युक्रेन युद्ध: गोलाबारीका कारण 'तनावग्रस्त' खेअरसन छाड्दै रुसीहरू

रुसी टेलिभिजनले मानिसहरूले सरह छाड्दै गरेको देखाएका छन्

तस्बिर स्रोत, ROSSIYA 24

तस्बिरको क्याप्शन, रुसी टेलिभिजनले मानिसहरूले सरह छाड्दै गरेको देखाएका छन्

युक्रेनी प्रत्याक्रमणअघि युक्रेनको दक्षिणी खेअरसन क्षेत्रबाट हजारौँ नागरिक र रुसले नियुक्त गरेका अधिकारीहरूलाई त्यहाँबाट अन्यत्र सारिएको उक्त क्षेत्रमा रुसद्वारा नियुक्त गरिएका स्थानीय नेताले बताएका छन्।

भ्लादिमिर साल्डोका अनुसार त्यस क्षेत्रमा रुसले नियुक्त गरेका विभाग र मन्त्रालयहरूलाई नीपर नदीपारि लगिनेछ।

उनले त्यहाँबाट लगभग ५० देखि ६० हजार नागरिकहरूलाई "सङ्गठित र क्रमिक विस्थापन" गरिने बताए।

युक्रेनले चाहिँ त्यहाँका बासिन्दाहरूलाई रुसको कदमको बेवास्ता गर्न आह्वान गरेको छ।

खेअरसनको क्षेत्रीय प्रशासनका प्रमुखले रुसले सर्वसाधारणलाई बन्धक बनाएर मानव ढालको रूपमा प्रयोग गर्न चाहेको बताए।

कुनै पनि कब्जा गरेको क्षेत्रबाट कब्जा गर्ने शक्तिले त्यहाँका नागरिकहरूलाई स्थानान्तरण वा निर्वासन गराए त्यसलाई युद्ध अपराध मानिन्छ।

पुटिनको नयाँ आदेश

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गाभेको भनेर दाबी गरेका युक्रेनका चार वटा क्षेत्रमा मार्सल कानुन लागु गर्ने एउटा आदेशमा हस्ताक्षर गरेको बताएका छन्।

रुसले सन् २०१४ मै गाभेको युक्रेनको क्राइमियालगायत रुसकै केही भागमा नयाँ प्रतिबन्धहरू पनि घोषणा गरेको छ।

पुटिन

तस्बिर स्रोत, Reuters

रुसको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा राष्ट्रपति पुटिनले त्यसबारे घोषणा गरेका हुन्।

उक्त घोषणाको अर्थ ती क्षेत्रहरूमा मानिसहरूले छाड्न वा प्रवेश गर्न अनुमति लिनुपर्नेछ।

पुटिनले घोषणा गरेका ती कदमहरूलाई संसद्को माथिल्लो सदनले पारित गर्नुपर्नेछ।

राष्ट्रपति पुटिनको भाषण सुनेका बीबीसीका मस्को संवाददाताका अनुसार पुटिनले रुसभरिका क्षेत्रीय गभर्नरहरूलाई थप शक्ति दिइने र उनीहरूले महत्त्वपूर्ण केन्द्रहरूको सुरक्षा प्रत्याभूतिका लागि सामाजिक अमनचयन कायम गर्न केन्द्रहरू खोल्न सक्ने बताएका छन्।

स्थानीयवासीलाई सन्देश

मंगलवार राति खेअरसन बासिन्दाहरूले युक्रेनी सेनाद्वारा आवासीय क्षेत्रहरूमा हुने गोलाबारीबाट बच्न तुरुन्तै आफ्नो स्थान खाली गर्नु भन्ने सन्देशहरू प्राप्त गर्न थालेका थिए।

रुस युक्रेन

तस्बिर स्रोत, Getty Images

ती सन्देशहरूमा नीपर नदी पारि बुधवार बिहान ७ बजेदेखि यातायात सुविधा उपलब्ध हुने उल्लेख गरिएको थियो।

उक्त प्रचारका कारण त्यस क्षेत्रका मानिसहरू आतङ्कित बनेको एकजना व्यक्तिले बीबीसीलाई बताए।

रुसी टेलिभिजनको भिडिओ फुटेजमा बुधवार नीपर नदीको पश्चिमी किनारमा धेरै मानिसहरू भेला भएको देखिन्छ।

त्यहाँ मानिसहरू डुङ्गा चढ्नका लागि लाइन लागेको देखिएको छ।

तर युक्रेनी अधिकारीहरूले वास्तवमै ठूलो सङ्ख्यामा मानिसहरूलाई स्थानान्तरण गरिँदैछ वा नदीको छेउमा भेला भएको भिडको तस्बिर प्रदर्शन मात्र गरिएको हो भनेर प्रश्न उठाएका छन्।

रुसले के भनेको थियो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभमा रुसी ट्याङ्कमाथि आक्रमण

यसअघि युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था "कठिन" रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका थिए।

जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताएका थिए।

उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका थिए।

"रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्नेछ," उनले भने।

ठूला समस्याहरूबारे उनको दुर्लभ स्वीकारोक्तिलाई एकजना शीर्ष स्थानीय अधिकारीले पुष्टि गरेका थिए।

रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई "निकट भविष्यमा" युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

"मेरा शब्दहरूलाई गम्भीरतापूर्वक लिनुहोस् - म सकेसम्म चाँडो यो सहर खाली गर्ने बारे कुरा गर्दै छु," उनले टेलिग्राम नामक सन्देश आदानप्रदान गर्ने सञ्जालमार्फत् भनेका छन्। उनले नीपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए।

उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरे।

फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो।

युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ।

जनरल सर्गेई सुरोभिकिन

तस्बिर स्रोत, EPA

उनीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै नीपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन्।

"समग्रमा विशेष सैन्य कारबाहीको क्षेत्रमा स्थिति तनावपूर्ण छ भन्न सकिन्छ," जनरल सुरोभिकिनले भने।

खेअरसन रुसीहरूले उनीहरूको आक्रमणमा कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो।

क्रेम्लिनले अहिले खेअरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू रुसको अंश भएको दाबी गर्छ।

उक्त दाबी अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ।

पूर्वाधारमा क्षति

कठोर आक्रमण पद्धतिका लागि परिचित जनरल सुरोभिकिनले युक्रेनी क्षेप्यास्त्रको सङ्गठित आक्रमणले खेअरसनस्थित आन्टोनिभ्स्की पुल र काखोभा जलविद्युतको बाँधमा क्षति पुगेको र यी दुई महत्त्वपूर्ण स्थानहरूमा आवागमन अवरुद्ध भएको बताए।

जसका कारण खाद्यान्न वितरण, पानी र विद्युतजस्ता अत्यावश्यक सेवाहरूको आपूर्तिमा समस्या सिर्जना भएको उनले जानकारी दिए।

बीबीसीले भने खेअरसनमा जनरलले व्याख्या गरेको कठिनाइ पुष्टि गर्न सकेको छैन।

उनका अनुसार युक्रेनीहरूले पूर्वमा कुपियान्स्क र लिमानका क्षेत्रहरूमा र दक्षिणमा माइकोलाइभ-क्रिवी रिह मोर्चामा छरिएर लगातार आक्रमणहरू गरिरहेका थिए।

प्रदर्शनको फाइल तस्बिर

तस्बिर स्रोत, Reuters

जनरल सुरोभिकिन क्रेम्लिनले युक्रेनमा "विशेष सैन्य कारबाही" भन्ने रुस युद्धको नयाँ कमान्डर हुन्।

रुसको युद्धका एक दिग्गज उनलाई जनरल आर्मागेडनको उपनाम दिइएको छ।

उनले सिरियामा धेरै सर्वसाधारणको ज्यान लिने गरी भएका रुसी बमबारीको नेतृत्व गरेका थिए। उनले चेचन्यामा मानवअधिकार उल्लङ्घनको आरोप लागेको सैन्य बलको पनि कमान्ड गरेका छन्।

जनरल सुरोभिकिनले वक्तव्य दिएको दिन किएभ र अन्य युक्रेनी सहरहरूमा थप रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू भए तीमध्ये धेरै युक्रेनको विद्युत् आपूर्ति प्रणाली लक्षित थिए।

हाल किएभका केही स्थानमा न त विद्युत् छ न त पानी नै।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत आठ दिनमा आफ्नो देशका ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किएभ