तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: गठबन्धनको पक्षमा बहुमत सुनिश्चित नहुँदै कांग्रेसमा कैयौँ प्रधानमन्त्रीका आकाङ्क्षी
जारि मतगणनाबाट सत्तारूढ गठबन्धनको पक्षमा बहुमत पुग्ने प्रस्ट मार्गचित्र देखा नपर्दै सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस भित्र कैयौँ वरिष्ठ नेताहरूले प्रधानमन्त्री पदमा दाबी गरेका छन्।
पछिल्लो पटक उक्त पदमा दाबी गर्नेमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पर्छन्।
बीबीसीसँगको अन्तरवार्तामा उनले अहिलेकै गठबन्धनमा रहेका दलहरूको नेतृत्वमा सरकार बन्ने र बहुमत नपुग्ने अवस्था आए अन्य दलहरूको पनि समर्थन जुटाउने बताए।
त्यसका लागि आफूले संसदीय दलको चुनाव लड्ने र प्रधानमन्त्री पदमा दाबी गर्ने उनले बताए।
उनी भन्छन्, "राष्ट्रलाई मेरो आवश्यकता छ। मैले देशलाई योगदान पुर्याउनु छ। अब यो अवस्थामा केही गरि छाडौँ भन्ने मेरो सोच हो।"
उनले थपे, "मेरो यत्रो क्षमता र अनुभवलाई उपयोग गर्न नै पाइएन। अब देशमा मेरो परीक्षण हुनुपर्छ।"
उनी तनहुँ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अरू दाबेदार को को
नवलपुर १ बाट निर्वाचित भएपछि कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले आफूले पनि संसदीय दलको नेतामा दाबी गर्ने प्रतिक्रिया दिएका छन्।
मोरङ ६ बाट निर्वाचित कांग्रेसका नेता शेखर कोइरालाले 'साथीहरूसँगको छलफलपछि' मात्रै आफूले संसदीय दलको नेतृत्व दाबी गर्ने या नगर्ने बारे निर्णय लिने बताएका थिए।
आगामी सरकारको नेतृत्वका लागि आफ्नो दाबी रहने कांग्रेस महामन्त्री गगन थापाले यसअघि नै बताइसकेका छन्।
पार्टीको संसदीय दलको नेतामा चुनिने थापाको प्रयासमा आफ्नो साथ रहने धारणा अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा राखेका छन्।
चुनावअघि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि पनि देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका थिए।
तर वरिष्ठ नेता पौडेलले आफूले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएको बताए।
मुलुकले उच्च नैतिक चरित्र सहितको नेता खोजिरहेको भन्दै उनले भने, "राजनीतिमा म यो कामको लागि आफूलाई प्रस्तुत गर्छु भनिसकेको पछि फलानोसँग लड्ने र फलानोसँग नलड्ने भन्ने हुँदैन।"
पाँच पटक प्रधानमन्त्री बनिसकेका ७७ वर्षीय देउवामाथि नेतृत्व हस्तान्तरणका लागि कतिपय युवा नेताहरूले दबाब दिँदै आएका छन्।
एक दशकअघि १७ पटक प्रधानमन्त्री पदको चुनाव लडेर पनि परिणाम आफ्नो पक्षमा पार्न नसकेका पौडेल आफूलाई एक पटक सरकारको नेतृत्व गर्ने मौका दिइनुपर्ने तर्क गर्दै आएका छन्।
अहिलेसम्मको मत परिणामको अवस्था के छ?
निर्वाचन आयोगले प्रत्यक्षतर्फका १२० क्षेत्रको मत परिणाम आधिकारिक रूपमा घोषणा गर्दा कांग्रेस नेकपा एमालेभन्दा केही सिटले अघि रहेको छ।
प्रत्यक्षतर्फ तेस्रो र चौथो स्थानमा सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन्।
प्रत्यक्षतर्फ पाँचौँ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक निर्वाचन प्रणालीको मतगणनामा चौथो स्थानमा छ।
समानुपातिक प्रणाली अन्तर्गतको मतगणनामा पहिलोमा नेकपा एमाले छ। कांग्रेस सो दलभन्दा ७० हजार मतले पछि छ।
शनिवार अपराह्नसम्मको गणनामा माओवादी केन्द्र स्वतन्त्र पार्टी भन्दा करिब २० हजार मतले अघि लागेको देखिन्छ।
समानुपातिक गणनामा सत्ता गठबन्धनका जसपा नेपाल र नेकपा एकीकृत समाजवादीभन्दा धेरै मत राप्रपाले ल्याएको छ।
राजनीतिक विश्लेषक के भन्छन्?
विश्लेषकहरूले अहिलेको अवस्थामा संसद्मा कुनै दल वा गठबन्धनको बहुमत कायम हुने सम्भावना नदेखिएको र मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा दलहरू पुगेको बताइरहेका छन्।
जनकपुरस्थित एक जना राजनीतिक विश्लेषक सुरेन्द्र लाभले बीबीसीसँग भने, "अहिलेसम्म हेर्दा गठबन्धनका दलहरूले पनि अन्य नयाँ दलहरूलाई साथमा लिएर अघि बढ्नसक्छन्। बहुमत पुर्याउन सकेनन् भने राजनीतिमा हरेक कुरा सम्भव हुन्छ। अहिलेको गठबन्धन फेरिन पनि सक्छ।"
गोर्खा क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर बधाई दिएका थिए।
त्यस बेला ओलीले सहकार्यको प्रस्ताव राखेको विवरण समेत आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले माओवादीले अहिलेकै गठबन्धनलाई अघि बढाउने सोच बनाएको बताउँदै "भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने" धारणा राखेका थिए।
चुनावमार्फत पहिलो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफू पनि सहकार्यका लागि खुला रहेको सङ्केत दिएको छ।
मतपरिणामको अर्थ के
एक जना राजनीतिशास्त्री पुष्प अधिकारीले अहिलेको चुनावी परिणामले नेपाललाई थप अस्थिर बनाउने बताए।
उनले भने, "अब पनि एकदमै पृथक् विचार भएका र अलग दिशातर्फ फर्किएका दलहरू मिलेर सरकार बनाउने कसरत सुरु हुन्छ। राजनीतिक दलहरूमा अब सिद्धान्त छाडेर सत्ता मात्रै बाँकी रहेको छ। यसैका लागि छिनाझपटी देखिन्छ। देशको स्थायित्व, स्थिरता र राष्ट्रिय स्वार्थमा यसले निक्कै ठूलो दुखद: परिस्थिति निम्त्याउन सक्छ।"
अघिल्लो पटक निर्वाचनमा मिलेर लडेका बाम पार्टीहरूले परिणाम देखिने गरी काम गर्न सकेको भए त्यो राम्रो हुने र त्यसले लोकतान्त्रिक पार्टीहरूभित्र पनि सुधारका निम्ति माहौल खडा गर्ने उल्लेख गर्दै उनले त्यसो हुन नसक्दा थप अन्योल देखिएको बताए।
अहिले निर्वाचित भएका स्वतन्त्र दलका युवा सांसदहरूले भावी प्रतिनिधिसभामा हस्तक्षेपकारी भूमिका खेल्न सके आगामी दिनमा उनीहरू थप बलियो शक्तिका रूपमा अघि बढ्न सक्ने उनले बताए।
निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक प्रणालीको सम्पूर्ण मत परिणाम आउन अझै केही दिन लाग्ने जनाएको छ।