानकारीमा आएको निगमका प्रवक्ताले बताए।
"उहाँहरूले हामी सहजीकरण गर्छौँ भनेर प्रतिबद्धता जनाएका छन्। 'कुनै क्षेत्रमा समयमा ग्यास पुग्न नसकेको' स्वीकार गर्दै 'हामी त्यसको समाधान गर्छौँ' भनेर कुरा राख्नुभएको छ," निगमका प्रवक्ता ठाकुरले भने।
ग्यास बिक्रेता महासङ्घका उपाध्यक्ष लालबहादुर केसीले जाडो महिनामा ढुवानीमा ढिलाइ र माग बढी हुने भएका कारण काठमाण्डू उपत्यका लगायतका क्षेत्रमा हरेक वर्षजस्तो माग अनुसार ग्यास नपुग्ने गरेको बताए।
"चिसोमा तराईमा हुस्सु लाग्ने भएका कारण ढुवानीका साधन पनि आज आउनु पर्नेमा भोली आइपुग्ने हुन्छ। अर्को चाहिँ चिसोमा माग पनि बढी हुन्छ," केसीले भने।
"तर काठमाण्डू बाहिरका जिल्लाहरूमा अहिले पनि अभाव छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








