गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: सेवा सुरु गर्न तीन वायुसेवाको चासो, सातै दिन कुवेत-भैरहवा उडान भर्ने जजीराको तयारी

भैरहवा एअरपोर्ट

तस्बिर स्रोत, GBIA

गत महिनाबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न थप तीन वायुसेवाले छलफल तीव्र पारेको अधिकारीहरूले बताएका छन्।

हाल कुवेतको जजीरा एअरवेजले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको तीन दिन उडान भरिरहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थप तीन कम्पनीले उडानका लागि चासो देखाएको र जजीराले छिट्टै सातै दिन उडान गर्ने गरी गृहकार्य थालेको छ।

एशियाली विकास ब्याङ्कको ऋण एवम् ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँ खर्च गरेर उक्त विमानस्थल निर्माण गरिएको हो।

क-कसले चासो देखाएका छन्?

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पछिल्लो पटक हङ्गेरीको वायुसेवा कम्पनी वीज एअरले भैरहवाबाट उडान भर्न चासो देखाएको छ।

नेपालका लागि पूर्ण रूपमा नयाँ उक्त कम्पनीले भैरहवा - दुबाई गन्तव्यमा उडान गर्नका लागि इच्छुक देखिएको बताइएको छ।

आगामी सेप्टेम्बरबाट उक्त कम्पनीले सेवा आरम्भ गर्न सक्ने सम्भावना देखिएको भैरहवा विमानस्थलका अधिकारीहरू बताउँछन्।

त्यस्तै एअर अरेबिया र फ्लाइ दुबाईले पनि यूएईबाट छिट्टै उडान सुरु गर्नका लागि चासो देखाएका छन्।

विमान

तस्बिर स्रोत, GBIA/WEBSITE

तस्बिरको क्याप्शन, नेपाल वायुसेवा निगमको विमानले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको थियो

यी दुई कम्पनीले दुई साताभित्रै उडान सुरु गर्ने गरी तयारी गरेको भए पनि सेप्टेम्बरबाट सेवा सुरु गर्ने सम्भावना देखिएको अधिकारीहरू बताउँछन्।

''छलफलको क्रम तीव्र भएको छ। कहिलेबाट उडान सुरु गर्ने भनेर सेवा प्रदायकहरूले अध्ययन गरिरहेका छन्,'' निरौलाले भने।

त्यस्तै शुक्रवारबाट काठमाण्डू- ब्याङ्कक गन्तव्यमा सेवा सञ्चालन गर्न लागेको नयाँ प्रदायक थाई स्माइललाई पनि भैरहवाबाट सेवा सञ्चालन गर्न आग्रह गरिएको र त्यसमा उसले सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ।

सलाम एअरले भैरहवाबाट उडान थाल्न विगतमा चासो देखाएको भए पनि हाल त्यस विषयमा प्रगति नदेखिएको अधिकारीहरू बताउँछन्।

'उडान थप्दै जजीरा'

गत जेठमा सञ्चालनमा आएको गौतम बुद्ध विमानस्थलबाट पहिलो व्यवसायिक उडान जजीराले एअरले सुरु गरेको थियो।

सुरुवातदेखि नै उक्त वायुसेवा प्रदायकले साताको तीन दिन उडान गरिरहेको छ।

जानकारहरूका अनुसार भैरहवाबाट कुवेत यात्रा गर्दा काठमाण्डुको तुलनामा यात्रुहरूलाई झन्डै ८,००० रुपैयाँ सस्तो पर्न जान्छ।

जसले गर्दा कुवेत हुँदै जजीराले उडानमार्फत ४५ वटा गन्तव्यमा जाने यात्रुहरू लाभान्वित भएका छन्।

भैरहवामा अवतरण गरेको जजीरा एअरवेजको विमानलाई स्वागत गरिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भैरहवामा अवतरण गरेको जजीरा एअरवेजको विमानलाई स्वागत गरिँदै

सुरुदेखि नै 'राम्रो सङ्ख्या'मा यात्रुहरू पाइरहेको जजीराले आगामी साताबाट चार दिन र जुलाईभित्र दैनिक उडान भर्ने तयारी गरेको विमानस्थलका निमित्त निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले बताए।

भैरहवा-कुवेतमा दुईतर्फी उडान गर्दा न्यारोबडी विमानमा पछिल्लो पटक ३१० जनाले यात्रा गरेको साहले जानकारी दिए।

तर प्राधिकरणका अनुसार उक्त कम्पनीले पनि सेप्टेम्बरबाट सातै दिन उडान गर्ने मनसाय व्यक्त गरेको छ।

छलफलको गति बढ्नुको कारण के हो?

नयाँ विमानस्थल भएकाले हाल भैरहवाबाट उडान गर्दा एअरलाइन्सले प्रतिउडान १,००,००० रुपैयाँसम्म छुट प्राप्त गर्ने गरेका छन्।

त्यसबाहेक तौलका हिसाबले न्यारोबडी विमानलाई ल्यान्डिङ शुल्क, पार्किङ शुल्क, कम्युनिकेशन एन्ड न्याभिगेशन शुल्क र सेक्युरिटी शुल्क शतप्रतिशत छुट दिइएको छ।

नयाँ विमानस्थल सेवाशुल्क नियमावली २०७८ गत जेठ १४ देखि लागु भएका कारण आगामी जेठसम्म वायुसेवा सञ्चालकहरूले छुट पाउने बताइएको छ।

विमानस्थल

तस्बिर स्रोत, GBIA/FACEBOOK

तर कतिपय वायुसेवाले थप सुविधा खोजिरहेको हुन सक्ने हुँदा सुरुवातमा चासो देखाएका प्रदायकहरूसमेत धेरै अघि नबढेको हुनसक्ने अनुमान गरिएको थियो।

जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता रहेको बताउँदै आएको अधिकारीहरू बताउँछन्।

हाल निगमले उपलब्ध गराउँदै आएको उक्त सेवामा पनि छुट दिइएको निरौलाले जानकारी दिए।

''निर्णय भइसकेको छ। पहिले निगमले तोकेको शुल्कभन्दा भने कम हुन्छ,'' उनले थपे।

श्रम कार्यालयको शाखा स्थापनाको प्रभाव

वैदेशिक यात्रामा जानेहरूका लागि सहज बनाउन हाल बुटवलस्थित श्रम तथा रोजगार कार्यालयअन्तर्गत एउटा शाखा हालसालै भैरहवामा स्थापना गरिएको छ।

उक्त कार्यालयले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने 'सबै कार्य गर्ने' निर्णय गरिएको शाखा प्रमुख केशवराज भट्टराईले जानकारी दिए।

श्रम कार्यालयको शाखा स्थापना हुनुले पनि वायुसेवा प्रदायकहरूमा आकर्षण बढेको हुन सक्ने विमानस्थलका अधिकारीहरू बताउँछन्।

बैदेशिक रोजगारि
तस्बिरको क्याप्शन, फाइल तस्बिर

हाल अनलाइन सेवामार्फत नै श्रमस्वीकृति लिन सकिने हुँदा सर्वसाधारणहरू काठमाण्डू पुग्नुपर्ने बाध्यता छैन।

तर अझै अभिमुखीकरण, स्वास्थ्य परीक्षण, म्यानपावर अनि प्रवेशाज्ञाका लागि श्रमिकहरूले काठमाण्डू पुग्नु पर्ने अवस्था भने कायमै छ।

अहिले देशमा ८६० वटा म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभागमा दर्ता रहेकामा झन्डै ९५ प्रतिशत काठमाण्डूमा केन्द्रित रहेको अधिकारीहरू बताउँछन्।

त्यस्तै स्वास्थ्य परीक्षण गर्ने अधिकांश केन्द्रहरू पनि काठमाण्डूमै छन्।