इलोन मस्कः अर्बपति व्यापारीकी पारलैङ्गिक छोरीले बुवासँग नाता तोड्दै

"जन्म दिने बुवासँग कुनै पनि तरिका, आकार वा रूपमा जोडिरहन नचाहेको" भन्दै अमेरिकी अर्बपति इलोन मस्ककी पारलैङ्गिक छोरीले कानुनी रूपमा आफ्नो नाम र लिङ्ग परिवर्तन गर्न निवेदन दिएकी छन्।

मस्ककी १८ वर्षीया पारलैङ्गिक छोरीले महिलाको रूपमा आफ्नो पहिचान कायम गर्न र नाम भिभिआन जेना विल्सन राख्न आग्रह गरेकी छन्।

अहिलेको उनको नाम जेभिएर एलेक्सान्डर मस्क हो।

नाम परिवर्तन र नयाँ जन्मदर्ताका लागि उनले सान्टा मोनिकास्थित लस एन्जलस अदालतमा निवेदन दिएको बताइएको छ।

उनको अदालतमा एप्रिलमै निवेदन दिएको भए पनि त्यो दस्तावेज अहिले मात्रै सार्वजनिक भएको हो।

मस्क र उनकी पारलैङ्गिक छोरीबीच देखिने गरी कुनै विवाद रहेकोबारे विस्तृत विवरण बाहिर आएको छैन।

टेस्ला र स्पेसएक्स कम्पनीका मालिक मस्कले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

मस्क र भिभिआनकी आमा क्यानडियाली लेखक जस्टिन विल्सनबीच सन् २००० देखि २००८ सम्म वैवाहिक सम्बन्ध थियो।

सन् २००८ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

उनीहरूको पहिलो छोरा नेभादा सन् २००२ मा जन्मिएको थियो। तर १० हप्तामै उनको मृत्यु भयो।

त्यसपछि उनीहरूले जुम्ल्याहा छोरा जेभिएर र ग्रिफिन पाए। जुम्ल्याहापछि तिम्ल्याहा छोरा पनि पाए।

तीबाहेक मस्कका अरू दुई सन्तान पनि छन्। मस्क प्रसिद्ध भए पनि उनका सन्तानहरू खासै चर्चामा आउन नचाहने खालका छन्।

आफ्ना सबै सन्तानलाई माया गर्छु भन्दै फादर्स डेको अवसरमा मस्कले ट्वीट गरेका थिए।

पारलैङ्गिक छोरीले आफूसँग नाता तोड्ने निर्णय गरेको विषयमा मस्कले कुनै प्रतिक्रिया जनाएका छैनन्।

तेस्रोलिङ्गीका विषयमा मस्क प्रखर रूपमा बोल्दै आएका छन् र कैयौँ विवादमा उनलाई तेस्रोलिङ्गी विरोधीका रूपमा चित्रण गरिएको छ।