युक्रेन युद्धः जेलेन्स्कीका सल्लाहकार भन्छन्, 'किएभमा दैनिक २०० जनासम्म सैनिकले ज्यान गुमाउँदै'

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बीबीसीलाई बताएका छन्।

पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए।

मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे।

सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ।

'असमान प्रतिरक्षा सामर्थ्य'

रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए।

युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच "प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु" भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्‍याए।

"हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन…बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो," पोदोलियाकले भने।

रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताए। यो सङ्ख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी हो।

गत फेब्रुअरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने पोदोलियाकले स्पष्ट पारे।

युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो।

बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए।

फरकफरक सङ्ख्या आउनु भनेको मृत्युबारे युद्ध मैदानबाट यकिन विवरण प्राप्त गर्न कति गाह्रो छ भन्ने कुराको प्रमाण हो।

युक्रेनले ठूलो क्षति बेहोरिरहेको पृष्ठभूमिबीच रेज्निकोभले उच्च सङ्ख्यामा रुसी फौजले पनि क्षति बेहोरिरहेको दाबी गरेका छन्।

लुहान्स्कका क्षेत्रीय गभर्नरले पनि रुसी फौजहरू "झिँगाझैँ" मरिरहेको दाबी गरे।

यद्यपि युक्रेनी फौजले अस्त्रहरूको व्यापक अभाव झेलिरहेको पोदोलियाकले जस्तै उनले पनि बताए।

सडकमा गोली हानाहान र बमबारी

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक देखिएको छैन। त्यहाँको सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएका छन्।

राष्ट्रपति भोलोदिमिर सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको 'भाग्य निर्धारण हुनसक्ने' बताएका छन्। लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन्।

शहरमा भएका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम 'यतिबेला असम्भव भएको' समेत उनले बताएका छन्।त्यसैगरी मारिऊपोल शहरमा ध्वस्त भएका भवनका भग्नावशेषमा सयौँ शवहरू भेटिएको उक्त शहरको मेयरका एकजना सल्लाहकारले बताएका छन्।

रुसी नियन्त्रणमा रहेको उक्त शहरमा प्रत्येक भवनका भग्नावशेषमा ५० देखि १०० जनाको शव भेटिएको भन्दै त्यसलाई 'मृत्युको अन्त्यहीन लस्कर' भनेर टेलिग्राम मेसेजिङ एपमा लेखेका छन्।

बीबीसीले ती दाबीहरूलाई स्वतन्त्र रूपले पुष्टि गर्नसक्ने अवस्था छैन।