नेपाल वायुसेवा: नेपाली विमानहरू काठमाण्डूबाहिर बास बस्न सुरु, अब हवाईयात्रामा के फरक पर्छ?

तस्बिर स्रोत, Getty Images
यसै साताको सोमवारदेखि केही आन्तरिक सेवाका विमानहरूले काठमाण्डू विमानस्थलबाहिर बास बसेर त्यहीँबाट पहिलो उडान सुरु गर्न थालेका छन्।
मङ्गलवार राजधानीबाहिर चन्द्रगढी विमानस्थलबाहेक धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर र विराटनगरबाट उडान सुरु भएका थिए।
यसले राजधानीको आकाशमा रहेको चाप कम हुने अपेक्षा उड्डयन अधिकारीहरूले राखेका छन्।
अब देशका आठ विमानस्थलहरूमा जहाजहरू राति बास बस्ने बताइएको छ।
विमानहरूको रात्रिकालीन बास हुने आठवटै विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म उडान हुनसक्ने सुविधा रहेको बताइएको छ।
"त्यसका लागि आवश्यक पूर्वाधार ती विमानस्थलमा छ। थप विमान कम्पनीहरूको सुझाव र मागका आधारमा अब बढाउँदै लगिनेछ।"
असार पहिलो साता यही विषयलाई लिएर निजी उड्डयन कम्पनीले सरकारलाई सेवा रोक्ने चेतावनी दिएका थिए।

सरकारी नियामकले 'अत्यावश्यक सेवा' अन्तर्गत पर्ने उड्ड्यन क्षेत्रमा विरोध गरे अनुमति रद्द गर्न समेत सक्ने चेतावनी दुई पक्षबीच असहज अवस्था उत्पन्न भए तापनि अन्तिम अवस्थामा त्यस्तो हडताल फिर्ता लिइएको थियो।
तर अहिले काठमाण्डू बाहिर रात बिसाउन त्यसबेला भनिएको सङ्ख्या तत्काल 'केही कम' भए तापनि 'यस प्रक्रियाको सुरुवात भएको' निजी वायुसेवाहरूको सङ्गठनका प्रवक्ताले बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौला भन्छन्, "यसले एकातर्फ काठमाण्डूबाहिरका यात्रुले बिहानैबाट सेवा लिन सक्ने भए भने अर्कोतर्फ काठमाण्डूमा हुने उडान-अवतरणमा होल्ड हुने क्रम घट्ने हुन्छ।"
चाप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समय माउन्टेन फ्लाइट, मध्यान्नअघि उडान गरिसक्नु पर्ने दुर्गम पहाडी क्षेत्रका उडान र बाँकी नियमित उडानका कारण चापमा पर्छ।
"चापले गर्दा कैयौँ उडानहरू समयमा हुन नसक्ने समस्या थियो, टर्मिनल भवनमा यात्रुहरूको चाप उच्च हुने समस्या छ, " क्यान प्रवक्ता निरौला भन्छन्।
"जहाज बाहिर बास बस्न थालेपछि काठमाण्डूको चाप मात्र सहज बनाउँदैन, राजधानी बाहिरका शहर र त्यहाँका आर्थिक गतिविधिलाई समेत उत्तिकै बढाउँछ।"

तस्बिर स्रोत, CAAN
काठमाण्डू विमानस्थलको त्यही चापले गर्दा यसबीचमा आकाशमा लामो समय 'होल्ड' अर्थात् कुर्नुपर्ने समस्या बढिरहेको गुनासो हुनेगरेको थियो।
कति गए बाहिर?
असार पहिलो साता नागरिक उड्डयन प्राधिकरणले विमान कम्पनीहरूलाई आफ्ना आधाभन्दा धेरै जहाजहरू काठमाण्डूबाहिर राति राख्नुपर्ने भनेर पत्राचार गरेको थियो।
तर मङ्गलवारबाट भएको कार्यान्वयनमा एक चौथाइभन्दा कम मात्र काठमाण्डू बाहिर गएका छन्।
वायुसेवा सञ्चालक सङ्घ-नेपालका प्रवक्ता योगराज कँडेल भन्छन्, "प्रक्रियागत रूपमा जहाजहरू बाहिर बास बस्न जान थालेका छन्। केही जाने तयारीमा छन्। हामीले आफ्नो क्षमता पनि विस्तार गर्दै जानुपर्यो।"
सरकारसँग भएको वायुसेवा सङ्घको सहमतिमा हरेक विमान कम्पनीले आफ्ना एकतिहाइ विमानहरू मात्र काठमाण्डूमा राखेर बाँकी बाहिर लैजाने यसअघि बताइएको थियो।
'आजको भोलि' सरकारले भनेजसरी विमानहरू बाहिर सर्न नसक्ने बताउँदै सङ्घका प्रवक्ता कँडेलले यसले 'सरकारको निर्णयलाई सम्मान गरेको' र क्रमिक रूपमा अन्य समेत जाने बताए।
उनले सोमवारसम्म यति एअरलाइन्सका दुईवटा, बुद्ध एअरका पाँचवटा, श्री एअरलाइन्सका तीन र गुण एअरलाइन्सका १ काठमाण्डूबाहिर गइसकेको जनाए।
"हेलिकोप्टरका लागि विमानहरूलाईझैँ निश्चित सुविधासहितको ठाउँ नचाहिने भएकाले सरकार केही खुकुलो भएको छ," कँडेल भन्छन्।
"त्यसका लागि सरकारले अन्य ठाउँहरू पनि तोकिदिएको छ।"
असार पहिलोसाता सरकारले हेलिकोप्टरहरूलाई समेत सङ्ख्या नै तोकेर काठमाण्डूबाहिर बास बस्नुपर्ने नियम ल्याएको थियो।
नेपालमा अहिले ३८ वटा हेलिकोप्टर ५२ वटा जहाजले आन्तरिक उडानको अनुमति लिएको विवरण छ।
काठमाण्डूमा क्षेत्र विस्तारको काम 'एक वर्षभित्रै'
एक वर्षभित्र काठमाण्डूमा आन्तरिक सेवाका थप २० वटा विमानहरू पार्किङ गर्न मिल्ने गरी काम भइरहेको क्यान प्रवक्ता निरौला बताउँछन्।
हाल १७ वटा विमान मात्र आन्तरिक टर्मिनलमा व्यवस्थित ढङ्गले राख्ने क्षमता भएको बताइए तापनि हालसम्म दोबरभन्दा बढी विमानहरू राख्ने गरिएका थिए।
सीमित विमान कम्पनीका मात्र निजी पार्किङ स्थल (ह्याङ्गर) भएकाले केही विमानहरू त्यसका लागि नतोकिएका क्षेत्रमा समेत राख्नुपर्ने बाध्यता समेत काठमाण्डू विमानस्थलमा देखिएको अधिकारीहरू बताउँछन्।
जसले गर्दा विमानहरू बिहान पार्किङबाट निकाल्नेदेखि नै समस्या सुरु हुनेगरेको उड्डयन अधिकारीहरूको भनाइ छ।
प्राधिकरणले काठमाण्डू विमानस्थलको चाप कम गर्न यसअघि नै रात्रि उडानको सङ्ख्या बढाउनुपर्ने र ६० प्रतिशतभन्दा धेरै आन्तरिक उडानका जहाज राजधानी बाहिर बास बस्नुपर्ने बताउँदै आएको थियो।
प्रवक्ता निरौला थप्छन्, "भक्तपुरको नलिचोकमा २७ वटा हेलिकोप्टर पार्किङ् गर्न मिल्नेगरी सरकारी जग्गामा काम सुरु हुन लागेको छ। १ वर्षभित्रै त्यो काम समेत सक्ने योजनामा छौँ।"
जहाजको सङ्ख्या नबढेमा एक वर्षपछिको अवस्था काठमाण्डूभित्रै समेत सहज हुने क्यान प्रवक्ता निरौला बताउँछन्।
"तर काठमाण्डू बाहिरबाटै हुने उडानमा समेत विमान कम्पनीहरूलाई व्यावसायिक रूपमा नोक्सानी हुने अवस्था छैन। पहिलो दिन नै यात्रुहरू सङ्ख्यामा कुनै कमी देखिएको थिएन।"









