तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्स 'स्पाइडर म्यान': ६० वर्षको उमेरमा बाहिरबाट चढे ४८ तले गगनचुम्बी भवन
फ्रान्समा 'स्पाइडर म्यान' भनेर चिनिने एक व्यक्तिले आफ्नो ६०औँ जन्मदिनको अवसरमा सुरक्षा उपकरणबिनै प्यारिसस्थित एउटा ४८ तले गगनचुम्बी भवन चढेका छन्।
एलाँ रोब्यार नाम गरेका ती व्यक्ति कुनै डोरी वा अङ्कुश प्रयोग नगरी डिफेन्स बिजनस डिस्ट्रिक्टस्यित टोटलएनर्जीज टावर चढेका हुन्।
"म मानिसहरूलाई के सन्देश दिन चाहन्छु भने ६० वर्षको हुनु भनेको केही पनि होइन। तपाईँ अझै पनि खेल्न सक्नुहुन्छ, सक्रिय हुन सक्नुहुन्छ, सानदार कुरा गर्न सक्नुहुन्छ," रोयटर्स समाचारसंस्थासँग कुराकारी गर्दै उनले भने।
उक्त टावरको चुचुरोमा पुगेपछि रोब्यारलाई पक्राउ गरिएको बताइएको छ।
उनले यसअघि पनि धेरै पटक टोटलएनर्जीज टावर चढिसकेका छन्।
यस पटक उनलाई टुप्पोमा पुग्न ६० मिनेट लागेको समाचार अनलाइन डिफेन्स-९२ ले लेखेको छ।
वाचा
"मैले धेरै वर्षअघि आफू ६० वर्ष पुग्दा फेरि त्यो टावर चढ्छु भनेर आफैँसँग वाचा गरेको थिएँ। किनभने फ्रान्समा ६० वर्षको उमेरलाई अवकाश पाउने उमेरको प्रतीक मानिन्छ। मलाई लाग्छ त्यो राम्रो अवसर हो," रोब्यारले उक्त भवन चढिपछि भने।
रोयटर्सका अनुसार उनले आफ्नो आरोहणको उद्देश्य विश्वतापमान वृद्धिबारे जनचेतना जगाउनु पनि रहेको बताएका छन्।
उनी विश्वभरिका अग्ला भवनहरू चढ्ने व्यक्तिका रूपमा चिनिन्छन्।
उनले दुबईस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा पनि त्यसरी नै चढेका थिए।
उनी प्रायः पूर्वसूचना नदिई वा अनुमति नलिईकनै आफ्नो कला देखाउने गर्छन्। त्यसो गर्दा उनी धेरै पटक पक्राउ पनि परेका छन्।
यो पनि हेर्नुहोस्