नेपाल निर्वाचन: नयाँ समीकरणका लागि प्रचण्ड सक्रिय, गठबन्धनबारे माओवादीले समीक्षा गर्ने

माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए

प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै नेकपा ‌माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणका लागि अग्रसरता लिएका छन्।

तर माओवादीका एक जना नेताले यही गठबन्धनमा माओवादी रहने वा नरहनेबारे पार्टीमा छलफलपछि मात्रै निर्णय हुने बताए।

भावी सरकारको नेतृत्वमा आफ्नो दाबी अघि सारेका प्रचण्डले शनिवार प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरेका थिए। छलफलमा देउवाले गठबन्धनको निरन्तरताका पक्षमा आफू रहेको बताए पनि प्रचण्डले "अन्तिम चुनावी परिणाम आएपछि मात्रै थप छलफल गर्ने" जवाफ दिएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

"प्रधानमन्त्री गठबन्धनकै निरन्तरताका पक्षमा लचिलो देखिनुभएको छ। हाम्रो अध्यक्षले अन्तिम परिणाम आएपछि थप छलफल गर्ने भन्नुभएको छ," मल्लले भने।

प्रचण्ड संसद्‌मा सबैभन्दा ठूलो दल बन्ने देखिएको कांग्रेसका सभापति समेत रहेका देउवालाई बधाई दिन गएको र त्यही क्रममा राजनीतिक छलफल पनि भएको मल्लको भनाई छ।

माओवादीले समीक्षा गर्ने

माओवादीका कतिपय नेताहरूले कांग्रेसबाट आफ्नो दलका उम्मेदवारहरूलाई भोट 'ट्रान्सफर' नभएको गुनासो गरेको विवरण आएका छन्।

माओवादीका महासचिव देव गुरुङले चुनावको अन्तिम परिणाम आएपछि मात्रै यसबारे आफ्नो दलले समीक्षा गर्ने बताए।

लमजुङबाट उम्मेदवारी दिएका गुरुङ एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित भएका थिए।

Nepal Election Map

उनले चुनावी परिणाम र गठबन्धन दुवैबारे पार्टीमा छलफल र समीक्षा हुने बताए।

"कुन कुन दलको के पोजिजन आउँछ त्यसपछि मात्रै छलफल होला," गुरुङले भने।

"हाम्रो दलभित्र पनि समीक्षा हुन्छ। अरू दलमा पनि बैठक होलान्, समीक्षा होला।"

प्रचण्ड-रेम चौधरी भेट

प्रतिनिधिसभा निर्वाचनमा तीन स्थानमा जित उन्मुख रहेको नागरिक उन्मुक्ति पार्टीका नेता रेसम चौधरीसँग डिल्लीबजार कारागार नै पुगेर प्रचण्डले भेट गरेका छन्।

टिकापुर घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको पार्टी झिनो बहुमततर्फ उन्मुख देखिएको सत्ता गठबन्धनका लागि सहयोगी बन्न सक्ने आकलन सत्ता पक्षीय नेताहरूको छ।

"उहाँले चुनावअघिनै भेट्न खोजिरहनुभएको थियो। समय मिलेको थिएन त्यसैले चुनावपछि भेट्न जानुभएको हो," प्रचण्डका स्वकीय सचिव मल्लले भने।

"भेटमा उहाँले माओवादीसँग नजिक भएर काम गर्ने इच्छा देखाउनुभएको छ। हाम्रो तर्फबाट जनमतको सम्मान गर्नुपर्छ भन्ने कुरा भएको छ।"

Election Result Table[HOR]

मल्लका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईसँग पनि भेट गर्ने तयारी गरेका छन्।

'गठबन्धनकै सरकार हुन्छ'

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रमुख दलका शीर्ष नेताहरू गठबन्धनकै निरन्तरताका पक्षमा रहेको दाबी गरे।

"प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरूसँग कुराकानी गरिसक्नुभएको छ र उहाँहरू गठबन्धनको निरन्तरताकै पक्षमा हुनुहुन्छ," महतले भने।

"अब पनि गठबन्धनले निरन्तरता पाउँछ बरु त्यसमा अरू केही दल पनि थपिने हुनसक्छ।"

विजय जुलुस

तस्बिर स्रोत, RSS

गठबन्धनका नेताहरूले एमालेबाट अलग भएका पूर्व माओवादी नेता प्रभु साह र उनी पक्षीय स्वतन्त्र उम्मेदवार किरण कुमार साह पनि गठबन्धनमै आउने दाबी गरेका छन्। दुवै जनाले स्वतन्त्र उम्मेदवारि दिएर रौतहट ३ र २ बाट निर्वाचित भएका थिए।

प्रचण्डको भेटपछि रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धनमा सहभागी हुने नेताहरूको विश्वास छ।

निर्वाचन आयोगको आधिकारिक विवरण अनुसार यो दलले कैलालीमा एक स्थानमा जित हासिल गरिसकेको छ भने अर्को दुई स्थानमा भारी मतले अग्रता कायम गरेको छ।

स्वतन्त्र उम्मेदवारी दिएका चौधरीका बुबा लालवीर चौधरी पनि बर्दिया २ बाट निर्वाचित भएका छन्।

गठबन्धनले कसलाई फाइदा

मतगणना

तस्बिर स्रोत, RSS

प्रत्यक्षमा १६५ मध्ये १४० बढी निर्वाचन क्षेत्रको परिणाम आइसक्दा कांग्रेसले अग्रता लिएको छ भने गठबन्धनका अन्य दलहरू माओवादी तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा छन्।

अघिल्लो निर्वाचनको तुलनामा कांग्रेसले सिट बढाए पनि माओवादी र एकीकृत समाजवादी दुवैले अघिल्लो संसद्‌मा उनीहरूको सङ्ख्याको तुलनामा सिट गुमाउने देखिएको छ।

सत्ताधारी गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी दलले पनि यसअघिको संसद्‌मा भन्दा केही सिट गुमाउने देखिएको छ। राष्ट्रिय जनमोर्चाले भने यो पटक पनि एक स्थानमा जित हासिल गरिसकेको छ।

Proportional voting result Nepal

समानुपातिकतर्फको मतगणना जारी रहेकाले कति वटा दलले समानुपातिक तर्फ मत पाउँछन् निश्चित भइसकेको छैन। यो प्रणालीबाट दलहरूले पाएको मतका आधारमा ११० जना निर्वाचित हुन्छन् तर कुल सदर मतको तीन प्रतिशत कम मत पाउने दलहरूले पाएको मत गणना हुँदैन।

अहिलेसम्मको मतगणनामा गठबन्धनमा रहेको एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले तीन प्रतिशतभन्दा कम मत पाएका छन्।