चुनावको प्रारम्भिक नतिजाले नयाँ दल ‘उत्साहित’, रवि लामिछानेको पार्टी सरकारमा जाला?

आमनिर्वाचनको प्रारम्भिक नतिजा हेर्दा कतिपय पुराना दलले अघिल्ला निर्वाचनको तुलनामा कम मत पाउने जस्तो देखिएको छ।

तर केही नयाँ दलले उल्लेख्य मात्रामा मत प्राप्त गर्ने सङ्केत प्रारम्भिक नतिजाले देखाएका छन्।

प्रत्यक्षतर्फ केही स्थानमा अग्रता लिइरहेका एवम् समानुपातिकमा पनि उल्लेख्य मत आउने आकलन गरिएका नयाँ दलका नेताले आफूहरू “उत्साहित” बनेको बताएका छन्।

तर आफ्ना कतिपय चर्चित नेताहरूले पराजय भोग्नुपर्ने अवस्था देखिएको र समानुपातिकमा पनि मत घट्नसक्ने अवस्था रहेका पुराना दलका नेताहरूले चाहिँ “आफूहरू चुनावी समीक्षाकै चरणमा रहेको” प्रतिक्रिया दिएका छन्।

‘उत्साहसँगै पछुतो’

मङ्गलवार साँझसम्म प्रतिनिधिसभातर्फ देशका १० भन्दा बढी क्षेत्रमा अग्रता कायम राखेको राष्ट्रिय स्वतन्त्र पार्टी यो पटकको निर्वाचनमा व्यापक चर्चामा रहेको छ।

उक्त दलले समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याउने र राष्ट्रिय पार्टी बन्ने सम्भावना रहेको धेरैको आकलन छ।

केही महिनाअघि मात्र खुलेको र पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले प्राप्त गरिरहेको प्रारम्भिक नतिजालाई कतिपय राजनीतिशास्त्रीले “पुराना दलप्रतिको वितृष्णाको मत” भनिरहेका छन्।

यद्यपि उक्त दलका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकाल चाहिँ अहिलेको प्रारम्भिक नतिजा आफूहरूले अपेक्षा गरे अनुरूपकै भएको बताउँछन्।

“अहिले हामीले अपेक्षा गरेकै जस्तो नतिजा आएको छ। वास्तवमा हामीले अपेक्षा गरेभन्दा कम हो। पहिले हामीले आफ्नो क्षेत्रमा योगदान गरेका सबैलाई मिलाएर चुनाव लड्न खोजेका थियौँ।”

“तर त्यसमा हामी सफल भएनौँ। त्यस्तो गरेको भए हाम्रो एकल बहुमत पनि आउन सक्थ्यो भन्ने कुराले खल्लो खल्लो पनि लागेको छ।”

तर उनले नेपालको लोकतान्त्रिक इतिहासमा यस पटक “मतदानबाट क्रान्ति” हुन खोजेको भन्दै त्यसले आफूहरूलाई “उत्साहित” बनाएको बताए।

ढकालका भनाइमा उक्त दलले चुनावको अन्तिम परिणाम आएपछि सांसदको सङ्ख्या हेरेर सरकारमा जाने वा नजाने रणनीति बनाउनेछ।

उनले भने, "प्रतिपक्षमै बस्ने वा सरकारमै जाने भन्ने कुरा सङ्ख्याले निर्दृष्ट गर्ने कुरा हो। पहिले सङ्ख्या स्पष्ट होस् र त्यसपछि मात्र हामी हाम्रो रणनीति बनाउँछौँ।"

त्यस्तै विखण्डनको मुद्दा उठाएर विवादित बनेका तर पछि मूलधारको राजनीतिमा प्रवेश गरेका चन्द्रकान्त (सीके) राउत नेतृत्वको नेपाल जनमत पार्टीका नेताहरूले पनि चुनावको प्रारम्भिक नतिजाले आफूहरूलाई उत्साहित पारेको बताए।

उक्त दलकी एकजना उपाध्यक्ष बबिता इसरले भनिन्, “हाम्रो अध्यक्षज्यूले प्रत्यक्षमा ठूलो मत अन्तरले जित्ने सम्भावना देखिएको छ। प्रदेशतर्फ पनि हाम्रो जित सुरु भइसकेको छ।”

“हामी यो प्रारम्भिक नतिजाबाट धेरै उत्साहित भएका छौँ। यो चुनावको परिणामले जनताको राज र सुशासनको हाम्रो मुद्दालाई स्थापित गर्न मद्दत गर्नेछ।”

उक्त दलले गत स्थानीय तह निर्वाचनमा पनि भाग लिएको थियो।

तर त्यसमा उसले खासै धेरै मत प्राप्त गर्न सकेको थिएन।

मत घट्ने सम्भावना भएका दल के भन्छन्?

यो चुनावमा एउटा प्रमुख दल नेकपा माओवादी केन्द्रका कतिपय केन्द्रीय पदाधिकारीहरू नै पराजित बन्नसक्ने सङ्केत देखिएको छ।

त्यस्तै समानुपातिकतर्फको प्रारम्भिक नतिजामा उक्त दल राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि पछाडि देखिएको छ।

त्यसबारे उक्त दलका नेताहरूसँग बीबीसीले कुराकानी गर्दा उनीहरूले चुनावको अन्तिम परिणाम नआई कन धेरै कुरा भन्न नसकिने बताए।

यद्यपि उक्त पार्टीका एक नेता गणेश साहका भनाइमा “जनताका एजेन्डा”हरूलाई दलले प्रभावकारी रूपमा उठाउन नसक्दा अहिलेको अवस्था आएको हो।

त्यसको अर्को कारणबारे उनी भन्छन्, “हाम्रा समानुपातिक उम्मेदवारहरू चुनावमा क्रियाशील नहुँदा पनि यस्तो भएको हुनसक्छ।”

त्यस्तै उनका भनाइमा माओवादी दलभित्र कतिपयले अहिले कम मत आउने अवस्था देखिनुमा गठबन्धनका अन्य सहयोग दलहरू इमानदार नहुनु मुख्य कारण भएको बताइरहेका छन्। त्यसमा उनीहरूले मुख्यतः नेपाली कांग्रेसलाई दोष दिने गरेका छन्। ती सबै कुराको पार्टीले चुनावको अन्तिम नतिजा आएपछि समीक्षा गर्ने र त्यसै अनुसार रणनीति तय गरेन साहको भनाइ छ। तर अहिलेको मत परिणामले चुनावपछि बन्ने सरकार वा त्यसपछि हुने गठबन्धनमा पनि असर पार्ने उनको भनाइ छ। त्यस्तै पार्टीलाई पुनर्गठनको प्रयास पनि गरिने साहले बताए।

त्यस क्रममा अन्य कम्युनिस्ट दलहरूसँग एकताको प्रयास पनि हुनसक्ने साहको भनाइ छ। नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पनि उल्लेख्य मात्रामा मत नल्याउने सङ्केत देखिएको छ। कतिपयले उक्त दल राष्ट्रिय पार्टी बन्न नसक्ने पनि हुनसक्ने बताइरहेका छन्। निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर सोधिएको प्रश्नमा उक्त दलका एक नेता वेदुराम भुसाल भने, “यसबारे हामीले पार्टीभित्र नै समीक्षा गरिसकेका छैनौँ। सबैतिरको नतिजा आएपछि समीक्षा हुन्छ अनि मात्र हामी सार्वजनिक रूपमा केही बताउन सक्छौँ।”