कोरोना भाइरस र पर्यावरण: के विश्वव्यापी महामारीले वन विनाश गर्न सहयोग पुगिरहेको छ?

तस्बिर स्रोत, Getty Images
- Author, किम्बर्ली ब्राउन
- Role, बीबीसी फ्यूचर
लकडाउनका विभिन्न उपायहरू विश्वभरि अपनाइएका बेला पर्यावरणलाई राम्रो भइरहेको तपाईँलाई लागेको हुनसक्छ।
सहरमा प्रदूषण कम भएको छ, जङ्गली जनावरहरू सहरी क्षेत्रमा देखिन थालेका छन् र विश्वभरि साइकलका लागि नयाँ लेनहरू खुलेका छन्।
तर विश्वको उष्ण जङ्गल क्षेत्रको कथा अर्कै छ।
लकडाउनका बेला विश्वभरि नै वन फँडानी, जङ्गली जनावरहरूको तस्करी र अवैध खनिज उत्खनन् वृद्धि भइरहेको पर्यावरणमा काम गर्ने निकायहरूले बताएका छन्।
यो प्रवृत्ति खतरनाक रूपमा बढिरहेको भन्दै विज्ञहरूले पुरानै अवस्थामा ल्याउन कठिन हुनसक्ने बताएका छन्।
एउटा गैरसरकारी संस्था कन्जरभेसन इन्टरन्याश्नलका कार्यकारी उपाध्यक्ष सेबास्टियन ट्रइङ्गले भने, "कोभिड-१९ का बेला प्रकृतिले विश्राम पाएको छ भनेर जसरी व्याख्या गरिएको छ, त्यो पूर्ण रूपमा ठीक होइन।"
"सहरी क्षेत्रमा त्यो ठीक हो। तर दुर्भाग्यवश ग्रामीण क्षेत्रमा भने अवस्था लगभग उल्टो छ।"
लकडाउन सुरु भएयता समस्या कति बढ्यो भन्ने विस्तृत तथ्याङ्क निकाल्न अहिले धेरै चाँडो हुने ट्रइङ्गले बताए।
तर उनले आफ्ना कार्यालयले विश्वभरिबाट दैनिकजसो वन फँडानीमा वृद्धि भएका खबरहरू पाइरहेको बताए।

तस्बिर स्रोत, Getty Images
ब्राजिल र कोलम्बियामा काठका लागि रुख बेच्ने र अवैध खानी चलाउने काममा वृद्धि भएको छ; फिलिपिन्समा पनि अवैध रुख व्यापार र जङ्गली जनावरको तस्करी वृद्धि भएको छन्।
केन्यामा मासुका लागि जङ्गली जनावरको सिकार गर्ने अनि हात्तीका विभिन्न अङ्गको अवैध व्यापारमा वृद्धि भएको विवरणहरू छन्।
त्यस्तै केन्यामा सन् २०१८ यता कोइला उत्पादनलाई गैरकानुनी घोषणा गरे पनि त्यसमा अहिले वृद्धि भएको बताइएको छ।
कम्बोडियामा पनि जङ्गली जनावरको सिकार, गैरकानुनी काठ व्यापार र खानीको काममा वृद्धि भएको छ। त्यस्तै खबरहरू भेनेजुएलाबाट पनि आएका छन्।
अवसर र आवश्यकता
दक्षिणपूर्वी एशियाका देशमध्ये वन फँडानी धेरै हुने गरेका मलेशिया र इन्डोनेशियामा यसलाई लिएर चिन्ता व्यक्त भएका छन्।
इक्वेडरमा रहेका आदिवासी र अफ्रिकी मूलका समुदायहरूले चोको र अमेजन जङ्गलमा अवैध रूपमा खनिज निकाल्ने काम भइरहेको बताएका छन्।
ट्रइङ्गका अनुसार यो प्रवृत्ति दुई मुख्य कारणले बढेको हुनसक्छ।
पहिलो कारण आपराधिक समूह र अवसरवादीहरू हुन् जसले लकडाउनको फाइदा उठाएर वन जङ्गलमा सरकारको उपस्थिति कम भएको मौका छोपेर आफ्ना गतिविधि बढाउँछन्।

तस्बिर स्रोत, Getty Images
द्वन्द्व र रोगको कारक
दोस्रो कारण चाहिँ यी ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूले झेलिरहेको बढ्दो आर्थिक दबाव हो जसले गर्दा उनीहरू पेट पाल्नका लागि धेरै हदसम्म प्रकृतिमा भर पर्न बाध्य छन्।
म्यादागास्कार र कम्बोडियामा भने सहरी क्षेत्रमा रहेको ठूलो सङ्ख्या क्वारन्टीनका बेला जागिर गुमाएपछि ग्रामीण भेगमा बसाइँ सरेका छन् वा घर फर्किएका छन् जसले गर्दा स्थानीय पर्यावरणमाथि थप दबाव परेको छ।

तस्बिर स्रोत, Getty Images
अध्ययनहरूले पनि जङ्गलको पर्यावरणीय चक्र विनाश गर्दा जनावरबाट मानवमा नयाँ रोगहरू सर्नसक्ने चिन्ता उब्जाएका छन्।
वायुमण्डलबाट कार्बन डाइअक्साइड सोस्न उष्ण क्षेत्रमा रहेका जङ्गलहरू महत्त्वपूर्ण भएकोले यसले जलवायु परिवर्तनसँग जुध्ने हाम्रो क्षमतामा पनि असर गर्छ।
अमेजन
अहिले व्यक्त भएका चासोमध्ये एउटा ठूलो चासो भनेको ब्राजिलको अमेजन जङ्गलबारे हो।
त्यहाँ पहिला कहिल्यै नदेखिएको मात्रामा वन फँडानी भएको छ, आदिवासीको भूभागमा अवैध खानीको काम बढेको छ र अमेजन समुदायमा कोभिड-१९ व्यापक देखिएका छन्।
ब्राजिलमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेब्रुअरी २८ मा पुष्टि भएको थियो। तर त्यसयता सरकारले राज्य र नगरस्तरमा लकडाउनका विभिन्न उपायहरू अपनाउँदा अर्थतन्त्र ठप्प भए पनि वन फँडानी भने रोकिएको छैन।
ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकाय आईएनपीइका अनुसार गत वर्ष एप्रिलको तुलनामा यो वर्ष एप्रिलमा ६४ प्रतिशतले वन विनाश बढेको छ।
सन् २०२० को पहिलो चार महिनामा अघिल्लो वर्षको तुलनामा वन विनाश ५५ प्रतिशतले बढेको छ जसले १,२०२ वर्ग किलोमिटर क्षेत्र उजाड बनाएको छ।

तस्बिर स्रोत, Getty Images
ब्राजिलमा गत वर्ष राष्ट्रपति जइर बोल्सोनारोको कार्यकाल सुरु भएदेखि वन विनाशको कार्य तीव्र रूपमा बढेको हो। शपथ लिएलगत्तै उनले अमेजन रेनफरेस्टको विकासबारे प्रचारप्रसार गर्न थाले। उनले उक्त क्षेत्रमा रहेका आदिवासी समुदायलाई गरिबीबाट बाहिर ल्याउन आवश्यक रहेको बताए।
गत साता बोल्सोनारोले काठको अवैध व्यापार रोक्न र आगलागीसँग जुध्नका लागि अमेजनमा सेना परिचालन गर्ने अधिकार दिए।
तर यसले दीगो समाधान नगर्ने वातावरणविद्हरूले बताएका छन्।
लकडाउनका बेला वन विनाश बढिरहेकाले यो वर्षको सुख्खा मैसममा गत वर्षभन्दा ठूलो डढेलो लाग्ने भन्दै चिन्ता व्यक्त गरिएका छन्।

तस्बिर स्रोत, Getty Images
समाज परिवर्तनको चुनौती
कोलम्बियामा सन् २०१६ मा विद्रोही समूह फार्क र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि वर्षावनको विनाश महत्त्वपूर्ण चासोको विषय बनेको छ।

तस्बिर स्रोत, AFP
जङ्गलमा रहेका छापामारहरूलाई अन्यत्र परिचालन गरिएपछि त्यो क्षेत्रमा शोषण सुरु हुन थाल्यो।
सशस्त्र समूह र अन्य सङ्गठित अपराधमा संलग्न भएकाहरूले थुप्रै क्षेत्रमा वस्तुभाउ पाल्न र चराउनका लागि जङ्गल मासे।
लकडाउनले द्वन्द्वपछि संरक्षणलगायत सबै कामकारवाही स्थगित भएका छन्। सुदूर क्षेत्रमा रहेको यो समुदाय शिक्षा र स्वास्थ्यलगायतका सार्वजनिक सेवाबाट वञ्चित छ।
समाधान सहज छैन
अहिले जारी रहेको वन फँडानी र गैरकानुनी गतिविधिको समाधान त्यति सहज नभएको कोलम्बिया अमेजन संरक्षण टोलीकी क्षेत्रीय निर्देशक क्यारोलिना गिल बताउँछिन्।
उनका अनुसार यसका लागि वन क्षेत्रमा सरकारको राम्रो अनुगमन, सङ्गठित अपराधमाथि कारबाही र वनमा रहेका समुदायलाई मद्दत पुग्ने कार्यक्रमहरू हुनुपर्छ।
उनी भन्छिन्, "त्यसका लागि सहर र विदेशमा बस्ने गरेका मानिसहरूको गाईको मासुदेखि कोकेनसम्म उपभोग गर्ने बानीले जङ्गलको विनाशमा उनीहरूको भूमिका के छ भनेर बुझ्नुपर्छ।"
"वन फँडानीबारे हामीमा धेरै विवेकपूर्ण र कठोर बुझाइ हुनुपर्छ। त्यो केवल जङ्गलमा मात्रै होइन, अर्थतन्त्रबारे निर्णय गरिने ठाउँमा पनि त्यो हुनसक्छ," गिल भन्छिन्।

तस्बिर स्रोत, Getty Images
वनविनाशका यस्ता आयामहरू देखिएका बेला विश्वभरिका निर्णयकर्ताहरू सचेत हुन आवश्यक छ। अर्थतन्त्र सुधारका लागि फेरि स्रोतहरूमा लगानी गर्नेबारे उनीहरूले सोचिरहेका बेला यो महत्त्वपूर्ण छ।
"मलाई लाग्छ त्यहाँ पक्कै पनि अवसर छ," सेबास्टियन ट्रइङ्गले भने।
"यस्ता नकारात्मक प्रवृत्तिलाई कसरी उल्ट्याउन सकिन्छ भनेर उपाय खोजौँ किनभने जलवायु परिवर्तनविरुद्धको लडाइँमा हामीलाई त्यो आवश्यक पर्नेछ।"
लकडाउन हटे पनि बढ्दो वन फँडानीको काम रोकिने देखिँदैन; अर्थतन्त्र सुधारका लागि दबाव पनि उस्तै रहनेछ।









