यूके अर्थतन्त्र: पाउन्डको मूल्य अमेरिकी डलरको तुलनामा हालसम्मकै कमजोर

यूकेको ५० वर्ष यताकै कर कटौती भएको प्रतिक्रिया स्वरूप ब्रिटिश पाउन्ड अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर बनेको छ।

एशिया व्यापारमा बिहान सबेरै स्टर्लिङ पाउन्ड एक बराबर अमेरिकी डलर १.०३ मा झरेको थियो।

अर्थमन्त्री क्वाजी क्वार्टेङले शुक्रवार घोषणा गरेको ४५ अर्ब पाउन्ड प्याकेज साथसाथै थप कर कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसले सरकारको ऋण थप बढाउने ठानिएको छ।

डलर बलियो बन्दै गएका कारण पनि पाउन्ड दबावमा परेको छ। मर्निङ एसिया ट्रेडमा युरो पनि २० वर्ष यताकै कमजोर बनेको छ। हिउँद याम नजिकिँदै जाँदा लगानीकर्ताहरू युक्रेन युद्ध र आर्थिक मन्दीको खतराप्रति चिन्तित बनेका छन्।

यदि पाउन्ड यस्तै कमजोर रहिरहे डलरमा किनिने तेल, ग्यास लगायतका वस्तुहरू महँगो पर्नेछन्।

अमेरिकाबाट यूके आउने अरू सामान पनि महँगो पर्नेछ। अमेरिका घुम्न जाने ब्रिटिश पर्यटकहरू पनि मारमा पर्नेछन्।

कर कटौती र सरकारले लिने उधारो बढ्दा मुद्रास्फीति पनि बढाउने भन्दै चिन्ता व्यक्त भएको छ। त्यसले ब्याङ्क अफ इङ्गल्यान्डलाई ब्याजदर बढाउन दबाव पर्नेछ।

त्यसले दशौँ लाख घरको मासिक किस्ता पनि बढाइदिने छ।

गत हप्ता ब्याङ्कले ब्याजदर आधा प्रतिशतले बढाएर २.२५ प्रतिशत पुर्‍याएको थियो। चालीस वर्ष यताकै ९.९ % मुद्रास्फीति दरलाई घटाउनका लागि ब्याजदर बढाउनुपरेको थियो।

केही अर्थशास्त्रीले ब्याङ्कले ब्याज दर पुन: बढाउन सक्ने अनुमान गरेका छन्।

शुक्रवार अर्थमन्त्री क्वाजी क्वारटेङले आर्थिक वृद्धि बढाउन भन्दै अगाडि सारेको "मिनि बजेट"मा यूकेको करमा ठूलो फेरबदल गरेका थिए।

उनकै शब्दमा अर्थतन्त्रको "नयाँ युग" भन्दै आय कर र घर खरिदमा लाग्ने कर उनले घटाएका थिए। र कर्पोरेशन कर बढाउने भन्ने योजना पनि रोकिएको थियो।

क्वार्टेङले यूके अर्थतन्त्र चलायमान बनाउन दिशा नै परिवर्तन गर्नुपर्ने बताएका थिए।

तर लेबर पार्टीले त्यसले जीवन निर्वाह गर्न लागिरहेको खर्च सङ्कटलाई समाधान नगर्ने भन्दै अर्थमन्त्रीको योजनाले धनी मानिसलाई अझ बढी सुविधा दिएको बताएको थियो।

पूर्व छाया अर्थमन्त्री जोन म्याकडनलले बीबीसीको टुडे कार्यक्रममा भने, "अन्तर्राष्ट्रिय रूपमा मानिसहरूले यो सरकारमाथिको विश्वास गुमाएको छ। मिनि बजेट सबैका लागि धक्काको रूपमा आएको छ।"

पाउन्ड किन कमजोर बन्यो?

विश्वभरिका लगानीकर्ताले हरेक दिन ठूलो मात्रामा विदेशी मुद्राको प्रयोग गर्छन्।

लगानीकर्ताले साटफेर गर्ने दरले पनि ब्याङ्क, हुलाक र विदेशी मुद्रा विनिमय गर्ने दर निश्चित गर्छ।

धेरै मानिसहरूले विदेश भ्रमणमा जानु अघि पैसा साट्ने अवस्था नआएसम्म विनिमय दरबारे खासै सोच्दैनन्। पाउन्ड कमजोर भयो भने विदेश जाँदा पाउन्ड साट्दा स्थानीय मुद्रा थोरै मात्र आउँछ जसले भ्रमण महँगो पर्न सक्छ।

पाउन्ड घट्दा घरको खर्च पनि प्रभावित हुन्छ।

यदि पाउन्ड कमजोर भयो भने विदेशबाट आयात हुने वस्तुको मूल्य बढ्छ।

उदाहरणका लागि तेलको मूल्य डलरमा तोकिएको हुन्छ। त्यसैले तपाईँको कारमा भरिने पेट्रोल महँगो पर्न जान्छ। ग्यास पनि डलरमा भाउ गरिन्छ।

विदेशमा बन्ने प्रविधिसम्बन्धी सामानहरू जस्तो कि आईफोन यूकेका बजारमा महँगो पर्न जान्छ। यूकेमै बन्ने वस्तु तर तिनका पार्टहरु विदेशबाट ल्याइन्छ भने त्यो पनि महँगो पर्न जान्छ।

बीबीसीसँग आइतवार बोल्दै क्वारटेङले उनी अझ पनि कर घटाउन चाहेको बताए।

वेल्थी नामको लगानीकर्ता संस्थाका सह संस्थापक पीटर एस्कोले भने, "सबै मुद्रा अमेरिकी डलरमा साटिने गरिएका छन् त्यसैले अमेरिकी डलर बलियो हुनुको एक प्रमुख कारण त्यो पनि हो।"

"नयाँ सरकारले कर कटौती गर्ने भन्ने समाचारले पनि पाउन्डको भाउ घटेको हो। "

केही लगानीकर्ता पाउन्ड थप कमजोर हुनबाट रोक्न ब्याङ्क अफ इङ्गल्यान्डले केही आपत्कालीन कदम चाल्नुपर्ने ठान्छन्।