तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटेन: नयाँ चान्सलरले किन उल्ट्याइदिए प्रधानमन्त्रीका सबैजसो आर्थिक नीतिहरू?
ब्रिटेनका नवनियुक्त चान्सलर जेरेमी हन्टले हप्तौँ लामो वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयास स्वरूप प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेको सबैजस्तो प्रमुख र महत्त्वपूर्ण आर्थिक नीतिहरू उल्टाइदिएका छन्।
उनले आफ्ना योजनाहरू द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरू आवश्यक रहेको बताए।
करमा व्यापक कटौती गर्नेसम्बन्धी सरकारको प्रस्तावले पाउन्डको मूल्यमा गिरावट आएको र सरकारको उधारोको लागत वृद्धि भएको थियो।
यस्ता घटनाक्रमले कार्यभार सम्हालेको छ साता नबित्दै प्रधानमन्त्रीको विश्वसनीयतामाथि गम्भीर धक्का पुर्याएको छ।
संवाददाताहरूका अनुसार सत्तारूढ कन्जरभेटिभ पार्टीका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो पद छोड्ने ठानेका छन् तर कहिले भन्ने यकिन छैन।
हन्टको कदमपछि बजारले भने सकारात्मक प्रतिक्रिया देखाएको छ।
उनले प्रधानमन्त्रीले जारी गरेको नीतिहरू खारेज गरेसँगै पाउन्डको मूल्यमा वृद्धि भएको छ र सरकारको उधारोको लागतमा कमी आएको छ।
उनको घोषणाको प्रभाव युरोपेली अर्थतन्त्रमा पनि देखिएको छ।
उक्त वक्तव्य लगत्तै युरोपेली सेअर, बोन्ड र प्रमुख मुद्राहरू पनि बलियो स्थितिमा देखिएका छन्।
आफ्नो पहिलो रोजाइको चान्सलर र निकट मित्रलाई जेरेमी हन्टसँग विस्थापन गर्न बाध्य पारिएकी लिज ट्रसले ट्विट गर्दै बिग्रँदो आर्थिक अवस्थाका कारण पैदा भएको चुनौतीहरूलाई आफ्नो सरकारले सम्बोधन गर्ने बताइन्।
प्रतिपक्षी लेबर पार्टीले भने चान्सलरको विज्ञप्तिले सत्तारुढ कन्जरभेटिभ पार्टीले गराएको आर्थिक क्षति उजागर गरेको बताएको छ।
कस्ता परिवर्तनहरू भएका छन्?
अब आयकरको आधारभूत दर १९ पेन्समा घटाउनुको साटो अनिश्चितकालको लागि २० पेन्स कायम गरिएको छ। घरेलु ऊर्जाको मूल्य अर्को वर्षको अप्रिलसम्म नबढ्ने गरी सुनिश्चित गरिएको छ। त्यसपश्चात् मात्र ऊर्जाको मूल्यको समीक्षा हुने जनाइएको छ।
तर, केही दस्ताबेजहरूमा लाग्ने स्ट्याम्प ड्युटी भनिने कर र राष्ट्रिय बिमामा गरिएको कटौती भने यथावत रहने छ।
प्रधानमन्त्री लिज ट्रसले अक्टोबर ३१ बाट लागू हुने गरी ल्याइने आर्थिक योजनालाई इङ्गित गर्दै ट्विटमा भनिन्- यस घोषणाले "आर्थिक विकासको नयाँ मार्ग कोर्ने छ।"
लेबर पार्टीका सांसदहरूले सोमवार नै संसद्मा महत्त्वपूर्ण प्रश्नहरू राख्ने तय गरिएको छ। त्यसपछि हन्टले सांसदहरूलाई सम्बोधन गर्ने छन्।
केही सत्तारुढ सांसदहरूले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि ट्रसले प्रधानमन्त्रीको रूपमा आफ्नो पद सुरक्षित राख्ने प्रयास स्वरूप मन्त्रिपरिषद्का सदस्यहरूसँग भेट गर्दै आएकी छिन्।