तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'वेल्थी' नाम गरेका बालक जसको तौल हुनुपर्ने भन्दा आधा छ
साना बालक ह्याफटम झन्डै पाँच वर्षका भए।
टिग्रेको भाषाका अनुसार उनको नामको अर्थ ''वेल्थी'' अर्थात् सम्पन्न हो। तर उनको तौल उमेर अनुसार हुनुपर्ने भन्दा आधा छ।
चिकित्सकले ती बालकको लुगा तानेर पाखुरा र खुट्टा देखाउँदा उनकी आमाको अनुहारमा कुनै भाव देखिँदैन।
उनी आफ्नो नाम दिन चाहन्नन्।
यो उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा दुई वर्षको गृहयुद्धपछि देखिएको भोक अनि कुपोषणको वास्तविकता हो।
शान्ति सम्झौतासँगै यो क्षेत्रमा युद्ध त रोकिएको छ तर द्वन्द्वको प्रभाव भने बाँकी नै छ।
गत अगस्टमा संयुक्त राष्ट्रसङ्घले टिग्रेमा पाँच वर्ष मुनिका प्रत्येक तीन जना बालबालिका मध्ये एक कुपोषणको चपेटामा परेको अनुमान गरेको थियो।
टिग्रेका फौज अनि सङ्घीय सरकारको मातहतमा रहेका सेनाबीच युद्ध हुँदा सङ्घीय निकायले देशको उत्तरी भेगमा राहतका सामग्री पुर्याउनमा आंशिक वा कडा प्रतिबन्ध लगाएको थियो जसका कारण उक्त क्षेत्रमा व्यापक प्रभाव पर्ने गरी नाकाबन्दीको अवस्था सृजना भयो।
'रित्तो हात'
झन्डै दुई वर्षकी मक्डालाई आमा हिवटले बोकेकी छन्।
उनको पेट बेस्सरी सुन्निएको छ र उनमा स्फूर्ति पनि छैन।
''खानाको जोहो गर्न निकै गाह्रो भएको छ,'' हिवट भन्छिन्। ''दिनको एक छाक टार्न पनि धौ धौ परेको छ।''
अस्पताल पुगेपछि मक्डाको अवस्था झन् खराब भएको छ।
"मेरी छोरी यो अवस्थामा छन् किनभने हामीलाई कुनै औषधि नभएको भनिएको छ। हामीले केही पनि पाउन सकेका छैनौ," हिवट भन्छिन्।
''यही समस्या लिएर गत वर्ष पनि हामी यहाँ आएका थियौँ। तर मैले केही पनि पाउन सकिनँ र रित्तो हात घर फर्किएँ।''
ह्याफटम र मक्डाका परिवार टिग्रे क्षेत्रको राजधानी मकेलेमा उपचारका लागि पुगेका छन्।
बीबीसीले उनीहरूसँग गत महिना कुराकानी गरेको हो।
अगस्ट महिनायता सङ्घीय सरकारले धेरै क्षेत्रमा पकड कायम गरेपछि टिग्रेका अधिकारीहरू युद्ध विरामका लागि तयार भएका हुन्।
गत महिनाको सुरुवाततिर भएको शान्ति सम्झौताका सर्तहरूमा राजधानी अदिस अबाबाका निकायहरूले उक्त क्षेत्रमा सहायता बढाउने जनाएका छन्।
'एकै दिनमा रित्तियो'
डाक्टर किब्रोम गेब्रेसेलासी विगत १५ वर्ष देखि आएडर रेफेर्राक अस्पतालमा शल्य चिकित्सकका रूपमा कार्यरत छन्।
यो ७० लाख जनसङ्ख्या रहेको उक्त क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो।
"साना केटाकेटी र तिनका आमाहरूले हरेक दिन दुख पाएको र रोएको देख्नु निकै दर्दनाक हुन्छ," किब्रोम भन्छन्।
''हाम्रो अस्पतालमा कैयौँ बालबालिकाको मृत्यु भएको छ किनभने कुपोषण भएपछि उनीहरूलाई उपलब्ध गराउनुपर्ने कुरा खाना मात्रै होइन। उनीहरूलाई उपचार, एन्टिबायोटिक, मिनिरल दिनुपर्ने हुन्छ ... जुन हामीसँग छैन।''
आवश्यक सामग्री मध्ये केही त्यहाँ पुर्याइराखिएको देखिए पनि समयमै पुग्न सकेको छैन।
किब्रोमका अनुसार सहायताको सुरुवाती चरणमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)ले दुई ट्रक चिकित्सकीय सामग्री मकेलेमा पठाएको थियो।
''हामीले प्राप्त गरेको औषधि बिरामीको आधा सङ्ख्याको लागि मात्रै पर्याप्त थियो र त्यो एक दिनमै सकियो,'' गहिरो गरी सास फेर्दै उनले भने।
सहायता अस्पतालसम्म नपुग्दा थप बिरामीहरूको मृत्यु भइरहेको छ।
''क्यान्सरका बिरामीहरूको अवस्था छन् दुखद छ। टिग्रे क्षेत्रभरि नै केमोथेरापी सुविधा उपलब्ध छैन,'' उनले थपे।
''उनीहरूमा क्यान्सरको चरण प्रत्येक दिन, हप्ता अनि महिना बिग्रँदै गएको छ। उपचार हुनसक्ने अवस्था अब उपचार हुन नसक्नेमा परिणत हुँदैछ। अत्यधिक बिरामी भएकाहरूका लागि प्रत्येक दिन, प्रत्येक घण्टा महत्त्वपूर्ण हुन्छ।''
सहायताका प्रयास
मानवीय मामिलासम्बन्धी राष्ट्रसंघीय कार्यालयका अनुसार मध्य नोभेम्बर देखि डिसेम्बर महिनाको पहिलो साता सम्ममा इथियोपिया सरकार र सहायता उपलब्ध गराउने निकायहरूले खाद्यान्न, आवास अनि चिकित्सकीय सामग्री बोकेका १,६०० ट्रक पठाउन सफल भएका छन्।
आइसीआरसीका अनुसार उसले मध्ये नोभेम्बरयता मकेलेमा कम्तीमा ३८ वटा ट्रक पठाएको छ र थप सहायता उपलब्ध गराउने क्रममा छ।
''मानवीय सहायता उपलब्ध गराउने सबै निकायहरूले प्रयास गरिरहेका छन् तर त्यो त्यहाँको आवश्यकतासँग तुलना गर्दा पर्याप्त छैन,'' आइसीआरसी इथियोपियाका प्रवक्ता जुड फुन्वीले भने।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले प्रत्येक ६ हप्तामा टिग्रे क्षेत्रका २१ लाख मानिसहरूलाई आपत्कालीन खाद्य सहायता उपलब्ध गराउने लक्ष्य लिएको र उक्त कार्य अघि बढिरहेको जनाएको छ।
''शान्ति सम्झौता पछि धेरै कुरामा सुधार भएको छ,'' विश्व खाद्य कार्यक्रमकी प्रतिनिधि तथा इथियोपियाकी कन्ट्री डाइरेक्टर क्लाउडी जीबीडारको भनाइ छ।
"दुई वर्षको द्वन्द्व पछि रातारात सामान्य अवस्थामा फर्किने आशा हामी गर्दैनौँ।"
मकेले टिग्रे सरकारको नियन्त्रणमा रहे पनि उत्तर तर्फको क्षेत्र सङ्घीय सरकारको फौजको पकडमा छ।
आएडर अस्पतालकै अर्को विभागमा उपचार गराइरहेका एक जना सेवा निवृत्त शिक्षक फिकाडु जेम्बर मधुमेह रोगको उपचारका लागि आफूले पछिल्लो तीन महिनादेखि औषधि नपाएको दुखेसो गर्छन्।
"हामी यहाँ उपचारका लागि आउँदा धेरैजसो उपकरण चल्दैनन्। हामीले जताततै प्रयास गरिरहेका छौँ तर नाकाबन्दीका कारण केही हुन सकेको छैन," उनी भन्छन्।
''यस्तो अवस्थाका कारण धेरैले ज्यान गुमाइरहेका छन्। शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै औषधि पाउने आशा हामीले गरेका थियौँ। तर केही पनि आइपुगेको छैन।''
चिकित्सकहरूसँग आधारभूत सामग्रीहरू समेत उपलब्ध छैन।
''शल्यक्रियाका लागि हामीसँग पन्जा समेत छैन। एउटै पन्जा धोएर तीनपटक सम्म प्रयोग गर्नु परेको छ,'' डाक्टर किब्रोमले भने।
पुन: विद्युत् आपूर्ति
आएडर अस्पतालकै अर्का एकजना चिकित्सकले नाम नखुलाउने सर्तमा निकै कम मात्रामा चिकित्सा सामग्रीहरू प्राप्त गरिरहेको बताए।
"अस्पताल घाइते सैनिक र बिरामी सर्वसाधारणहरूले भरिएको छ," ती चिकित्सकले भने। "धेरैजसोले उपचार पाएका छैनन्।"
उनीहरूका अनुसार सङ्घीय निकायहरूले गरेको एक मात्र सकारात्मक काम मकेलेमा विद्युत् आपूर्ति पुनः सुरु हुनु हो।
अस्पतालले एचआइभी उपचारका लागि आवश्यक पर्ने औषधि र परीक्षण गर्ने कीट प्राप्त भएको हालसालै ट्विट गरेको छ।
तर टिग्रेको अवस्थाका कारण विपन्न वर्गले सबैभन्दा धेरै मूल्य चुकाएका छन्।
''म उसका लागि राम्रो भविष्य चाहन्छु,'' मक्डाकी आमा हिवटले भनिन्। ''मैले सोच्न सक्ने यत्ति नै हो।''