यूके: लिज ट्रसपछि अब ब्रिटेनको प्रधानमन्त्री को बन्ला? कसरी हुन्छ निर्वाचन? बोरिस जोनसन फर्किने सम्भावना कति?

पद सम्हालेको ४५ दिनमै लिज ट्रसले राजीनामा दिएपछि यतिखेर यूकेले एक वर्षभित्रै तेस्रो प्रधानमन्त्री खोजिरहेको छ। 

छ वर्षमा कन्जर्भेटिभ दलका पाँचौँ नेता ब्रिटेनमा सबैभन्दा कम समय पद सम्हालेकी लिज ट्रसको उत्तराधिकारी बन्नेछन्।

अर्को साताको अन्त्यसम्ममा नयाँ नेता छान्ने प्रक्रिया सकिने अपेक्षा गरिएको छ। 

यहाँ केही सम्भावित उम्मेदवारबारे चर्चा गरिएको छ। 

ऋषि सुनक

पूर्वअर्थमन्त्री सुनक यसअघि गत महिना भएको कन्जर्भेटिभ नेतृत्व छान्ने निर्वाचनमा दोस्रो भएका थिए। 

चुनावी प्रचारप्रसारका क्रममा उनले आफ्नी प्रतिस्पर्धीको कर योजनाहरूले यूकेको अर्थतन्त्र बिगार्ने तर्क गरेका थिए। तर पार्टी सदस्यहरूलाई आश्वस्त पार्न उनी विफल भएका थिए। 

आफू प्रधानमन्त्री बन्नका लागि योग्य व्यक्ति भएको पुष्टि गर्ने प्रयासमा उनले लिज ट्रसभन्दा २१,००० मत कम पाए। 

सुनकका मातापिता पूर्वी अफ्रिकाबाट यूके प्रवेश गरेका भारतीय मूलका हुन्। 

साउथम्टनमा जन्मिएका उनले अक्सफर्ड र स्ट्यान्डफर्ड यूनिभर्सिटीमा अध्ययन गरेका छन्। 

सन् २०१५ मा सांसद बन्दा वेस्टमिन्स्टरबाहिर थोरै व्यक्तिले मात्र उनलाई चिनेका थिए। तर उनी फेब्रुअरी २०२० मा अर्थमन्त्री नियुक्त भए।

उनले तत्कालै कोरोनाभाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्नुपर्‍यो। 

लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा उनले ठूलो रकम खर्च गर्नुपर्‍यो। त्यसले उनको लोकप्रियता बढायो। 

यद्यपि आफ्नी पत्नीसँग सम्बन्धित करको विवादले उनको प्रतिष्ठामा ह्रास ल्यायो। त्यसको केही समयमा लकडाउनका नियम उल्लङ्घनन गरेकोमा तोडेकामा उनले जरिबाना समेत तिर्नुपर्‍यो। 

पेनी मोर्डन्ट

यसअघिको प्रतिस्पर्धामा सहभागी हुँदा पेनी मोर्डन्टले सहकर्मी सांसदहरूबाट बलियो साथ पाएकी थिइन्। तर उनी अन्तिम दुईमा पर्न भने सकिनन्। 

लिज ट्रसलाई साथ दिएपछि उनी हाउस अफ कमन्समा नेत्री र प्रिभी काउन्सिलमा लर्ड प्रेसिडेन्ट नियुक्त भइन्। 

त्यसको अर्थ उनले नयाँ राजाको राज्यारोहण परिषद्को अध्यक्षता गर्ने अवसर पाउनु हो। 

सन् २०१९ मा मोर्डन्टले यूकेमा प्रथम महिला रक्षामन्त्री बनेकी थिइन्।

कुनै बेला जलसेनामा जगेडा सैनिक रहेकी र सशस्त्र फौज हेर्ने मन्त्रालयको नेतृत्व गरिसकेकी उनका लागि त्यो एउटा स्वाभाविक भूमिका पनि थियो।

डेभिड क्यामरनको सरकारमा उनी सशस्त्र फौजसम्बन्धी मन्त्री बनेकी थिइन्।

बेन वालेस

पार्टीभित्र धेरै शीर्ष टोरी नेताहरू वैचारिक रूपमा विभाजित भइरहँदा रक्षामन्त्री वाले सहकर्मी सांसदहरूका दृष्टिमा विश्वासयोग्य व्यक्तिका रूपमा पर्छन्।

तर उनी अहिलेसम्म कन्जर्भेटिभ नेतृत्वको निर्वाचनमा उठेका छैनन्। 

युक्रेनमा भएको रुसी आक्रमणपछि उनीप्रति धेरैको चासो बढ्दै गएको छ।

यूकेले सुरुमै किएभलाई अस्त्र र तालिम दिएर सहयोग गर्ने निर्णय गरेको थियो।

ब्रेक्जिटविरुद्ध उनको विमति थियो। तर सन् २०१७ मा नेतृत्वमा पुग्ने बोरिस जोनसनको असफल अभियानको नेतृत्व वालेसले नै गरेका थिए। पछि सन् २०१९ मा वालेसलाई मन्त्री बनाइयो।

राजनीतिमा आउनुअघि उनले जर्मनी, साइप्रस, बेलिज र नोर्दर्न आयरल्यान्डमा सैनिकका रूपमा काम गरेका थिए। 

केमी बडेनोच

नेतृत्वको यसअघिको प्रतिस्पर्धामा बडेनोच आश्चर्यजनक रूपले आएकी प्रतिस्पर्धी थिइन्। उनले नजिते पनि त्यस प्रतिस्पर्धाले उनको व्यक्तित्व उकास्नमा निकै साथ दियो। 

दक्षिणी लन्डनको विम्बल्डनमा जन्मिएकी उनी अमेरिका र नाइजिरियामा हुर्किएकी हुन्। उनकी आमा मनोविज्ञानकी प्राध्यापक थिइन्।

संसद् प्रवेश गर्नुअघि उनी एक निजी ब्याङ्क कुट्स र द स्पेक्टेटर म्यागजीनमा काम गर्थिन्। 

सरकारमा अहिलेसम्म उनको सबैभन्दा वरिष्ठ भूमिका भनेको लिज ट्रसका लागि अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मन्त्रालयको नेतृत्व गर्नु थियो। 

सुएला ब्राभर्मन

पूर्वगृहमन्त्री ब्राभर्मनको राजीनामाले लिज ट्रसमाथि दबाव सिर्जना गरेको थियो र त्यसको २४ घण्टाभित्रै उनले राजीनामा दिएको घोषणा गरिन्। 

उनको बहिर्गमन तथ्याङ्क दुरुपयोगसँग सम्बन्धित रहेको स्पष्ट रूपमा देखिन्थ्यो। तर उनको क्रुद्ध राजीनामापत्रले आप्रवासनका मामिलामा उनको असहमतिलाई देखाएको थियो। 

उनले सामाजिक मुद्दाहरूमा पार्टीका दक्षिणपन्थी नेताहरूको सहयोग खोज्दै गर्दै आफ्नो "सपना" आप्रवासीहरूलाई रुवान्डा पठाउने रहेको बताइन्।

बोरिस जोनसनको सरकारमा महान्यायाधिवक्ता र त्यसअघि वकिल रहेकी उनी ब्रेक्जिट समर्थक हुन्। 

उनी पछिल्लो नेतृत्व प्रतिस्पर्धामा समेत सहभागी भए पनि दोस्रो चरणबाटै बाहिरिएकी थिइन्। 

उनका मातापिता सन् १९६० को दशकमा केन्या र मरिशसबाट यूके प्रवेश गरेका थिए।

दुवै जनाले स्थानीय राजनीति गरेका छन्। उनकी आमा १६ वर्षसम्म काउन्सिलर भइन्। 

उत्तरपश्चिम लन्डनमा जन्मिएकी सुएला ब्राभर्मन बौद्धमार्गी हुन्। 

के बोरिस जोनसनको पुनरागमन होला?

नयाँ नेता चयनका लागि एक साता मात्र बाँकी रहँदा धेरै प्रतिस्पर्धीहरू परिचित अनुहार हुन सक्छन्। त्यसमा केही महिनाअघि मात्र प्रधानमन्त्री पदबाट बाहिरिएका बोरिसजोन पनि पर्न सक्छन्।

मन्त्री तथा सांसदहरूको व्यापक विद्रोहपछि गत जुलाईमा जोनसन पदत्याग गर्न बाध्य भएका थिए। 

प्रधानमन्त्री निवासमा लकडाउनका बेला भएका भोज र अन्य विवादहरूपछि त्यस्तो अवस्था सिर्जना भएको थियो। 

यद्यपि अझै पार्टीका साधारण सदस्यहरूको पङ्क्ति र उनका साझेदारहरू दुवै संसद्‌मा छन्। 

लामो समयदेखिकी समर्थक नदिनी डोरिसले जोनसनले सन् २०१९ को चुनावमा ब्रिटिश जनताबाट कार्यादेश पाएको भन्दै उनी फर्किनुपर्ने मत राखेकी छन्। 

त्यसैले टेन डाउनिङ स्ट्रीटमा बोरिस जोनसनको प्रधानमन्त्रीका रूपमा पुनरागमन पनि सम्भव छ।

नयाँ नेता कसरी चयन गरिन्छ?

नयाँ नेता प्रधानमन्त्री बन्ने भए पनि उनीहरूलाई सर्वसाधारण जनताले मतदान गर्नेछैनन्।

सम्भावित उम्मेदवार हुनका लागि पनि बेग्लै प्रक्रिया छ।

मतपत्रमा नाम पर्नका लागि पहिले उनीहरूले कम्तीमा १०० जना टोरी सांसदहरूको समर्थन जुटाउनुपर्छ। 

कुल ३५७ जना टोरी सांसद भएकाले तीन जनाभन्दा धेरै उम्मेदवार बन्न सक्नेछैनन्। 

व्यावहारिक रूपमा दुई उम्मेदवार बन्न सक्छन्। एक मात्र उम्मेदवार भएमा मतदानबिनै पार्टी नेताको चयन हुन सक्छ। 

सोमवार यदि एक जना मात्रले १०० जना सांसद्को सीमा पुर्‍याउन सके भने उनी नयाँ नेता चयन हुनुका साथै अर्को तहको प्रतिस्पर्धामा नगईकन प्रधानमन्त्री बन्नेछन्। 

एकभन्दा धेरै उम्मेदवार भएमा त्यहाँ कन्जर्भेटिभ सांसद्हरूबीच मतदान हुनेछ। 

अन्तिममा यदि दुई जना मात्र उम्मेदवार भएमा अर्थात् मतदानको सङ्केतका आधारमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि पार्टी सदस्यहरूबीच विजेता चयनका लागि अनलाइन मतदान हुनेछ। 

अक्टोबर २८ का दिन शुक्रवार विजेता घोषणा हुनेछ।