चीनः शिन्जियाङ्गमा मानवताविरुद्ध अपराध गरिएको हुन सक्ने राष्ट्रसङ्घको आरोप

चीनको शिन्जियाङ्ग क्षेत्रमा भएका मानवअधिकारका गम्भीर उल्लङ्घनका आरोपहरू मानवताविरुद्धका अपराध समेत हुनसक्ने एउटा निकै ढिलो गरि प्रकाशित राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदनले उइगर मुस्लिम समुदायविरुद्ध त्यहाँका बन्दी शिविरहरूमा यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको जनाएको छ।

राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले चीनलाई शिन्जियाङ्गमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ।

चीनको महिनौँ लामो दबावका माझ अनि मिशेल ब्याचलेटको राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यकाल सकिनु केही मिनेट अगाडिमात्र उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो।

अगाडिनै प्रतिवेदन हेरिसकेको बेइजिङ्ले त्यसलाई 'प्रहसन'को संज्ञा दिँदै खारेज गरिदिएको छ।

दश लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई शिन्जियाङ्गमा बन्दी बनाइएका भन्ने विवरणहरूलाई चीनले अस्वीकार गर्दै आएको छ।

आरोप

तर अनुसन्धानकर्ताहरूले चाहिँ उनीहरूले 'मानवताविरुद्धका अपराध' समेत हुने किसिमका यातना भएका 'विश्वसनीय प्रमाण' फेला पारेको उल्लेख गरेका छन्।

उनीहरूले चीनलाई अस्पष्ट खालका राष्ट्रिय सुरक्षा कानुनको आडमा अल्पसङ्ख्यकहरूको अधिकार कुल्चने काम भएको अनि 'जथाभावी बन्दी बनाउने प्रणाली' स्थापित गरेको पनि आरोप लगाएका छन्।

उक्त अध्ययन प्रतिवेदन बनाउन राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले अह्राएको थियो।

त्यसमा बन्दीहरूलाई 'शृङ्खलाबद्ध दुर्व्यवहार' गरिएका र तिनमा 'यौन तथा लैङ्गिक हिंसाका घटना' पनि रहेका उल्लेख गरिएको छ।

राष्ट्रसङ्घले चीनलाई जथाभावी थुनामा राखिएका सबै बन्दीहरूको रिहा गर्न तत्काल कदम चाल्न सुझाव दिएको छ।

साथै बेइजिङ्का कार्यहरू 'मानवताविरुद्ध अपराध सहित अन्तर्राष्ट्रिय अपराध' हुनसक्ने बताएको छ।

चिनियाँ सरकारले कति सङ्ख्यामा मानिसहरूलाई थुनामा राखेको भन्ने बारे राष्ट्रसङ्घले निश्चित हुन नसकिएको बताएको छ।

तर मानवअधिकार समूहहरूले उत्तरपूर्वी चीनको शिन्जियाङ्ग क्षेत्रका शिविरहरूमा दश लाखभन्दा धेरै मानिस थुनामा राखिएको अनुमान गरेका छन्।

शिन्जियाङ्गमा अधिकांश उइगर समुदायका गरि १ करोड २० लाख मुस्लिम छन्।

राष्ट्रसङ्घको प्रतिवेदनका अनुसार त्यहाँ गैर मुस्लिम समुदायका मानिसहरू पनि पीडित भएका हुनसक्छन्।

कतिपय देशहरूले यसअघि नै शिन्जियाङ्गमा चीनका कार्यहरूलाई 'आम नरसंहार' को संज्ञा दिएका छन्।

तर बेइजिङ्ले मानवअधिकार उलंघनका आरोपहरूको खण्डन गर्दै ती शिविर आतङ्कवादविरुद्ध लड्न प्रयोगमा ल्याइएका बताउने गरेको छ।

उसका अनुसार उइगर विद्रोहीहरूले त्यहाँ स्वतन्त्र राज्यका निम्ति हिंसात्मक अभियान चलाउँदै बम विस्फोटन, ध्वंश तथा अशान्ति मच्चाउने षडयन्त्र गरिरहेका छन्।