युक्रेन युद्ध: आपूर्ति बन्द भएपछि जर्मनीलाई रुसी ग्यास कटौतीको डर

रुसी ग्यास जर्मनी जाने बल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम वानबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ।

उक्त पाइपलाइनको रुसी-समर्थक सञ्चालकले वार्षिक तालिका अनुसार मर्मतसम्भार कार्यका लागि त्यस्तो कदम चालिएको जनाएको छ।

तर जर्मनीका मन्त्रीहरू बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको विश्वास गर्छन्।

जर्मनीका अर्थमन्त्रीले रुसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनु पर्ने बताएका छन्।

उनले युक्रेन युद्धका कारण रुसमाथि लागेको ईयू प्रतिबन्धको प्रतिक्रियामा क्रेमलिनले ग्यासलाई "अस्त्रका रूपमा" प्रयोग गरेको आरोप लगाए।

जर्मनीका अर्थमन्त्रीको भनाइ

चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रुसले उपयोग गरिरहेको चिन्ता व्यक्त गरे।

जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ।

यसअघि नै ग्यास आपूर्ति साबिकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो।

मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो।

ग्यास पाइपलाइन अब खुल्दै नखुल्ने चिन्ता पनि छ।

त्यसो भएमा जाडो यामका निम्ति जोहो गर्न बनाइएका भण्डार भरिने छैनन्।

इटलीलाई पनि असर

उक्त पाइपलाइन बन्द हुँदा इटलीलाई पनि असर परिरहेको छ।

त्यहाँको एउटा ऊर्जा समूहले आफूले सोमवार पछिल्ला केही दिनहरूमा पाइरहेको भन्दा एक तिहाइ मात्र ग्यास रुसी कम्पनी ग्याजप्रोमबाट पाइरहेको बताएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने जनाएका छन्।

नयाँ भुक्तानी योजना पालन गर्न अस्वीकार गरेपछि रुसले पोल्यान्ड, बल्गेरिया, द नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डमा ग्यास कटौती गरिसकेको छ।

फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि जर्मनीले रुसमा ग्यासमाथिको निर्भरता ५५ प्रतिशतबाट घटाएर ३५ प्रतिशतमा झारेको छ।

जर्मनी रुसी ग्यासको प्रयोग पूर्ण रूपमा बन्द गर्न चाहन्छ।

तर यदि रूसी आपूर्तिहरू अचानक कटौती भयो भने त्यसले जर्मनीमा ठूलो मन्दी निम्तिन सक्छ।

जर्मनीका सम्पूर्ण उद्योगहरू ग्यासमा निर्भर छन् र अधिकांश जर्मनहरूले घरलाई न्यानो राख्न ग्यास नै प्रयोग गर्ने गर्छन्।