दक्षिण कोरियाली सामानमा ट्रम्पद्वारा २५ प्रतिशत ट्यारिफ घोषणा

तस्बिर स्रोत, Getty Images
- Author, डिअरबेल जोर्डनान्ड र पिटर होस्किन्स
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष गरिएको व्यापार सम्झौताअनुसार "काम नगरेको" आरोप लगाउँदै दक्षिण कोरियाली आयातमाथिको ट्यारिफ अब २५ प्रतिशत पुर्याउन लागेको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ट्रम्पले अटोमोबाइल, काठ, औषधि उत्पादन र "अरू सबै पारस्परिक शुल्कको व्यवस्था भएका सामग्रीहरू" सहित दक्षिण कोरियाली वस्तुहरूमा यसअघिको १५ प्रतिशत शुल्कमा बृद्धि गरिने बताएका हुन्।
अमेरिकाले ट्यारिफहरू घटाउन "छिटो-छरितो" ढङ्गले काम गरेको भए पनि व्यापार सम्झौतालाई अनुमोदन गर्न दक्षिण कोरियाली सांसदहरूले ढिलासुस्ती गरेको ट्रम्पको आरोप छ।
आफ्ना कतिपय उत्पादनमाथि ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे औपचारिक जानकारी प्राप्त नभएको भन्दै दक्षिण कोरियाले त्यस विषयमा वाशिङ्गटनसँग तत्काल वार्ता चाहेको बताएको छ।
हाल क्यानडामा रहेका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ-क्वानले अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुट्निकसँग भेटवार्ताका लागि चाँडै वाशिङ्गटनको भ्रमण गर्ने बताएका छन्।
संसद्मा विचाराधीन
मङ्गलवार दक्षिण कोरियाली शेअर बजारमा गिरावट देखिएको छ, जहाँ कार निर्माता ह्युन्डाईको शेअर मूल्यमा २.५ प्रतिशत गिरावट देखिएको छ। औषधि उत्पादक तथा काष्ठ उद्योग सम्बन्धित कम्पनीहरूको पनि शेअर मूल्यमा गिरावट देखियो।
सोल र वाशिङ्गटनले गत अक्टोबरमा व्यापार सम्झौता गरेका थिए, त्यसमा दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने विषय पनि समेटिएको थियो।
त्यो लगानीको केही हिस्सा पानीजहाज निर्माण कार्यमा जाने द्विपक्षीय सहमति थियो।
दक्षिण कोरियाले उक्त सम्झौता अनुमोदन गर्ने प्रक्रिया अघि बढाएपछि अमेरिकाले सोलका केही उत्पादनहरूमा लागु ट्यारिफ घटाउने विषयमा दुई देशले अर्को महिना सहमति गरे।
उक्त सम्झौतालाई गत नोभेम्बरको २६ तारिखमा दक्षिण कोरियाको संसद्को न्याश्नल एसेम्ब्लीमा पठाइएकोमा हाल त्यो विचाराधीन रहेको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कोरियाली संसद्ले फेब्रुअरीमा त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
क्यानडाद्वारा स्पष्टोक्ति
राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले विदेश नीति लागु गराउन प्रायः ट्यारिफलाई प्रयोग गर्न थालेका छन्।
शनिवार उनले चीनसँग क्यानडाले सम्झौता गरेमा क्यानेडिअन सामानमा १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।
सोमवार चिनियाँ अधिकारीहरूले क्यानडासँगको रणनीतिक सम्झौता अरू देशलाई कमजोर पार्ने उद्देश्यले नहुने बताएका थिए।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले चीनसँग 'फ्री ट्रेड डील' गर्न नचाहेको र त्यसबारे कहिल्यै नसोचेको पनि बताएका छन्।
अमेरिकी अधिकारीहरूसँग क्यानडाका अधिकारीहरूले आफ्ना अडान स्पष्ट पारिसकेको पनि उनले बताए।
त्यसअघि ट्रम्पले आठवटा देशका आयातमाथि शुल्क लगाउने बताएका थिए। ग्रीनल्यान्डमाथि कब्जा गर्ने आफ्नो योजनाको विरोध गर्ने यूकेसहितका देशमाथि त्यस्तो शुल्क लगाउने उनले धम्की दिएका थिए।
डेनमार्कको उक्त स्वायत्त भूभागमाथि कब्जा गर्ने ट्रम्पको योजनाको विपक्षमा ती देशहरू देखिएक थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








