युक्रेन युद्ध: 'रुस युद्धको उद्देश्य विस्तार गर्न तयार'

    • Author, बेन टोबियास
    • Role, बीबीसी न्यूज

युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा "मात्र" सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्।

पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए।

अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनु पर्ने उनको व्याख्या छ।

यसअघि अमेरिकाले रुसमाथि थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको आरोप लगाएको थियो।

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसी भाषीहरूले नरसंहार भोगेको र उनीहरूको स्वतन्त्रता आवश्यक रहेको झुटो दाबीसहित गत फेब्रुअरीमा रुसले युक्रेनमाथिको आक्रमण सुरु गरेको थियो।

पाँच महिनाको समयावधिमा रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ। यद्यपि, किएभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा रुस सफल भएको छैन। रुसले आफ्नो प्रमुख उद्देश्य डोनबासको मुक्ति भएको दाबी गर्दै आएको छ।

फेब्रुअरीदेखि नै पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसी सेनाहरू विरुद्ध प्रतिरक्षाका निम्ति शक्तिशाली अस्त्रहरू प्रदान गरिरहेका छन्।

त्यस्तो सहयोगले रुसलाई आफ्नो लक्ष्य विस्तार गर्न बाध्य तुल्याएको लाभ्रोभको भनाई छ।

"हामीले [युक्रेनी राष्ट्रपति भोलोदिमिर] जेलेन्स्कीले नियन्त्रणमा राखेको युक्रेनको भूभागमा हाम्रो क्षेत्रलाई प्रत्यक्ष खतरामा पार्ने अस्त्रहरू राख्न दिन सक्दैनौँ," लाभ्रोभले रुसी सञ्चारमाध्यमका प्रख्यात टिप्पणीकार मार्गरिटा सिमोनियनसँगको अन्तर्वार्तामा भने। सिमोनियन प्रसारण संस्था आरटीका प्रधान सम्पादक हुन्।

"अहिले भूगोल फरक छ," उनले दक्षिणी खेरसन र जापोरिज्जिया क्षेत्रहरूलाई रुसको पछिल्लो उद्देश्यको रूपमा प्रस्तुत गर्दै भने। मस्कोको सेनाले यसअघि नै ती दुवै क्षेत्रका भागहरूलाई नियन्त्रणमा लिएका छन्।

लाभ्रोभले विशेष गरी हिमर्स नामक लामो दूरीमा प्रहार गर्ने रकेट प्रणालीलाई जोड दिए। पछिल्लो समय अमेरिकाले उपलब्ध गराएका ती अस्त्रको सहयोगमा युक्रेनले केही सफलता प्राप्त गरेको छ।

विवरणहरूका अनुसार युक्रेनले दुई दिन निरन्तर रुसी सेनाले कब्जा गरेको खेरसनस्थित एउटा महत्त्वपूर्ण रणनीतिक पुलमा हिमर्स प्रहार गरेको छ।

एन्टोनिभ्स्की दुई पुल मध्ये एक हो जसमार्फत रुसले खेरसन सहर सहित ड्निप्रो नदीको पश्चिमी किनारमा कब्जा गरेको क्षेत्रहरूमा आपूर्ति गर्छ।

रुसी विदेशमन्त्रीले युक्रेनलाई हतियार उपलब्ध गराउने पश्चिमा कार्यलाई "शक्तिहीन क्रोध" र "परिस्थितिलाई झन् खराब बनाउने इच्छा"को रूपमा वर्णन गरे।

रुसको भूभाग विलय सम्बन्धी योजना

रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति योजना बनाएकोबारे मङ्गलवार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका थिए।

उनले रुसले ठूलो युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजनाका निम्ति आधार तयार पारिसकेको तर्क राखेका थिए।

उनले मस्कोले सन् २०१४ मा क्राइमिया क्षेत्र कब्जा गर्न प्रयोग भएको रणनीतिक 'प्लेबुक'को पुनः प्रयोग गर्न लागेको बताएका हुन्।

किर्बीले रुसले युक्रेनी क्षेत्रहरूमा अवैध रूपमा रुस समर्थक अधिकारीहरू तयार पारेको आरोप लगाएका थिए। नयाँ "प्रशासनले" युक्रेनी भूभागलाई आफ्नो बनाउन आउँदो सेप्टेम्बर लगत्तै जनमत सङ्ग्रह गराउने उनले बताए।

त्यस जनमत सङ्ग्रहको नतिजा "सार्वभौम युक्रेनी भूभागलाई आफूमा गाभेको दाबी गर्नको लागि" प्रयोग गर्ने उनले बताए।

सन् २०१४ मा हतारमा आयोजना गरिएको सङ्गठित जनमत सङ्ग्रह पछि रुसले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। त्यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध ठानेको थियो। यद्यपि, मतदाताहरूले आफ्नो भूभाग रुसमा गाभिने पक्षमा मत खसालेका थिए।

त्यतिबेला किएभ समर्थकहरूको ठूलो जमातले मतदान बहिष्कार गरेका थिए र उक्त अभियान न स्वतन्त्र थियो न त निष्पक्ष नै।

किर्बीले आफूले रुसी योजनाहरू "उजागर" गर्नुको उद्देश्य "संसारलाई कुनै पनि कथित विलय पूर्वनियोजित, गैरकानूनी र अवैध हो भन्ने थाहा दिनु" भएको बताए।

उनले रुसले आफूमा विलय गर्नका लागि खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क क्षेत्रहरू लक्षित गरेको बताएका थिए। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पनि तिनै क्षेत्र आफ्नो लक्ष्यमा रहेको बताएका छन्।

यसअघि लाभ्रोभले रुसले युक्रेनमा आक्रमण नभई विशेष सैन्य कारबाही घोषणा गरेको बताएका थिए।