नेपाल निर्वाचन: अधिकांश पार्टी प्रमुखको अग्रता, उपेन्द्र र महन्थ पछि परे

शीर्ष नेताहरू

तस्बिर स्रोत, Getty Images/RSS/FB

राजनीतिक पार्टीको नेतृत्व तहमा रहेका अधिकांश नेताको संसदीय यात्रा सुरक्षित रहन सक्ने प्रारम्भिक मतपरिणामले सङ्केत गरेको छ।

तर केही पार्टी प्रमुख र शीर्ष नेताहरूको संसदीय यात्रामा भने विराम लाग्न सक्ने चुनावी रुझान देखिन्छ।

हामीले यो सामग्रीमा शीर्ष नेताहरूको चुनावी अवस्थाबारे समेटेका छौँ।

यो फलोरिश कम्पोनेन्ट लोड हुन असफल भएको छ, कृपया पछि फेरि जाँच गर्नुहोस्

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराबाट निर्वाचित भएका छन्।

उनले २५,५३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३,०४२ मत प्राप्त गरे।

देउवाको क्षेत्रमा नेकपा एमालेले उम्मेदवारी दिएको थिएन। एमालेले समर्थन गरेको नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७,५३५ मत ल्याए।

देउवालाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित सत्ता गठबन्धनका दलहरूले सहयोग गरेका थिए।

पाँचौँ पटक प्रधानमन्त्री भएका देउवा यो सहित छैटौँ पटक सांसद चुनिएका हुन्।

ओलीलाई दोरको अग्रता

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो अग्रता कायम गरेका छन्।

ओली नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा झन्डै दोबर मतले अगाडि छन्। अधिकारी सत्ता गठबन्धनका उम्मेदवार हुन् भने ओलीले पनि यो क्षेत्रमा राप्रपासँग तालमेल गरेका थिए।

ओली

तस्बिर स्रोत, RSS

दुई पटक प्रधानमन्त्री भइसकेका ओली यो पटक निर्वाचित भए छैटौँ पटक सांसद बन्नेछन्।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्षपकमल दाहाल प्रचण्डले पनि फराकिलो मत अन्तर सहित अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटी भन्दा १० हजार मतअन्तरले र नेकपा एमालेका उम्मेदवार अब्दुस मिया भन्दा ११ हजार मतअन्तरले अगाडि छन्।

दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डको यो चौथो चुनावी प्रतिस्पर्धा हो। यसअघिका तीन निर्वाचनमा उनी काठमाण्डू, सिराहा र चितवनबाट निर्वाचित भएका थिए।

रवि लामिछाने दोर मतले अघि

समानुपातिक तर्फ तेस्रो बढी मत ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन २ मा अग्रता बढाउँदै लगेका छन्।

सुरुवाती मतगणनामा केही समय पछि परे पनि लामिछानेले आफ्ना प्रतिस्पर्धी भन्दा दोबर भन्दा बढीको मत अन्तरले अग्रता कायम गरेका छन्।

सञ्चारकर्म छोडेर असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका लामिछाने पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका हुन्।

रवि लामिछाने

तस्बिर स्रोत, Getty Images

राष्ट्रिय स्वतन्त्र पार्टी पछि धेरै मत पाइरहेको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी हो।

यो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित्ने निश्चित देखिएको छ। यो समाचार तयार पार्दासम्म लिङ्देन प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौलाभन्दा करिब तीन हजार मतले अघि छन्।

तर यही दलका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने काठमाण्डू १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग १२५ मतले पराजित भए।

अघिल्लो संसद्को चौथो ठूलो शक्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ मा निरन्तर अग्रता कायम गरेका छन्।

पूर्व प्रधानमन्त्री नेपाल प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ता भन्दा ४ हजार मतले अगाडि छन्।

यही पार्टीका सम्मानित नेता झलनाथ खनाल भने लामो समय अपराजित रहेको गृह जिल्ला इलाममा प्रारम्भिक मतपरिणाममा पछाडि छन्।

इलाम १ मा खनाल भन्दा नेकपा एमालेका महेश बस्नेत १५०० मतले अग्रता लिइरहेका छन्।

उपेन्द्र र महन्थ पछि परे

यसअघिको संसदमा पाँचौँ ठूलो दलको रूपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग निकै पछि परेका छन्।

यो समाचार तयार पार्दासम्म राउत प्रतिस्पर्धी यादव भन्दा दोबर मतले अघि छन्।

यादवले विसं २०६४ यता निरन्तर संसदीय निर्वाचन जितेका छन् भने राउत पहिलो पटक संसदीय चुनाव सामना गरेका हुन्।

मधेसको दोस्रो ठूलो प्रभावशाली शक्तिका रूपमा रहेको लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर पनि प्रारम्भिक मतपरिणाममा पछि छन्।

महोत्तरी ३ मा महन्थ भन्दा स्वतन्त्र उम्मेदवार राम आधार कापर १३०० बढी मतले अघि छन्। यो क्षेत्रमा धेरै मतगणना हुन बाँकी छ।

Nepal Election Map

सत्ता गठबन्धनकै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भने अग्रता कायम राखेका छन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी बागलुङ १ मा एमालेका सूर्य प्रसाद पाठक भन्दा करिब २ हजार मतले अगाडि छन्।

यही पार्टीबाट यसअघि सांसद बनेकी दुर्गा पौडेल भने ठूलो मतअन्तरले प्युठानमा पछि परेकी छिन्।

नेपाल मजदुर किसान पार्टीबाट यसअघि पनि संसद्मा एक्लो प्रतिनिधित्व गरेका प्रेम सुवाल भक्तपुर १ मा सात हजार बढी मतअन्तरले अगाडी छन्। यो पार्टी अगाडी रहेको यो एक मात्र निर्वाचन क्षेत्र हो।

नागरिक उन्मुक्ति पार्टीकी प्रमुख रन्जिता श्रेष्ठ पनि कैलाली १मा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरी भन्दा तीन हाजार मतअन्तरले अगाडी छिन्।