तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्विटरः अर्बपति इलोन मस्क स्वामित्व खरिद गर्ने सम्झौताबाट अलग भए के हुन्छ
अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताको सङ्ख्याबारे थप बुझ्न आफूले गरेको आग्रहलाई "रोकिएको" आरोप लगाउँदै ट्विटर कम्पनी खरिद गर्ने सम्झौताबाट आफू अलग हुन सक्ने चेतावनी दिएका छन्।
गत एप्रिलमा ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनीको स्वामित्व खरिद गर्ने मस्कको प्रस्तावमा सहमत भएको थियो।
नियामक निकायहरूलाई पठाइएको एउटा पत्रमा मस्कले 'स्प्याम अकाउन्टहरू' को हकमा आफ्नै ढङ्गले अगाडि बढ्ने बताएका छन्।
मस्कले ट्विटरको स्वामित्व खरिद गर्ने सम्झौता "थाती" राखेको घोषणा गरेपछि हप्तौँदेखि जारी रहेको विवादलाई पछिल्लो पत्रले औपचारिकता दिएको छ।
आरोपप्रत्यारोप
ट्विटरले आफ्नो अनुमानको प्रतिरक्षा गरेको छ। तर मस्कका अनुसार स्प्याम र नक्कली अकाउन्टहरू ५ प्रतिशतभन्दा कम रहेका दैनिक प्रयोगकर्ताहरूभन्दा निकै बढी छन्।
"आजको मितिसम्म ट्विटरको बेहोरा र खासगरी उसको पछिल्लो इमेल हेर्दा मस्कलाई लाग्छ कि उक्त कम्पनीले सक्रियतापूर्वक प्रतिवाद गरिरहेको छ र सूचनासम्बन्धी उनको अधिकारलाई रोकिरहेको छ," वकिल माइक रिङ्लरले पत्रमा लेखेका छन्।
ट्विटरले स्वामित्व विक्रीसम्बन्धी सम्झौताको उल्लङ्घन गरेको आरोप पनि लगाइएको छ। यो विवादले ट्विटरको स्वामित्व परिवर्तनको भविष्यबारे थप आशङ्काहरू बढाएको छ।
ट्विटरले कम्पनी गाभिनेसम्बन्धी सम्झौताअनुरूप "मस्कसँग निरन्तर सूचना शेअर गर्दै आएको र गरिरहने" एउटा वक्तव्यमार्फत् जनाएको छ।
सम्झौता गरिएको मूल्य र सर्तअनुसार स्वामित्व परिवर्तन प्रक्रिया पूरा गर्न तयार रहेको पनि उक्त कम्पनीले स्पष्ट पारेको छ।
सम्झौताबाट अलग हुने निर्णय गरे मस्कले एक अर्ब डलर तिर्नुपर्ने र मुद्दाको पनि सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ।
मस्कले गत महिना पहिलो पटक स्प्याम अकाउन्टहरूबारे प्रश्न उठाएका थिए।
यद्यपि ट्विटरसँग गरेको सम्झौताप्रति आफू प्रतिबद्ध रहेको उनले दाबी गरेका थिए।
विश्लेषकहरूका अनुसार टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले यो मुद्दालाई कि ट्विटरको मूल्यबारे पुनः सम्झौता गर्नका लागि कि त सम्झौताबाट अलग हुनका लागि प्रयोग गरको हुन सक्छ।
यो मुद्दालाई सामाजिक सञ्जालमा उठाउने मस्कको निर्णय अस्वाभाविक भएको र उनी कति गम्भीर छन् भन्ने कुरा बुझ्न गाह्रो भएको पनि विश्लेषकहरूको भनाइ छ।
ट्विटरको स्वामित्व खरिद गर्ने सम्झौता गरेको दुई दिनपछि मस्कले टेस्ला कम्पनीको करिब चार अर्ब डलर बराबरको शेअर विक्री गरेका थिए।
अमेरिकी सरकारी अभिलेखअनुसार दुई दिनमा उनले टेस्ला कम्पनीका ४४ लाखवटा शेअर विक्री गरेका थिए।