तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: पराजय भोग्ने एक्लो पूर्वप्रधानमन्त्री बने झलनाथ खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहजिल्ला इलामबाट पराजित भएका छन्। निर्वाचन आयोगले सोमवार परिणाम घोषणा गर्दा खनाल २,६०० बढी मतले पछिका हुन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल आफ्नै पूर्व पार्टी सहकर्मी महेश बस्नेतसँग पराजित भएका हुन्।
यो प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्ने खनाल एक्लो पूर्व प्रधानमन्त्री हुन्।
प्रधानमन्त्री शेर बहादुर देउवा सहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचित भइसकेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दले भने यो निर्वाचनमा उम्मेदवारी दिएनन्।
नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनाल गत वर्ष पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा गएका थिए।
इलाम क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत राजकुमार दाहालले प्रत्यक्षतर्फको मतगणना आइतवारै सकिए पनि निर्वाचन परिणामको घोषणा समानुपातिकतर्फको मतगणना सकिएपछि मात्रै घोषणा हुने बीबीसीसँग बताएका थिए।
समानुपातिकतर्फका मतपेटिकामा पनि प्रत्यक्षतर्फका मतपत्र भेटिन सक्ने सम्भावना उम्मेदवारले औँल्याएका कारण अन्तिम परिणाम घोषणा आइतवार गरिएको थिएन।
नेपाली कांग्रेस, नेकपा माओवादी सहितको सत्ताधारी गठबन्धनबाट उम्मेदवार बनेका खनालले २३,०८९ मत पाए।
उनका प्रतिस्पर्धी इलाम नगरपालिकाका पूर्वमेयर बस्नेतले २५,७५३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
गठबन्धनप्रति असन्तुष्टि जनाउँदै यो क्षेत्रमा कांग्रेस कार्यकर्ता विक्रम पाण्डेले बागी उम्मेदवारी दिएका थिए। पाण्डेले १,१८४ मत ल्याएका छन्।
खनाल विसं २०६७ माघ २३ देखि २०६८ भदौ ११ सम्म छ महिना प्रधानमन्त्री भएका थिए।
त्यसअघि पनि खनालले कृषि, भूमिसुधार तथा व्यवस्था, बन तथा वातावरण र सूचना तथा सञ्चारमन्त्री जस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए।
विसं २०४८, २०५१, २०६४, २०७० र २०७४ को संसदीय निर्वाचनमा इलामबाटै निर्वाचित भएका खनालको संसदीय यात्रामा विराम लागेको हो।
विसं २०७०को दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही १ बाट पनि उम्मेदवारी दिएका खनाल सर्लाहीमा माओवादीका शम्भुलाल श्रेष्ठसँग पराजित भएका थिए। तर इलामबाट निर्वाचित भएका कारण उनको संसदीय यात्रा अविराम रह्यो।
खनाल सम्मानित नेता रहेको एकीकृत समाजवादीले उम्मेदवारी दिएका १९ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८ स्थानमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता लिएको छ।
यो दलबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, पूर्वउद्योगमन्त्री सोम प्रसाद पाण्डे लगायतका प्रभावशाली नेताहरू पराजित भइसकेका छन्।