रुस-युक्रेन युद्ध: युक्रेनी राजधानी किएभमा विहानै रुसी 'आत्मघाती ड्रोन' हमला

किएभ

तस्बिर स्रोत, Reuters

युक्रेनको राजधानी किएभमा भएका शृङ्खलाबद्ध हवाई हमलाका कारण कैयन् आवासीय भवनहरू क्षतिग्रस्त भएको मेयर भिताली क्लित्स्कोले बताएका छन्।

उनले मानिसहरूलाई आश्रयस्थलमा शरण लिन भनेका छन्।

कामिकाजी हमला

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सचिव आन्द्री यर्माकले ती हमलाहरू इरानले दिएका रुसी 'कामिकाजी ड्रोन'को प्रयोग गरेर गरिएका बताएका छन्।

राजधानी किएभको मध्ये भागस्थित शेभ्चेनकिभ्स्की इलाकामा त्यस्ता तीनवटा विस्फोट भए। हरेक विस्फोटन १० मिनेटको फरकमा भएको थियो।

त्यसबाट भएका हताहतीको विवरण आएका छैनन्।

खासगरि द्वितीय विश्वयुद्धका बेला जापानले लडाकू विमानलाई दुश्मनको सैनिक संरचनामा ठोक्काएर गर्ने आत्मघाती हवाई हमला दस्ताका सदस्यलाई कामिकाजी भन्ने गरिन्छ।

लगातार हमला

गतसाता युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार गर्दा १९ जनाको ज्यान गएको थियो।

सोमवार विहान भएका हमलापश्चात उद्धारकर्ताहरू खटाइएको मेयर क्लित्स्कोले बताएका छन्।

शहरमा रहेका बीबीसी सम्वाददाता पल एडम्सका अनुसार स्थानीय समय अनुसार विहानको सात बजे ती विस्फोटनहरू भएका छन्।

यर्माकले चाहिँ टेलिग्राममा लेख्दै ती हमला कामिकाजी ड्रोनको प्रयोग गरेर गरिएको भन्दै युक्रेनलाई सक्दो चाँडो थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन भनेका छन्।

इरानले रुसलाई दिएको भनिएका त्यस्तो ड्रोनहरू आकाशमा घण्टौँ रहन सक्छन्। ती ड्रोन लक्षित निशानामा ठोक्किन जान्छन् र विस्फोट हुन्छन्।

रुसले तिनको प्रयोग यसअघि पनि गरेको युक्रेनले बताएको छ।

गत साता भएका हमलाहरू रुस र क्राइमियाबीचको पुलमा भएको आक्रमणको बदलास्वरूप गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए।

युद्ध सुरु भएयता राजधानी किएभको मध्ये भागमै हमला भएको त्यो पहिलोपटक थियो।

यो साताको सुरुमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनमा तत्काल ठूलो स्तरका थप हमला जरुरी नभएको बताएका थिए।

लक्षित गरिएकामध्ये अधिकांश निशानामा प्रहार गरिएको भन्दै युक्रेन देशलाई नै ध्वस्त पार्ने आफ्नो उद्देश्य नभएको बताएका थिए।