युक्रेन युद्ध: रुसी विदेशमन्त्री भन्छन्- 'हामी को हौँ भनी देखाउँन लाज मान्दैनौँ'

    • Author, स्टीभ रोजेनबर्ग
    • Role, रुस सम्पादक, मस्को

करिब चार महिनाअघि रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेयता हजारौँ सर्वसाधारण मारिएका छन्, सहरहरू भग्नावशेषमा परिणत भएका छन् भने लाखौँ युक्रेनी आफ्नो घर छोडेर हिँड्न बाध्य भएका छन्।

तर बिहीवार रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले मेरो आँखामा हेरेर कुराहरू जस्ता देखिएका छन् त्यस्तो नभएको बताए।

"हामीले युक्रेनमा आक्रमण गरेका होइनौँ," उनले दाबी गरे।

"हामीले विशेष सैन्य कारबाहीको घोषणा गर्‍यौँ। किनभने हामीसँग पश्चिमलाई युक्रेनलाई नेटोमा तान्नु एउटा आपराधिक कार्य हो भनेर बुझाउने कुनै अर्को तरिका थिएन।"

रुसले गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि लाभ्रोभले पश्चिमा मिडियालाई केही मात्र अन्तर्वार्ता दिएका छन्।

उनले क्रेम्लिनको आधिकारिक धारणा दोहोर्‍याउँदै युक्रेनमा नाजीहरू रहेको बताए।

रुसी अधिकारीले प्रायः आफ्नो सेनाले उक्त देशमा "गैर-नाजीकरण" गरिरहेको दाबी गर्छन्।

राष्ट्र सङ्घबारे लाभ्रोभले के भने?

हालै लाभ्रोभले आफैँ यहुदी रहेका युक्रेनी राष्ट्रपतिलाई गलत देखाउँन हिटलरमा पनि "यहुदी रगत" भएको हास्यास्पद दाबी गर्दा हङ्गामा मच्चिएको थियो।

मैले उनलाई चेर्निहिभ क्षेत्रको युक्रेनी गाउँ याहिद्नेबारे संयुक्त राष्ट्रसङ्घको आधिकारिक प्रतिवेदन उदृत गर्दै प्रश्न सोधे।

उक्त प्रतिवेदनमा भनिएको छ, "७४ जना बालबालिका र अपाङ्गता भएका पाँच व्यक्तिसहित ३६० जना बासिन्दालाई रुसी सशस्त्र बलले एउटा विद्यालयको बेसमेन्टमा २८ दिनसम्म बस्न बाध्य पारेका थिए। … त्यहाँ शौचालय र पानीको व्यवस्था थिएन … दशजना वृद्धको मृत्यु भयो।"

"के त्यो नाजीहरूसँगको लाडाइँ हो?" मैले सोधेँ।

लाभ्रोभले भने, "यो निकै दुःखको कुरा हो, तर संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त, संयुक्त राष्ट्रसङ्घीय महासचिव र संयुक्त राष्ट्रसङ्घका अन्य प्रतिनिधिसहित अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूलाई पश्चिमाहरूले दबावमा राखेका छन्। र, धेरैजसो उनीहरू पश्चिमाबाट फैलाइएका झूटा समाचारलाई फैलाउन प्रयोग भइरहेका छन्।"

"रुस उत्पातै चोखो पनि छैन। रुस भनेको के हो र हामी को हौँ भनेर देखाउन हामीलाई लाज लाग्दैन।"

बहतर वर्षीय लाभ्रोभले विगत १८ वर्षदेखि अन्तर्राष्ट्रिय मञ्चमा रुसको प्रतिनिधित्व गर्दै आएका छन्, तर अहिले उनी र उनका दुवै छोरीमाथि पश्चिमा प्रतिबन्ध लागेका छन्।

अमेरिकाले युक्रेनमा आक्रमणकारीको रूपमा उनले झूटो कथा बुनेको र सुरक्षा परिषद्‌को सदस्यको रूपमा रहेको रुसले गरेको उक्त आक्रमणमा उनको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएको छ।

ब्रिटेनबारे लाभ्रोभको मत

त्यसपछि म ब्रिटेनसँग रुसी सम्बन्धका विषयमा फर्किएँ।

ब्रिटेन पनि रुसले मित्र नठान्ने देशहरूको आधिकारिक सूचीमा छ।

मैले यी दुई देशबीच सम्बन्ध नराम्रो छ भन्नु यथार्थलाई बेवास्ता गरेर भनिएको जस्तो हो भन्ने कुरा बताएँ।

"मलाई लाग्दैन कि अझै पनि कुनै चालबाजीका लागि ठाउँ छ," लाभ्रोभले मलाई भने, "किनभने दुवैजना [प्रधानमन्त्री बोरिस] जोन्सन र [लिज] ट्रसले रुसलाई हराउनुपर्छ भनेर खुलेर भन्छन्, हामीले रुसलाई घुँडा टेक्न बाध्य तुल्याउनुपर्छ भन्छन्। जानुहोस्, त्यसो गर्नुहोस्!"

यो गत महिनाको कुरा थियो ब्रिटिश विदेशमन्त्रीले रुसका भ्लादिमिर पुटिनले विश्व मञ्चमा आफूलाई नै अपमानित गरिरहेको र "हामीले युक्रेनमा उसले हार बेहोरेको सुनिश्चित गर्नुपर्दछ" भनेकी थिइन्।

मैले लाभ्रोभलाई यूकेलाई अहिले उनले कसरी हेरेका छन् भनेर सोध्दा उनले यूकेले "राजनीतिक महत्वाकाङ्क्षाका लागि फेरि एक पटक जनहित त्याग गरेको" बताए।

मैले उनलाई हालै पूर्वी युक्रेनमा रुसी पृथकतावादीहरूले मृत्युदण्डको सजाय सुनाएका दुई ब्रिटिश पुरुषका बारेमा पनि प्रश्न गरे।

पश्चिमाहरूको नजरमा ती पुरुषहरूको नियतिका लागि रुस जिम्मेवार छ भनेर मैले बताउँदा उनले भने, "मलाई पश्चिमको नजरमा कुनै चासो छैन। मलाई अन्तर्राष्ट्रिय कानुमा मात्र मात्र चासो छ। अन्तर्राष्ट्रिय कानुनअनुसार भाडाका सिपाहीलाई लडाकुको मान्यता दिइँदैन।"

मैले ती पुरुषहरूले युक्रेनी सशस्त्र बलमा सेवा गरेका थिए र भाडाका सैनिक थिएनन् भन्दा उनले त्यो अदालतले निर्णय गर्नुपर्ने विषय भएको बताएँ।

बीबीसीबारे उनको मत

त्यसपछि उनले बीबीसीलाई पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रमा नागरिकमाथि के भइरहेको थियो भन्ने सत्यको उजागर नगरेको आरोप लगाए।

उनले "आठ वर्षदेखि किएभको सेनाले सर्वसाधारणलाई बमबारी गरिरहेको थियो" भने।

मैले छ वर्षको अवधिमा बीबीसीले धेरै पटक पृथकतावादी नियन्त्रित इलाकाका नेतृत्वसँग सम्पर्क गरेको र त्यहाँ के भइरहेको छ भनेर हेर्न अनुमति मागेको जानकारी दिए।

तर हामीलाई हरेक पटक प्रवेश गर्न अस्वीकार गरियो भनेर उनलाई भने।

रुसले युक्रेनमाथि नरसंहार गरेको आरोप लगाएको छ ।

यद्यपि स्वघोषित रुसी समर्थक "अधिकारी"का अनुसार २०२१ मा विद्रोही नियन्त्रित क्षेत्रमा आठजना सर्वसाधारण मारिएका थिए र त्यसको अघिल्लो वर्ष सात जनाको हत्या भएको थियो।

हरेक मृत्यु एउटा त्रासदी हो, तर त्यो त नरसंहार ठहर्दैन नि? भनेर मैले उनलाई सोधे।

मैले यदि नरसंहार साँच्चै भएको भए लुहान्स्क र डोनेट्स्कका पृथकतावादीले हामीलाई त्यहाँ जान दिने थिए, तर हामीलाई किन त्यहाँ जान दिइएन भनेर पनि सोधे।

"मलाई थाहा छैन," लाभ्रोभले भने।