भारत: पुरुषभन्दा महिलाको सङ्ख्या साँच्चिकै धेरै भएको हो?

तस्बिर स्रोत, Getty Images
- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज, दिल्ली
पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कका अनुसार अहिले भारतमा हरेक १,०२० महिला बराबर १००० पुरुष छन्।
तर तथ्याङ्कको विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने सर्वेक्षणमा भारतका ३० करोड घरधुरीमध्ये ६ लाख ३० हजार घरको मात्र तथ्याङ्क लिइएको हो।
वास्तविक तथ्याङ्क जनगणनाको तथ्याङ्क आएपछि प्राप्त हुने विज्ञहरूले बताएका छन्।
पपुलेशन फन्ड अफ इन्डियाकी निर्देशक पुनम मुतर्जाले बीबीसीसँग भनिन्, "जनगणनाले सबै जनसङ्ख्या समेट्ने भएकाले त्यसबाट मात्रै सही लैङ्गिक अनुपात प्रस्ट हुनेछ।"
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा महिलाको सङ्ख्या पुरुषको भन्दा बढी भएको यो पहिलो पटक हो।
एकजना अधिकारीले "सरकारले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याएकाले" त्यस्तो भएको बताए।
मिडिया रिपोर्टहरूमा भारतमा 'जनसाङ्ख्यिक परिवर्तन भएको' 'ठूलो उपलब्धि' र 'भारत विकसित मुलुकको पङ्क्तिमा प्रवेश गरेको' जस्ता समाचार छापिएका छन्।
तर अभियानकर्ताहरू सरकारी दाबीलाई 'वाहियात' र 'असम्भव प्राय' रहेको बताउँछन्।
''१०० वर्षदेखि हाम्रो जनगणनाले पटक पटक महिलाको तुलनामा बढता पुरुष भएको देखाउँदै आएका छन्,'' अनुसन्धानकर्ता तथा अभियानकर्ता सबु जर्जले भने।
''सन् २०११ को जनगणना अनुसार हरेक १,००० पुरुषमा ९४० जना महिला थिए। अनि बच्चाको तथ्याङ्क लिँदा हरेक १,००० बालकका बदला ९१८ बालिका थिए। त्यसैले गएको दश वर्षमा कसरी त्यत्रो परिवर्तन आउन सक्छ?'' उनी प्रश्न गर्छन्।
गर्भमा रहेको बच्चाको लिङ्ग हेरेर बालिका भए गर्भ तुहाउने चलन रोक्न गरिएका प्रयास सफल भएका छैनन्। भारतलाई महिला हराउने देश भनेर पनि चिन्ने गरिन्छ।
नोबेल पुरस्कार प्राप्त गरेका अर्थशास्त्री अमर्त्य सेनले सन् १९९० मा नै लैङ्गिक अनुपात ९२७ महिलाका लागि १,००० पुरुष रहेको बताएका थिए।

तस्बिर स्रोत, Getty Images
भारतमा छोराले परिवारको वंश अघि बढाउने र बुढेसकालमा बाबुआमाको रेखदेख गर्ने तर छोरी भने विवाह पश्चात् दाइजो लिएर अर्काको घर जाने विश्वासका कारण छोरा प्रतिको मोह गढेको पाइन्छ।
अधिकारवादीहरू छोरीहरू प्रति पूर्वाग्रह राख्ने गरिएको र सन् १९७० तिरबाटै गर्भमा बच्चाको लिङ्ग हेर्न पाइने सजिलो सुविधाका कारण करोडौँ भ्रूणहत्या भएको र त्यसले गर्दा नाटकीय रूपमा महिला र पुरुषको सङ्ख्याको अनुपातमा भिन्नता देखिएको बताउँछन्।
सन् १९९४मा प्री-नेटल डिटरमिनेसन टेस्ट (पीएनडीटी) ऐनले लिङ्गको पहिचान गरी गरिने गर्भपतनलाई निषेध गर्यो र सन् २००२मा उक्त ऐनलाई संशोधन गर्दै गर्भधारण भन्दा अघि समेत लिङ्ग छनोट गर्न नपाइने प्रावधान थप्यो।
तर अझै पनि लिङ्ग पहिचान गरी गैर कानुनी रूपमा गर्भपतन गर्ने गरिएको अधिकारवादीहरू बताउँछन्।
विज्ञहरूका अनुसार महिलाहरू पुरुष भन्दा बढी बाँच्छन् जस कारण उनीहरूको अनुपात जन्मँदाको अनुपातका तुलनामा सधैँ बढी हुन्छ।
तर जर्ज १,०२०को आँकडा विश्वसनीय नरहेको बताउँछन्।
"यदि ३० देखि ४० वर्षको अवधिमा हामीले दसौँ लाख बालिकालाई मारिसकेका छौँ भने सन् २०२१ सम्ममा हाम्रो जन्मदरमा कमी अझ ठूलो हुनेछ। र यदि महिलाहरूको सङ्ख्यामा यति ठूलो कमी छ भने, यो सङ्ख्या विश्वसनीय छ भनेर कसरी पत्याउने?"
जनसङ्ख्याविद्हरूका अनुसार बालिकाहरू प्रति विभेद नभएको अवस्थामा जन्मका बेला लिङ्गको अनुपात ९५२ हुनुपर्ने थियो।
तर पछिल्लो सर्वेक्षणले भने उक्त सङ्ख्या ९२९ देखाएको छ। जर्जका अनुसार यसको अर्थ ''हुनुपर्ने अनि भएको तथ्याङ्कमा अझै २३ अङ्क वा दुई प्रतिशत फरक छ।''

तस्बिर स्रोत, Getty Images
''यसको अर्थ हामीले अझै लाखौँ बालिकाहरूलाई मारिरहेका छौँ,'' उनले भने।
''भारतमा प्रत्येक वर्ष २ करोड ६० लाख जन्म भइरहेको छ भने पछिल्लो पाँच वर्षमा त्यो सङ्ख्या १३ करोड हुन जान्छ। यसको अर्थ हामीले पछिल्लो पाँच वर्षमा २६ लाख बालिकाहरू मारेका छौँ। यो हाम्रो देशका लागि लाज लाग्दो कुरा हो। खुसी हुनुपर्ने कुनै कुरा छैन।''
सन् २०११ मा गरिएको भारतको पछिल्लो जनगणनाका अनुसार प्रत्येक १,००० पुरुषका लागि ९४० महिला थिए। विगतमा बालिका भ्रूणहत्या अन्त्य गर्ने आफूहरूको रणनीति विफल भएको सरकारले स्वीकार गरेको थियो।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले यसलाई ''राष्ट्रिय लज्जा'' का रूपमा व्याख्या गर्दै भारतीय बालिकाहरूलाई जोगाउनका लागि ''धर्मयुद्ध'' को आह्वान गरेका थिए।
सन् २०१४मा सत्तामा आए लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीयहरूलाई आफ्ना छोरीहरूको हत्या गर्न बन्द गर्न अपिल गरेका थिए।
त्यसको एक वर्ष पछि उनले एउटा कार्यक्रम सार्वजनिक गर्दै छोरीहरूलाई बचाउन अनि शिक्षा दिन आग्रह गरेका थिए। तर मानिसहरूको व्यवहारमा खासै परिवर्तन देखिएको छैन।
पछिल्ला वर्षहरूमा हामीले नवजात बालिकाहरूलाई सडकमा अलपत्र छोडिएको, जमिन खनेर गाडिएको वा नदी अनि ढलमा फ्याँकिएको विवरण प्रकाशन गरेका छौँ।
अनि भारतभरबाट प्राप्त रिपोर्टहरूका अनुसार गैर कानुनी रूपमा लिङ्गको पहिचान गर्ने क्लिनिकहरू फस्टाइरहेका छन्।
यो पनि हेर्नुहोस्









