एमाले महासचिव शङ्कर पोखरेलको हारले केपी ओलीको उत्तराधिकारीबारे उब्जाएका प्रश्न

    • Author, फणीन्द्र दाहाल र माधव नेपाल
    • Role, बीबीसी न्यूज नेपाली

लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने प्रयासमा रहेका दुई नेता प्रतिनिधिसभा अन्तर्गत चुनावी प्रतिस्पर्धामा थिए। त्यसमध्ये एक एमाले महासचिव शङ्कर पोखरेलले बेहोरेको हारले एमालेको आन्तरिक राजनीति र भावी नेतृत्व दौडमा कस्तो असर पार्न सक्छ?

कुनै पनि कम्युनिस्ट पार्टीमा महासचिवको पदलाई शक्तिशाली पदमा लिने परम्परा छ।

अझ अघिल्लो सालको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएका नेता शङ्कर पोखरेललाई उनको उत्तराधिकारीको रूपमा हेर्ने गरिएको थियो।

तर प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर दुईमा चुनाव लडिरहेका पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्माबाट पराजित भएका छन्।

साँघुरो मतान्तरले भएको पोखरेलको हारले नेकपा एमालेको पुस्तान्तरण प्रभाव पार्नसक्ने विश्लेषकहरू बताउँछन्।

ओलीपछिको नेता को?

नेकपा एमालेको विधानको धारा ६४ मा राखिएको व्यवस्था अनुसार अहिले पार्टीको नेतृत्व सम्हालिरहेका कतिपय नेता आगामी महाधिवेशनबाट अवकाश लिने अवस्थामा पुग्नेछन्।

पार्टी विधानको उक्त धारामा कुनै पनि पदमा दुई पटक रहन नपाउने र सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य निर्वाचित वा मनोनीत हुन ७० वर्ष पूरा नभएको हुनुपर्ने उल्लेख छ।

तर ७० वर्ष नहुँदै निर्वाचित भएको व्यक्तिलाई अर्को महाधिवेशन नहुन्जेलसम्मको आफ्नो कार्यकाल पू रा गर्न बाधा नपुग्ने विधानमा जनाइएको छ।

अहिलेका एमालेका कैयौँ वरिष्ठ नेताहरू अबको चार वर्षपछि हुने महाधिवेशनअघि नै उमेरको उक्त समय सीमा नाघेका कारण कार्यकारी पदमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन्।

यस्तोमा अहिले पार्टीका महासचिव रहेका ५९ वर्षिय शङ्कर पोखरेल र ६२ वर्षको उमेरमा हिँडिरहेका उपाध्यक्ष विष्णु पौडेलबिच भावी नेतृत्वका लागि प्रतिस्पर्धा हुने धेरैले ठान्दै आएका थिए।

आफ्नो गृह नगर दाङको क्षेत्र नम्बर दुईमा डेढ सय मतभन्दा केही बढीले माओवादी केन्द्रकी उम्मेद्वार पूर्व मन्त्री रेखा शर्मासँग महासचिव पोखरेल पराजित भएपछि त्यसले नेकपा एमालेको पुस्तान्तरणबारे पनि सवाल उब्जाएको कतिपय विश्लेषकहरू बताउँछन्।

एक जना वामपन्थी विश्लेषक झलक सुवेदी नेपाली कांग्रेसका दुवै महामन्त्रीहरूले जितिरहँदा एमालेका महासचिवको पराजयले साङ्केतिक अर्थ राख्ने बताउँछन्।

उनले भने, “मेरो विचारमा नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरणको एउटा सहज सोपान तयार भयो। शेरबहादुर देउवाहरू पछि को भन्दा अब गगन (थापा), विश्व प्रकाश (शर्मा) र प्रदीप (पौडेल) भन्ने एउटा प्रस्ट नेतृत्व देखियो।”

उनले थपे, “नेकपा एमालेमा ओली (केपी शर्मा ओली) ले जिते। तर उनीपछि त्यहाँ नेतृत्व गर्ने को हो भन्दा, विष्णु पौडेलले जित्लान्, पृथ्वी सुब्बा गुरुङले जिते तर पार्टीकै महासचिवले हारिसकेपछि ठ्याक्कै नेतृत्वको बारेमा प्रश्न उठ्न सक्छ।”

उनले एउटा चुनाव हार्दैमा पोखरेलको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने वा दलभित्रको आन्तरिक राजनीतिमा ठूलो प्रभाव नपर्ने नभएपनि त्यसले आकर्षण कम बनाउन सक्ने टिप्पणी गरे।

नेतृत्वको आकाङ्क्षाबारे पोखरेलले के भनेका थिए?

महासचिव पोखरेलले चुनावअघि बीबीसीलाई दिएको अन्तरवार्तामा एमाले सामूहिक नेतृत्वमा चल्ने पार्टी भएकाले आफ्नो आकाङ्क्षा भन्दा पनि चुनावी परिणामलाई प्राथमिकतामा राखेको बताएका थिए।

उनको भनाइ थियो, ‘यति बेला मुलुकको राजनीतिमा पार्टीको नेतृत्वकारी भूमिकाको खोजी हामीले गरिरहेका छौं। यो सामूहिक प्रयासको खोजी हो। कुनै व्यक्तिको कुरा होइन।”

उनले भनेका थिए, “म अहिले राष्ट्रिय राजनीतिको विषयलाई केन्द्रमा राखिरहेको छु। पार्टीको आन्तरिक विषय अहिले चर्चाको विषय होइन।”

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका पोखरेलको प्रतिस्पर्धामा त्यही प्रदेशका एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल रहेका छन्।

जारी मतगणनामा रुपन्देही क्षेत्र नम्बर दुईमा पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कडा चुनौती दिइरहेका छन्।

एक हजार भन्दा कम मतान्तरले पौडेल अघि छन्।

बीबीसीसँग कुरा गर्दै ६२ वर्षका पौडेलले दलको नेतृत्वमा आफ्नो स्वाभाविक दाबी रहने बताएका थिए।

महासचिव पोखरेलसँग नेतृत्वका लागि तपाईँको प्रतिस्पर्धा हुन्छ कि हुँदैन भन्ने बीबीसीको प्रश्नमा उनले भनेका थिए, “त्यो भोलिको विषय हो अहिले छलफल गर्नुपर्ने विषय नै होइन।”

को हुन सक्छन् भावी नेता?

एमालेका अध्यक्ष केपी ओली ७० वर्ष पुगिसकेका छन्। विधान अनुसार उनले फेरि पार्टीको नेतृत्व गर्ने सम्भावना छैन।

कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ६८ वर्ष पुगिसकेका छन्।

इलाममा आफ्ना प्रतिस्पर्धीबाट चुनौती सामना गरे पनि मतगणनामा केही अघि रहेका अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि उमेरका कारण नेतृत्व दौडमा रहने छैनन्।

अहिले ६४ वर्ष पुगेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ यो चुनावमा विजयी भएका छन्।

अर्का उपमहासचिव प्रदीप ज्ञवाली र उनका कांग्रेसका प्रतिस्पर्धी चन्द्र भण्डारीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ।

एमालेका तीन जना सचिव टोपबहादुर रायमाझी, गोकर्ण विष्ट र योगेश भट्टराईले चुनाव जितेका छन्।

पार्टी नेतृत्वमा पुग्न विभिन्न परिस्थितिहरूले भूमिका खेल्ने बताएका विश्लेषक सुवेदी संसद्मा भूमिका खेल्ने नेताहरू सजिलै चिनिने ठान्छन्।

उनले भने, “विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ वामपन्थी एकताको लागि जोड दिइरहेका नेताहरू हुन्। माधव नेपाल र प्रचण्डहरू पनि दबावमा छन्। ती दुई नेताको भूमिका बलशाली रह्यो भने पार्टी एकता वा वाममोर्चाको पक्षमा दबाव पनि सृजना होला। त्यस्तो भयो भने उनीहरूलाई नेतृत्वदायी भूमिकामा देखाउँछ भन्ने अनुमान गर्छु।”

यस पटकको चुनावमा ओली निकट मानिएका नेता राजन भट्टराईदेखि भानुभक्त ढकालसम्म पराजित भएका छन्।

खासगरी माओवादी केन्द्रसँगको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी गठन भएका बेला उत्पन्न विवादमा खेलेका भूमिकाका कारण सुवेदी जस्ता केही विज्ञले एमालेका दोस्रो पुस्ताका कतिपय अनुहारहरू अहिले नै पार्टी नेतृत्वको लागि तयार नभइसकेको ठान्ने गरेका छन्।