कोभिड चीन: कोरोनाभाइरसको पछिल्लो लहर चीनले कसरी नियन्त्रण गर्ने प्रयास गर्दैछ

प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पारिएसँगै चीनका अस्पतालहरू कोभिडका बिरामीले भरिँदै गएका विवरण आएका छन्।

तुलनात्मक रूपमा हालसम्म कम मानिसहरूलाई खोप उपलब्ध गराइएकोमा अब खोप कार्यक्रमलाई तीव्र पारिने चीन सरकारले जनाएको छ।

चीनमा नयाँ कोभिड नियमहरू के हुन?

व्यापक रूपमा विवादास्पद बनेको ''शून्य कोभिड'' नीतिको व्यापक विरोध भएसँगै चीनले कोभिडको प्रकोप देखिएका सहर अनि ग्रामीण क्षेत्रमा सामूहिक परीक्षण गर्न छोडेको छ।

कोभिडको मन्द लक्षण भएका मानिसहरू अब क्वारन्टीनका लागि बनाइएका केन्द्रहरूमा नगएर घरमै बस्न पाउने व्यवस्था गरिएको छ।

आधिकारिक रूपमा चीनले कोभिड सङ्क्रमित र मृतकको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको विवरण सार्वजनिक गर्ने गरेको छ।

'मास टेस्टिङ' अर्थात् ठूलो सङ्ख्यामा समुदायमा हुने परीक्षण गर्न छोडेसँगै चिनियाँ निकायहरूसँग कोभिड सङ्क्रमणबारे भरपर्दो तथ्याङ्क उपलब्ध छैन।

यद्यपि अस्पतालहरू कोभिडका बिरामीले भरिएको विवरणहरू सार्वजनिक भइरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले गम्भिर बिरामी र अस्पतालमा भर्ना भएकाहरूको सङ्ख्याबारे स्पष्ट तथ्याङ्क उपलब्ध गराउन चीनलाई भनेको छ।

चीनमा खोप कार्यक्रमको अवस्था कस्तो छ?

नोभेम्बर महिनाको आधिकारिक तथ्याङ्क हेर्दा चीनमा ८० वर्ष माथिका ४० प्रतिशत मानिसले कोभिडविरुद्ध खोपका दुई मात्रा अनि बुस्टर मात्रा लगाएका छन्।

यो उमेर समूहका मानिसहरू कोभिडको सबैभन्दा बढी जोखिममा छन्।

विगतको अवस्था हेर्दा चीनको खोप दरमा उल्लेख्य सुधार देखिएको छ।

यसै वर्षको एप्रिल महिनासम्म ७० देखि ७९ वर्षका ५० प्रतिशत मानिसहरूले खोपको दुई मात्रा र बुस्टर मात्रा लगाएका थिए भने ८० वर्ष माथिका २० प्रतिशतले खोपको उक्त मात्रा प्राप्त गरेका थिए।

आगामी ज्यानुअरी महिनाको अन्त्य सम्ममा ८० वर्ष माथिका ९० प्रतिशत वृद्धहरूलाई खोपका दुई मात्रा वा ती दुई मात्रा सहित बुस्टर मात्रा लगाउने लक्ष्य चीनले लिएको बताइएको छ।

तर कोभिड सङ्क्रमण फैलन रोक्न खोप कार्यक्रम मात्रै पर्याप्त नहुने सम्भावना छ।

विज्ञहरूका अनुसार चिनियाँ जनसङ्ख्या लामो समय लकडाउनमा रहेकाले धेरैमा ''हाइब्रिड प्रतिरोध क्षमता'' विकाश भएको छैन।

चीनमा निकै कम वृद्ध वृद्धाले खोप लगाउनुको कारण के हो?

सन् २०२०को अन्त्यतिर खोप कार्यक्रम सुरु गर्दै गर्दा चीनले काम गर्ने उमेर समूहका मानिसहरूलाई प्राथमिकतामा राखेको थियो।

उसले धेरै वृद्ध वृद्धामा खोप परीक्षण गरेन र खोपबाट उनीहरू सुरक्षित रहे / नरहेको बारे आफूहरू स्पष्ट नरहेको बताएको थियो।

चीनको कोभिड विशेषज्ञ प्यानलका प्रमुख प्राध्यापक लियाङ वानीयनका अनुसार त्यसले केही मानिसहरूलाई खोप लगाउन अनिच्छुक बनायो।

''धेरै वृद्ध वृद्धामा दीर्घ रोग र अन्य समस्याहरू छन्,'' उनले भने। ''उनीहरू खोप लगाउन सुरक्षित नरहेको ठान्छन्।''

के चीनले विकाश गरेको खोप प्रभावकारी छ?

चीनले आन्तरिक रूपमा विकाश गरेको सिनोभ्याक कम्पनीको कोरोनाभ्याक र सिनोफार्मले उत्पादन गरेको खोप मात्रै प्रयोग गरेको छ।

दुवै खोपले कोरोनाभाइरसका अंशलाई निष्क्रिय बनाएर प्रयोग गरेका छन्। कोभिडको निष्क्रिय अंश पुगेपछि शरीरको प्रतिरक्षा प्रणालीले 'एन्टिबडी' उत्पादन गर्छ।

एक अमेरिकी अध्ययनका अनुसार चीनमा बढी मात्रामा प्रयोग गरिएको सिनोभ्याक खोप कोभिडविरुद्ध ६६ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ भने मृत्युबाट जोगाउने कुरामा यो खोप ८६.३ प्रतिशत प्रभावकारी छ।

पश्चिमा राष्ट्रहरूमा व्यापक रूपमा प्रयोग गरिएको फाइजर र मोडेर्नाले उत्पादन गरेको एमआरएनए खोपको तुलनामा सिनोभ्याक र सिनोफार्म कम प्रभावकारी छन्।

यी खोपले भाइरसको 'स्पाइक प्रोटिन'मा आक्रमण गर्न प्रतिरक्षा प्रणालीलाई सहयोग गर्छ।

र यसले गम्भीर बिरामी अनि मृत्युको सवालमा ९० प्रतिशत सुरक्षा प्रदान गर्छ।

चिनियाँ खोप कुन कुन देशमा प्रयोग भएको छ?

महामारी सुरु भएयता ६४ देशले सिनोफार्म अनि ३४ देशले सिनोभ्याक खोप प्रयोगमा ल्याएका छन्।

यी खोप खास गरी इन्डोनेशिया, थाइल्याण्ड, मलेशिया, भियतनाम अनि फिलिपिन्सले बढी मात्रामा प्रयोगमा ल्याएका छन्।

चीनले विकाश गरेको खोप दुई देखि आठ डिग्री सेल्सिअस तापमानमा भण्डारण गर्न सकिन्छ।

मोडेर्नाले उत्पादन गरेको खोप माइनस २० डिग्री र फाइजरले उत्पादन गरेको खोप माइनस ७० डिग्री तापमानमा भण्डारण गर्नुपर्ने हुन्छ।

कम तापमानमा खोप भण्डारण गर्ने पूर्वाधार नभएका कारण पनि कैयौँ विकासोन्मुख राष्ट्रहरूले चीनले विकाश गरेको खोप प्रयोगमा ल्याएका छन्।

पश्चिमा राष्ट्रले विकाश गरेको खोप चीनले किन प्रयोग गरेको छैन?

विश्वभर वितरण भएका कोभिड विरुद्धका खोपको आधा सङ्ख्या आफूले उत्पादन गरेको चीनले दाबी गरेको छ।

चिनियाँ सरकारले पश्चिमा एमआरएनए खोप आन्तरिक प्रयोगका लागि स्वीकृत गरेको छैन।

जर्मनीले चीनमा फाइजर खोपका मात्रा पठाएको छ तर ती खोप चीनमा बस्ने विदेशीहरूलाई मात्रै उपलब्ध गराइएको छ।

चीनले आफै एमआरएनए खोप विकाश गरिरहेको विश्वास गरिएको छ तर उसले त्यो खोप कहिलेबाट उपलब्ध हुनसक्छ भन्ने कुरा बताएको छैन।

चीनले अमेरिकी कम्पनी मोडेर्नालाई उसले विकाश गरेको प्रविधि दिन आग्रह गरेको तर उक्त कम्पनीले भने अस्वीकार गरेको बताइएको छ।