ब्रजिल: एमजन जङ्गलबाट हराएका पत्रकार र स्थानीय विज्ञलाई 'गोली हानिएको' प्रहरीको भनाइ

बेपत्ता

तस्बिर स्रोत, EPA

ब्रिटिश पत्रकार डोम फिलिप्स र ब्रजिलका आदिवासी विज्ञ ब्रुनो पेरेइरालाई गोली हानेर मारेको एक सन्दिग्धले स्वीकारेको ब्रजिलको प्रहरीले जनाएको छ।

वृत्तचित बनाउने क्रममा दुवैजना एमजन जङ्गलबाट हराएका थिए।

अनुसन्धान अधिकारी एडुआर्डो फोन्टेसका अनुसार अमारिल्डो नाम गरेका सन्दिग्धले अनुसन्धानकर्ताहरूलाई एक स्थानमा लगेका थिए जहाँ खनेर मानव अवशेष निकालिएको छ।

शवको पहिचान गर्नका लागि ब्रजिल प्रहरीले इन्टरपोलसँग मिलेर काम गर्ने उनले बताए।

दुई सन्दिग्ध पक्राउ

घटनासँग सम्बन्ध भएको आशङ्कामा दुई दाजुभाइलाई पक्राउ गरिएको छ।

अनुसन्धान अधिकारी फोन्टेसले पत्रकारहरूलाई भनेः "पहिलो सन्दिग्धले अपराधबारे विस्तृत रूपमा बताउँदै शवहरू पुरेको स्थानबारे सङ्केत गरेका थिए।"

अर्का सन्दिग्ध ओसिनी डा कोस्टा डे ओलिभेइराले आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

घटनालाई लिएर थप गिरफ्तारी हुन सक्ने बताउँदै प्रहरीले दुई व्यक्तिलाई मार्नुको उद्देश्यबारे अनुसन्धान भइरहेको जनाएको छ।

सन्दिग्ध

तस्बिर स्रोत, Reuters

यही जुन महिनाको ५ तारिखदेखि ५७ वर्षीय फिलिप्स र ४१ वर्षीय पेरेइरा एमजन जङ्गलको दुर्गम भेगबाट हराइरहेका थिए।

एउटा वक्तव्यमार्फत्‌ फिलिप्सकी श्रीमती एलेसान्ड्रा साम्पाइओले भनेकी छन्: "हुन त हामी अझै अन्तिम पुष्टिको पर्खाइमा छौँ, तर डोम र ब्रुनो कहाँ छन् भन्ने पीडादायी प्रतीक्षा सकिएको छ।"

"अब हामी उनीहरूलाई घर ल्याएर मायापूर्वक अन्तिम बिदाइ गर्न सक्छौँ।"

न्यायको खोजी

अब न्यायको खोजी गर्ने शुरूवात भएको साम्पाइओले बताएकी छन्।

एमजन क्षेत्रको आदिवासी सङ्गठन युनिभाजाले पहिलो पटक ती पत्रकार र विज्ञ हराएको विषयमा अधिकारीहरूलाई जानकारी दिएका थिए।

ब्रिटिश नागरिक फिलिप्स एक दशकभन्दा बढी समयदेखि ब्रजिलमा बस्दै आएका थिए र लामो समय उनले द गार्डिअन पत्रिकाका लागि लेखेका थिए।

पछिल्लो समय उनी एमजन क्षेत्रबारे एउटा किताब लेख्ने काममा जुटेका थिए।

ब्रजिलको आदिवासी मामिलासम्बन्धी निकाय फुनाइमा कार्यरत पेरेइरा बिदामा थिए। उनी बाँकी संसारको सम्पर्कबाहिर बस्ने आदिवासीबारे विज्ञ थिए।