नेपाल निर्वाचन: प्रभावशाली मधेशी नेताहरूलाई हराएर उदाउँदै सीके राउत, कसरी सम्भव भयो उनको छलाङ

सीके राउत

तस्बिर स्रोत, CK RAUT/FB

    • Author, स्वेच्छा राउत
    • Role, बीबीसी न्यूज नेपाली

पहिलो पटक संसदीय प्रतिस्पर्धामा होमिएका चन्द्र कान्त (सीके) राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि निर्वाचित हुँदै छन्। उनले निकटतम प्रतिद्वन्द्वीभन्दा दोबर मत ल्याइ प्रभावशाली भनिएका मधेशी नेताहरूलाई पछि पारे।

जनमत पार्टी स्थापना गरेर मूलधारको राजनीतिमा आएका राउतको उदयसँगै पुराना मधेशी दलहरू आत्मालोचना गर्न बाध्य भएका छन्। यस परिस्थितिलाई राजनीतिक परिवेशमै "नयाँ युगको सुरुवात"का रूपमा व्याख्या गर्छन् उनी।

"यो जितले के सङ्केत गर्छ भने, अब हामी नयाँ पिँढी नयाँ तरिकाबाट देश र मधेशकै राजनीति हाँक्ने दिशातर्फ अगाडि बढेका छौँ," उनले बीबीसीसँगको कुराकानीमा भने।

देशकै ठूला दल वा मधेश केन्द्रित पुराना दलहरूले जनता समक्ष सेवा प्रवाहबारे कुनै ध्यान नदिएकाले आफू निर्वाचनमा होमिएको राउतको दाबी छ।

यद्यपि, पुराना मधेशी दलहरूले भने फरक कारणहरू देखाउँदै हार स्वीकार गरेका छन्।

हारको कारण

सीके राउतका निकटतम प्रतिद्वन्द्वी थिए जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव। मधेश आन्दोलनपछि उदाएका यी शीर्ष नेता राउतसँग करिब पन्ध्र हजार मत अन्तरले पछि परे।

Nepal Election Map

दलको निम्ति अनपेक्षित हार बनेको यस चुनावी नतिजाबारे जसपाका प्रवक्ता मनिसकुमार सुमन भन्छन्,"अपेक्षाभन्दा कम मत आएको छ। जति मत आएको छ त्यसलाई जनताको हामी प्रतिको विश्वासको रूपमा लिनु पर्छ। अब तिनै मतलाई ऊर्जा बनाएर काम गर्नु पर्छ।"

उनले पार्टी अध्यक्षको हारको दुई प्रमुख कारणहरू प्रस्तुत गरे: पहिलो, मधेशका जनताले विकल्प खोज्नु र दोस्रो, स्थापित मधेशवादी दल तथा नेताहरूबीच टुटफुट हुनु।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'विकास होस्, भ्रष्टाचार नहोस्'

"पछिल्ला दिनहरूमा हामीबीच भएको टुटफुट र आफूबीचको प्रतिस्पर्धाले गर्दा भोट बाँडिएको हो," उनले भने।

त्यस्तै ठूला दलहरूको गठबन्धनको राजनीतिले पनि मधेशी दलहरूको चुनावी परिणाममा असर पुर्‍याएको सुमन बताउँछन्।

आत्मालोचना र 'राज्यको प्रहार'

फुटको राजनीतिबारे उनी समान मत राख्छन् लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकारिणी सदस्य केशव झा। त्यसबाहेक मधेशकेन्द्रित दलहरूले जुन उद्देश्यका साथ पार्टी स्थापना गरे त्यस अनुरूप काम नगरेको उनको ठहर छ।

"पछिल्लो समयमा मधेशसँग जोडिएका दलहरूले जुन उद्देश्यका साथ पार्टी खोले त्यसको उद्देश्य पूर्ति गर्न काम गरेनन्। मुद्दामा ध्यान नदिई सत्ता र शक्तिको स्वार्थमा फसे।"

मधेशका दलहरू परिवर्तनकारी शक्ति भएकाले जसपालगायत राज्य सत्ताको चरित्र र संरचनाका निम्ति "खतरा" बनेको उनको तर्क छ।

"त्यही खतराका कारण सत्तामा भएकाहरूले 'फुटाऊ र राज गर'को नीति अपनाए। मधेशी दल र नेतालाई केही सीमित अवसर, केही दिएर टुक्रा टुक्रा पार्न खोजियो। यो राज्यको तर्फबाट भएको प्रहार हो," उनले आफ्नो विचार राखे।

मधेश आन्दोलनको माग सम्बोधन गर्नुको साटो "केही दिएर अलमलाउनु"ले पनि चुनावी परिणाममा असर गरेको सुमनको भनाइ छ।

दलहरूले इमानदार र प्रतिबद्ध रहेर मुद्दा केन्द्रित हुनु पर्नेमा त्यसो नभएको उनी स्वीकार्छन्।

"सत्ता स्वार्थमा फसेर चुक्यौँ। अब हामी त्यसमा सुध्रनु पर्छ भन्ने कुरा भएको छ। आन्दोलनबाट संवादमा ल्याएर माग पूरा गर्ने भनिएको थियो। तर त्यसो भएन। अब त्यही अभियानलाई अगाडि बढाउने कुरा भएको छ," उनले दलभित्र भएको छलफलबारे सुनाए।

सीके राउत

तस्बिर स्रोत, CK RAUT/FB

जनताले किन पत्याएनन्?

पहिलो संविधान सभामा ठूलो शक्तिका रूपमा उदाएको मधेशको शक्ति दोस्रो संविधान सभा निर्वाचनमा कमजोर बन्यो। पछि उनीहरू प्रदेश र सङ्घ दुवै सरकारमा सत्ता केन्द्रित भएको आरोप लाग्यो।

"उनीहरू जब जब जनतासँग जोडिन्छन् वा जनताको मुद्दा उठाउँछन् तब समर्थन पाउँछन्। तर, जब सत्ताको नजिक हुन्छन् तब तिनै जनताले लौरो हान्छन्," राजनीतिक विश्लेषक चन्द्र किशोरले भने।

यद्यपि, ठूला भनिएका दलहरूले समेत क्षयीकरण भोगिरहेको अवस्थामा मधेशका दलहरूको प्रभाव घट्नु स्वाभाविक भएको उनको भनाइ छ। प्रदेशमार्फत् पर्याप्त काम नगर्नुलाई स्थापित मधेशी दल हार्नुको मूल कारण ठान्छन् उनी।

त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी- तीन वटै दलहरूले मधेशी दलहरूलाई कम आँक्नु तथा उनीहरूलाई फुटाउने रणनीतिमा काम गर्नुलाई अर्को कारकका रूपमा उनले प्रस्तुत गरे।

"यी तीन वटै दलहरूको मधेशलाई हेर्ने दृष्टिकोण उस्तै छ। त्यसैले मधेशी दलहरूले जब मधेशको मुद्दा उठाउँछन् तब जनताको साथ पाउँछन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा

चन्द्र किशोरले थप प्रस्ट्याए,"जब मधेशी दल सत्ताको राजनीतिमा जान्छन् त्यहाँ त राज्यको बनावट २०४६ सालदेखि नै उस्तै छ। प्रहरी, प्रशासनदेखि अख्तियारमा कांग्रेस र एमालेका मान्छे छन्। त्यस्तो परिस्थितिमा कोही किन मधेशी दलको ओत लाग्छन्?"

सडक सङ्घर्ष र "संरक्षणवादी राजनीतिमा" प्रतिस्पर्धा गर्न नसक्नु तथा मधेशको मुद्दामा प्रस्ट नहुनुले पनि मधेशी दलहरूलाई हार दिलाएको उनले बताए।

यद्यपि, नयाँ आशासहित उदाएका सीके राउत स्वयं पनि मधेशको बारेमा स्पष्ट नभएको चन्द्र किशोरको विश्लेषण छ।

सीकेलाई कति विश्वास गर्ने?

सीके राउत नेतृत्वको जनमत पार्टीले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता एवं किसानका समस्यालाई मूल मुद्दा बनाएको छ।

यी मुद्दा सम्बन्धी समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचनमा होमिए पनि राउतको मधेशबारे स्पष्ट धारणा सार्वजनिक नभएको चन्द्र किशोर बताउँछन्।

सीके राउत

तस्बिर स्रोत, CK RAUT/FB

"संसदीय राजनीतिमा भर्खर आएकाले उनलाई शङ्काको लाभ दिनु पर्छ। तर यो पनि बुझ्नु पर्छ कि उनी नेपालको वर्चस्वशाली शक्तिको गोल चक्करमा फसिसकेको मान्छे हुन्। उनको मधेशको बारेमा स्पष्ट कुरा आएको छैन," उनले भने।

कुनै समय स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएका विवादास्पद नेता राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गरेर मूलधारको राजनीतिमा आएका हुन्।

तर तत्काल उनीबारे धारणा बनाउनुको साटो बद्लिएको स्थितिमा उनले उपेन्द्र यादव वा महन्थ ठाकुरलगायतले नउठाएका कस्ता मुद्दालाई स्थान दिन्छन् भन्ने कुरामा जोड दिनु पर्ने चन्द्र किशोरको विचार छ।

उनी भन्छन्,"अहिले उनले उपेन्द्र यादवप्रतिको असन्तुष्टिको मत पाएका हुन्।"

सेवा प्रवाहमा जनमतको जोड

हाल देशमा आवश्यक व्यवस्थाहरू आएकाले आफ्नो मधेशबारे धारणाभन्दा बढी महत्त्व आम मानिसले पाउनु पर्ने सेवामा ध्यान दिनु पर्ने सीके राउतको भनाइ छ।

"देशमा गणतन्त्रदेखि लोकतन्त्र सङ्घीय व्यवस्था आयो। प्रदेश सरकार पनि बनिसकेको छ। त्यसैले हामी सेवा प्रवाहमा केन्द्रित रहेका छौँ। जनताको आवश्यकताको कुरा अन्य राजनीतिक दलहरूले उठाइदिएका छैनन्," उनले भने।

सुशासन र स्वायत्तताको मुद्दालाई पनि प्राथमिकताका साथ उठाउँदै आएको जनमत दलले भ्रस्टाचार, ढिलासुस्ती र कर्मचारीतन्त्रको अन्त्य गर्ने बताउँदै आएको छ।

राजनीतिक दलको संवैधानिक दायरामा रहेर काम गर्दा "बहुमतको सरकार बन्छ कि बन्दैन" भन्ने सन्देह र पुराना दलहरूले गर्ने अवरोध आफ्ना चुनौती बन्न सक्ने सीके राउतको ठहर छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘प्रधानमन्त्रीमा मेरो दाबी कांग्रेसका प्रत्येक सांसदको परीक्षा हो’