ओली-प्रचण्ड फोनवार्तापछि माओवादी नेता भन्छन्- 'एमालेसँगको सहकार्यलाई नकार्न सकिँदैन'

बागलुङ-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि देवेन्द्र पौडेल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बागलुङ-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि देवेन्द्र पौडेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेकै दिन माओवादीका एक नेताले "भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने" बताएका छन्।

बिहीवार साँझ बीबीसीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

उनले माओवादीको मत केही घटे पनि आफ्नो दलले "देशको राजनीतिमा भूमिका हुने" खालको सिट ल्याउने आशा रहेको बताए।

उनका भनाइमा माओवादीले अहिलेकै गठबन्धनलाई अघि बढाउने सोच बनाएको छ, तर त्यसको निर्धारण समानुपातिकको मत तथा प्रदेशसभाहरूको गठनले गर्नेछ।

Nepal Election Map

मत परिणामप्रति माओवादीको दृष्टिकोण

पौडेलले अहिले नै अन्तिम नतिजा आइनसकेकाले मतपरिणामबारे धेरै कुराको समीक्षा गर्न बाँकी रहेको बताए।

उनले भने, "तर प्रारम्भिक नतिजाले विशेषगरी सहरी क्षेत्रमा विकल्प खोजेको महसुस भएको छ। त्यसबारे स्थापित परम्परागत पार्टीहरूले आत्मसमीक्षा गर्नु आवश्यक छ।"

उनले गठबन्धनका कारण पनि माओवादीले प्रत्यक्षतर्फ कम क्षेत्रमा जितेको सङ्केत गरे।

यद्यपि 'के कांग्रेसले तपाईँहरूलाई धोका दिएको भन्न खोज्नुभएको हो?' भन्ने प्रश्नमा उनले भने, "अहिले नै धोका भन्न मिल्दैन।"

उनले आफ्नै क्षेत्रमा पनि कांग्रेसले भरपुर सहयोग गरेको बताए। तर अझै पनि कहाँ कस्तो अवस्था रह्यो भन्ने समीक्षा गर्न बाँकी रहेको उनको भनाइ छ।

पौडेलले अहिलेको निर्वाचनले वामपन्थी टुटफुट र विभाजनलाई जनताले अनुमोदन नगरेको पनि बताए।

यद्यपि अझै पनि कांग्रेससमेतको वाम-लोकतान्त्रिक गठबन्धन अपरिहार्य भएको उनको तर्क छ।

यो फलोरिश कम्पोनेन्ट लोड हुन असफल भएको छ, कृपया पछि फेरि जाँच गर्नुहोस्

ओली र एमालेसँग सहकार्य होला?

पौडेलले बिहीवार एमाले अध्यक्ष ओलीले आफ्ना अध्यक्ष दाहाललाई टेलिफोन गरेर कुराकानी गरेको पुष्टि गरे।

यद्यपि त्यसबारे आफूलाई विस्तृत विवरण थाहा नभएको बताउँदै उनले भने, "दुवै नेताहरूले जित्नु भएकाले शुभकामना आदानप्रदानबाहेक अरू कुरा भएको जस्तो लाग्दैन।"

'अब फेरि वाम एकता हुन्छ?' भन्ने प्रश्नमा पौडेलले भने, "आधारभूत रूपमा विचार, सिद्धान्त र उद्देश्य मिल्नेसँग कहीँ न कहीँ सहकार्य हुन्छ।"

"राजनीतिमा कुनै पनि ढोका र विकल्पहरूमा हामी खुला छौँ। किनकि नेपालका दलहरू मिल्ने र टुट्ने अनि एक भएर सहकार्य गर्ने पहिलेदेखि नै प्रचलन रहेको छ।"

"त्यसैले भोलिका दिनमा वामपन्थी एकता हुन्न भन्न सकिँदैन।"

यद्यपि उनले ओलीप्रति लक्षित गर्दै भने, "तर अहिले जुन प्रवृत्ति र सोचका विरुद्ध हामी लड्यौ त्यसको समीक्षा भएर आत्मआलोचना नभइकन हामी मिल्छौँ भन्ने कुरा सत्य होइन।"

'उसोभए त्यस्तो आत्माआलोचना भयो भने ओलीसँग पनि सहकार्य र एकता हुन्छ त?' भन्ने प्रश्नमा उनले त्यसलाई नकार्न नसकिने जवाफ दिए।

पौडेलले भने, "त्यो भविष्यको कुरा हो। राजनीतिमा नहुने भन्ने कुनै पनि कुरा छैन। तर जे विषयलाई संविधान, अहिलेको प्रणाली र सिस्टममलाई तोडमोड गर्ने काम भयो। त्यस कुराको रियलाइजेसन भयो भने पुनर्विचार गर्न सक्छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा