युक्रेन सङ्कट: रुसले अर्को महिना आक्रमण गर्नसक्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने 'स्पष्ट सम्भावना' रहेको चेतावनी दिएका छन्।

यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि 'आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको' बताएको छ।

युक्रेनको सीमामा पछिल्ला हप्ताहरूमा दशौँ हजार रुसी फौज तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ। रुसले त्यस्तो आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।

अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग बिहीवार भएको टेलीफोन वार्तामा सम्भावित आक्रमणबारे टिप्पणी गरेका हुन्।

"राष्ट्रपति बाइडेनले रुसीहरूले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना रहेको बताएका हुन्," ह्वाइट हाउस न्याशनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नले बताइन्।

"राष्ट्रपतिबाट यो कुरा सार्वजनिक रूपमा व्यक्त भइसकेको छ र हामीले पनि महिनौँदेखि यस्तै चेतावनी दिँदै आएका हौँ।"

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले "यदि रुसले थप हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त" पारेको जनाइएको छ।

जेलेन्सकीले आफूहरुले "तनाव घटाउने पछिल्ला प्रयत्नहरूबारे छलफल गरेको र भविष्यका लागि संयुक्त कारवाहीबारे सहमत बनेको" बताएका छन्।

समाचार पोर्टल एक्सिअसले अज्ञात स्रोतलाई उदृत गर्दै ती दुई नेताहरू रुसबाट कति खतरा छ भन्नेबारे सहमत भएनन्।

युक्रेनमा हिउँ जमेपछि बलिया युद्ध सवारीसाधनहरू गुडाउने प्रतीक्षामा रहेको केही सैन्यविद्‌ ठान्छन्।

शुक्रवार फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र भ्लादिमिर पुटिनबीच अर्को महत्त्वपूर्ण फोन वार्ता हुनेछ।

यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरिए रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने अमेरिकाले चेतावनी दिएको थियो।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीवार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गर्छ।

अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, "म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।"

तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

विदेश मन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए।

जर्मनीको भनाइ

अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।

संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्।

तर उनले आफूले मस्कोसँग संवाद चाहेको पनि उल्लेख गरेकी छन्।

अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्।

चीनलाई किन गरियो अनुरोध

संयुक्त राज्य अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ।

विदेश मन्त्रालयकी एक जना अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन्।

उनले कूटनीतिक समाधानको पक्षमा पश्चिमा देशहरू एक ठाउँमा रहेको भए पनि रुसले सैन्य कदम चाले तत्कालै कठोर मूल्य चुकाउनुपर्ने बताइन्।

राष्ट्रपति पुटिनले युक्रेनबारेका मस्कोका मागप्रति वासिङ्टनको प्रतिक्रियाबारे विचार गरिरहेका छन्।

अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषद्‌मा सोमबार छलफल गरिओस् भन्ने माग गरेको छ।

परियोजना कुन अवस्थामा छ

उक्त १२ सय २५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो।

त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी लागेको थियो।

उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ।

गएको नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियम अनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसेको छैन।

नोर्ड स्ट्रिम टुमा प्रमुख युरोपेली व्यापारिक समुदायले ठूलो लगानी गरेका छन्।

वातावरणविद्हरूले रुसबाट उत्पादित ऊर्जामा युरोपको निर्भरता बढाउने उक्त परियोजना कसरी उत्सर्जन कटौती गर्ने र मानव सृजित जलवायु परिवर्तनका असर कम गर्ने रुसी प्रयाससँग मिल्न गयो भनेर प्रश्न गरेका छन्।

विगतमा युक्रेनका राष्ट्रपति भोल्दीमिर जेलेनस्कीले उक्त पाइपलाइनलाई 'खतरनाक भूराजनीतिक अस्त्र' भनेका थिए।