तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएपछि सरकारमा सामेल हुनेबारे सीके राउत के भन्छन्?
देश विखण्डनको मुद्दा छाडेर पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएपछि उक्त दलका अध्यक्षले "आफूहरू प्रतिपक्षमा बस्ने वा सरकारमा जानेबारे" खुला रहेको बताएका छन्।
बीबीसी न्यूज नेपालीसँग मङ्गलवार साँझ कुराकानी गर्दै उक्त दलका अध्यक्ष सीके राउतले भने, "हामी तीन वटा विकल्पका लागि खुला छौँ। पहिलो- प्रतिपक्षमा बस्ने। त्यसका लागि हामी डराएका छैनौँ, तयार छौँ। दोस्रो- समर्थन गर्ने तर सरकारमा आफू नजाने र तेस्रो- सरकारमा पनि जाने।"
"तर त्यो के गर्दा जनताको अपेक्षा पूरा हुने र भरोसा नटुट्ने अनि हामीले उठाएका माग कुन गठबन्धनले पूरा गर्छ भन्ने कुराले निर्धारण हुन्छ।"
हालसम्म कसैले पनि सरकार गठनका लागि आफूहरूलाई आह्वान वा सम्पर्क नगरेको उनको भनाइ छ।
प्रदेशसरकारमा सामेल हुने
राउतले आफूहरूको समर्थनविना मधेस प्रदेशमा सरकार बन्ने अवस्था नरहेकाले प्रदेशमा चाहिँ हिस्सेदारी सहित सरकारमा सामेल हुने खुलासा गरे।
उनले भने, "प्रदेशमा हाम्रो समर्थनविना सरकार बन्न सक्दैन। यस्तो बाध्यात्मक परिस्थितिमा सकेसम्म लोकतान्त्रिक गठबन्धनतर्फ नै जाने भन्ने हो।"
"त्यसो भए वाम गठबन्धन भए तपाईँहरू सरकारमा सामेल नहुने?' भन्ने प्रश्नमा उनले भने, "जसले इमानदारिता देखाउँछ त्यतातिर जान नसकिने भन्ने होइन।"
तर हालसम्म उनले आफूहरूले सरकारसँग गरेका सम्झौता अनुसार मागहरू पूरा गराउनेतर्फ कुनै पनि दलले ध्यान नदिएको दोहोर्याए।
प्रदेश सरकारमा सामेल भएमा आफूहरूले भूमिका पाउने र त्यस अनुसार काम गर्न सकिने उनले विश्वास व्यक्त गरे।
जनमत राष्ट्रिय दल बन्ने निश्चित
समानुपातिकतर्फ हालसम्म गणना भएको मतको आधारमा उक्त पार्टी राष्ट्रिय दल बन्ने देखिएको निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले बीबीसीलाई बताए।
उनले भने, "हालसम्मको मतगणना अनुसार सात वटा पार्टीहरू राष्ट्रिय दल बन्ने देखिएको छ।"
उनका अनुसार सात दलमा जनमत पार्टी पनि परेको छ।
कुन दल कुन स्थानमा?
मङ्गलवार साँझसम्म आयोगले ९९ लाख ४१ हजारभन्दा बढी मतगणना गरिसकेको छ।
त्यसमध्ये हालसम्म सबैभन्दा बढी मत नेकपा एमालेले पाएको देखिएको छ।
उक्त दलले २६ लाख ७८ हजारभन्दा बढी मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ३० हजारभन्दा बढी मत ल्याएको छ।
त्यस्तै तेस्रो स्थानमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा चिह्न लिएर चुनाव लडेका पार्टी रहेका छन्।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा उक्त चिह्न लिएर चुनावमा भाग लिएका थिए।
उनीहरूले हालसम्म ११ लाख ४२ हजारभन्दा बढी र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९५ हजारभन्दा बढी मत पाएका छन्।
यसै गरी पाँचौँ स्थानमा रहेको राप्रपाले ५ लाख ६६ हजारभन्दा बढी, छैटौँ स्थानमा रहेको जसपाले ३ लाख ८५ हजारभन्दा बढी र सातौँ स्थानमा रहेको जनमत पार्टीले ३ लाख ४४ हजारभन्दा बढी मत पाएका छन्।
सत्ताधारी गठबन्धनको एउटा दल नेकपा एकीकृत समाजवादीले भने हालसम्म राष्ट्रिय दल बन्नका लागि कटाउनुपर्ने कुल सदर मतको ३ प्रतिशत कटाउन सकेको छैन।
आठौँ स्थानमा रहेको उक्त दलले हालसम्म २ लाख ८० हजारभन्दा बढी मत पाएको छ।
यद्यपि देशका केही स्थानमा अवरुद्ध भएको मतगणना पुन: सुरु हुँदा समानुपातिकतर्फको केही मत गन्न बाँकी रहेको बताइएको छ।
उदयपुर र सुनसरीका रोकिएका स्थानमा अहिले मतगणना भइरहेको वाग्लेले जानकारी दिए।
त्यस्तै चुनावी प्रक्रिया रोकिएका स्याङ्जाको एउटा निर्वाचन क्षेत्र तथा बाजुरामा पनि मतगणना हुन बाँकी छ।
त्यस्तै दोलखामा भने आगामी बिहीवार मतदान हुँदैछ।
ती स्थानको अन्तिम परिणाम आएपछि मात्र उक्त पार्टी राष्ट्रिय दल बन्छ कि बन्दैन यकिन हुने बताइएको छ।