विश्व जनसङ्ख्या दिवस: सन् २०२३ मा भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुने आकलन

तस्बिर स्रोत, Getty Images
- Author, स्टेफाइन हेगर्टी
- Role, जनसङ्ख्या संवाददाता
संयुक्त राष्ट्रसङ्घको एक तथ्याङ्कअनुसार अर्को वर्ष भारत विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश बन्ने तयारीमा छ। त्यसबेला भारतको जनसङ्ख्या १.४ अर्ब पुग्नेछ।
आउँदो नोभेम्बर सम्ममा पृथ्वीमा मानिसहरूको सङ्ख्या ८ अर्ब पुग्नेछ।
यद्यपि, जनसङ्ख्या वृद्धि पहिले जस्तो तीव्र गतिमा भएको छैन।
संयुक्त राष्ट्रसङ्घका अनुसार हाल जनसङ्ख्या वृद्धिदर सन् १९५० यताकै सबैभन्दा सुस्त गतिमा छ र सन् २०८० को दशकसम्ममा जनसङ्ख्या १०.४ अर्ब पुग्न सक्छ। यद्यपि, केही जनसङ्ख्या सम्बन्धी विज्ञहरूले उल्लेख गरिएको सङ्ख्या, आकलन गरिएको वर्ष अगावै पुग्न सक्ने बताएका छन्।
विश्वको जनसङ्ख्या असमान रूपमा विस्तार भइरहेको छ।
कहाँकहाँ बढ्नेछ जनसङ्ख्या?
आउँदो ३० वर्षमा हुने आधाभन्दा बढी जनसङ्ख्या वृद्धि प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ।
यसैबीच विश्वका सबैभन्दा विकसित अर्थतन्त्रहरू भएका देशहरूमध्ये केहीमा पहिले नै जनसङ्ख्या घटिरहेको छ। यसको प्रमुख कारण प्रजनन दर प्रति महिला २.१ भन्दा कम सन्तानमा सीमित हुनु हो। यसलाई "प्रतिस्थापन दर" समेत भनिन्छ।
६१ देशहरूमा सन् २०५० सम्ममा जनसङ्ख्या कम्तीमा १ प्रतिशतले घट्ने प्रतिवेदनले जनाएको छ।

विश्वको सबैभन्दा कम प्रजनन दर (प्रति महिला १.१५ बच्चा) भएको चीनले आफ्नो जनसङ्ख्या अर्को वर्ष घट्न थाल्ने जनाएको छ। चीनको जनसङ्ख्या यति चाँडै घट्न थाल्ने ठानिएको थिएन। यस देशले सन् २०१६ मा एक सन्तान नीति त्यागेर दम्पतीहरूलाई दुई वटा सन्तान जन्माउन प्रोत्साहित गर्न नीति ल्याएको भए पनि जनसङ्ख्या घट्ने बताइएको हो।
भारतको जनसङ्ख्या निरन्तर बढ्दै जाँदा यसले विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशको रूपमा चीनलाई उछिन्ने देखिन्छ।
असमानताको कारण के?
प्रजनन दर विश्वव्यापी रूपमा घटिरहेको छ। जनसङ्ख्या विस्तार भइरहेको धेरै देशहरूमा पनि त्यस्तो भएको पाइएको छ। किनकि मानिसहरूले आफ्नो आमाबुवाले भन्दा कम सन्तान जन्माए पनि अघिल्लो पुस्ता विस्तार हुँदै जाँदा उनीहरू सबैले बच्चा जन्माइ रहेका छन्।
यो वृद्धिमा धेरै हदसम्म चिकित्सा र विज्ञानको योगदान छ जसका कारण धेरै बालबालिका वयस्क हुने बेलासम्म र धेरै वयस्क वृद्धावस्थासम्म बाँचिरहेका छन्। र, यो ढाँचा निरन्तर जारी रहने सम्भावना छ। त्यसो भएमा सन् २०५० सम्म विश्वव्यापी औसत आयु लगभग ७७.२ वर्ष हुने जनाइएको छ।
तर यस ढाँचाले सन् २०५० सम्ममा विश्वको १६ प्रतिशत जनसङ्ख्या ६५ वा त्योभन्दा माथिल्लो उमेर समूहको हुने सङ्केत गर्छ। हाल विश्वव्यापी जनसङ्ख्यामा १० प्रतिशत मानिस उक्त उमेर समूहका छन्।
फेरि पनि जनसङ्ख्या वितरण केही देशहरूमा असमान हुनेछ। पूर्वी एसिया र पश्चिमी युरोपका केही देशहरूमा पहिले देखि नै मानिसहरूले चरम बुढ्यौली भोग्ने अवस्था देखिन्छ।








