तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: युक्रेनी शपिङ सेन्टरमा भएको रुसी हमला 'युद्ध अपराध'
युक्रेनको क्रेमेन्चुक सहरस्थित एक शपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार भएपछि कम्तीमा १६ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार सोमवार दिउँसो करिब चार बजे आक्रमण भएको थियो। घटना हुँदा त्यस व्यस्त केन्द्र भित्र लगभग एक हजार जना मानिस रहेको अनुमान गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए।
जर्मनीमा आयोजित एक सम्मेलनमा रहेका विश्वका सात धनी राष्ट्रहरूको समूह 'जी सेभेन'का नेताहरूले रुसी आक्रमणलाई "घृणित कार्य"को संज्ञा दिँदै त्यसको निन्दा गरेका छन्।
"निर्दोष नागरिकहरूमाथि विवेकहीन ढङ्गमा गरिने आक्रमणहरू युद्ध अपराध हुन्," उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनेका छन्।
आक्रमणमा परी कम्तीमा ५९ जना घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने डर कायम छ। यस आक्रमणमा रुसको दोष ठहराइएको छ।
अनलाइनमा सार्वजनिक तस्बिरहरूले उक्त केन्द्रको भवनमा आगो दन्किरहेको र त्यहाँबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको देखाउँछन्।
"यो एक मानवता विरुद्धको अपराध हो। यो स्पष्ट रूपमा गैर सैनिक मानिसहरू विरुद्धको आतङ्क र निन्दनीय कार्य हो," स्थानीय गभर्नर दिमिट्रो लुनिनले टेलिग्राममा लेखे र यो "युद्ध अपराध" भएको बताए।
आगो नियन्त्रण
मृत्यु र घाइते हुनेको सङ्ख्याबारे विवरण दिएको युक्रेनी आपत्कालीन सेवा प्रदायकका अनुसार आगो नियन्त्रणमा ल्याउनको लागि ५७ वटा इकाईहरू संलग्न रहे।
टेलिग्राममा साझा गरिएको तस्बिरहरूमा भवनको जलेर कालो भएको आवरण र भत्किएको छानो देखिएको छ।
आक्रमण लगत्तै कैद गरिएको एउटा भिडिओमा एक व्यक्तिले "कोही जिउँदै छ... कोही जिउँदै छ?" भनेर चिच्याएको सुनिन्छ। त्यसको केही समयपछि आइपुगेको एम्बुलेन्सले घाइतेलाई अस्पताल पुर्यायो।
यद्यपि, मानिसहरू अझै बेपत्ता छन्। नजिकैको होटलमा उद्धारकर्मीहरूले शिविर खडा गरेका छन्।
त्यहाँ नभेटिएका मानिसहरूको परिवार सम्भावित खबरको पर्खाइमा बसेका छन्। रातभर खोजी कार्य जारी राख्न घटनास्थलमा बत्ती र जेनेरेटरहरू ल्याइएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।
मध्य-पूर्वी सहर क्रेमेन्चुक रुसी नियन्त्रण क्षेत्रबाट करिब १३० किलोमिटर टाढा छ।
राष्ट्रपति जेलेन्स्कीले उक्त मलको रुसका निम्ति कुनै रणनीतिक अर्थ नभएको र त्यसलाई कब्जा गर्ने सेनाहरूलाई कुनै जोखिम नभएको बताए। "त्यहाँ मानिसहरूको सामान्य जीवन बिताउने प्रयास मात्र गरेका हुन् जसले नियन्त्रकहरूलाई क्रोधित बनाउँछ।"
उनले यस आक्रमणलाई "युरोपेली इतिहासमा सबैभन्दा निर्लज्ज आतङ्कवादी कार्य"को रूपमा व्याख्या गरे।
कस्तो छ घटनास्थलको अवस्था?
बीबीसीकी संवाददाता सोफी विलियम्सका अनुसार क्षेप्यास्त्र प्रहार भएको घण्टौँ पछिसम्म पनि सहरमा धुवाँको गन्ध आइरहेको छ। घटनास्थलमा भवनको भग्नावशेष मात्र बाँकी छ।
त्यस क्षेत्र एकदमै शान्त रहको र उद्धारकर्ताहरूले भग्नावशेषहरू सार्दै त्यस मुनि मानिसहरूलाई खोजिरहेको उनले बताइन्।
एक अधिकारीले आगो पूर्ण रूपमा निभे पनि भवनबाट धुवाँ निस्किरहेको जानकारी दिएका छन्।
मलमा स्थानीय समय अनुसार चार बजे आक्रमण भएको र घटना हुँदा भित्र कति जना थिए भन्ने कुरा अझै स्पष्ट नभएको बताइएको छ।
युक्रेनी वायुसेना कमान्डले लामो दूरीको टीयू-२२ एम ३ बाट केएच-२२ क्षेप्यास्त्र प्रहार भएको बताएको छ। तर, यस दाबीलाई बीबीसीले पुष्टि गर्न सकेको छैन।
"सपिङ सेन्टर ध्वस्त भएको थियो। यसअघि सहरको बाहिरी भागमा आक्रमण भएका थिए। यो त सहरको केन्द्र हो," एक जना प्रत्यक्षदर्शी वाद्यम युदेन्कोले बीबीसीलाई भने।
"मसँग अहिले बोल्नका निम्ति शब्दहरू छैनन्। मेरो सहरमा यस्तो घटना हुन सक्छ भन्ने मैले कल्पना गरेको थिइनँ," उनले भने।
जी सेभेन समूहले अन्य विषयसँगै रुसमाथिको प्रतिबन्धमा कडाइ गर्ने विषयमा छलफल गर्न भेला भए लगत्तै आक्रमण भएको हो। घटनापछि यस समूहले युक्रेनलाई "निरन्तर आर्थिक, मानवीय र सैन्य सहयोग उपलब्ध गराउने" जनाएका छन्।
क्रेमलिनले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, गैर सैनिकमाथि प्रहार गर्नु आफ्नो उद्देश्य नभएको बताउँदै आएको छ।