नेपाली क्रिकेटः अमेरिकामा आईसीसी विश्वकप क्रिकेट लीग २ मा उत्कृष्ट नतिजा निकाल्न कस्तो चुनौती

    • Author, ‏निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपालले २०७४ सालको चैत १ गते एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्र (ओडीआई) को मान्यता पाएको थियो।

नेपाली क्रिकेटका लागि यो मान्यता अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। त्यो उपलब्धिले नेपाली क्रिकेटको मुहार नै फेर्ने काम गर्‍यो।

एकदिवसीय मान्यता पाएको पुरस्कारस्वरूप नेपालले 'आईसीसी विश्वकप क्रिकेट लीग २' को नामबाट चार वर्षको अवधिमा ३६ वटा एकदिवसीय क्रिकेट खेल्ने मौका पायो।

अन्योलपूर्ण भविष्यको डर बोकेका खेलाडीहरूको लागि निःसन्देह यो शृङ्खला 'सञ्जीवनी बुटी' नै बन्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका सात देशबीच भइरहेको त्यही शृङ्खलाका कारण नेपाली क्रिकेट चलायनमान छ।

सोही शृङ्खलाका खेल खेल्न अहिले नेपाली टोली अमेरिका पुगेको छ।

नेपालका लागि किन महत्त्वपूर्ण?

अमेरिका, ओमान र नेपाल सम्मिलित चार खेलको यो प्रतिस्पर्धा भने नेपालको लागि बेग्लै महत्त्वको देखिन्छ।

आईसीसी विश्वकप क्रिकेट लीग २ का शीर्ष तीन स्थानमा पर्ने राष्ट्र अर्को वर्ष २०२३ को जुन-जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्ने छन्।

अनि शीर्ष पाँचभित्र रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यतालाई चार वर्षका लागि पुन: जोगाउने छन्।

नेपालको लक्ष्य उत्कृष्ट तीन वा कम्तीमा उत्कृष्ट पाँचभित्र रहेर शृङ्खला टुङ्गग्याउनु हो।

नेपालका लागि श्रीलङ्काली मूलका प्रशिक्षक पुबुदु दशानायके यो लक्ष्यमा स्पष्ट छन्। उनी क्यानडाका नागरिक हुन्।

" उत्कृष्ट पाँचभित्र रहनु नेपालको लागि कठिन विषय हुँदै होइन," उनी भन्छन्।

तर त्यसका निम्ति अमेरिकामा हुने चार खेलको नतिजाले विशेष महत्त्व राख्ने छ।

नेपाल कस्तो दबावमा

कोरोनाभाइरस महामारीको जोखिमका कारण नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तालिका बिथोलियो र खेलाडीहरूले सोचे जस्तो प्रतियोगिता खेल्न पाएनन्।

त्यसैले नेपालले ३६ मध्ये १२ वटा खेल मात्र खेल्न भ्याएको छ।

यो सहभागी अन्य छ देश (ओमन, स्कटल्यान्ड, यूएई, अमेरिका, नामिबिया र पपुवा न्यूगिनी) को तुलनामा सबैभन्दा कम हो।

अर्को वर्षभित्र टुङ्ग्याउनुपर्ने हुनाले नेपालले बाँकी सबै २४ खेल खेल्ने सम्भावना पनि न्यून देखिन्छ।

यस्तो अवस्थामा आईसीसीले यदि पूरा खेल नखेलिएको अवस्थामा विजयको प्रतिशतको आधारमा निर्णय गर्ने जनाइसकेको छ।

नेपालले अहिलेसम्म खेलेको १२ खेलमा छ वटामा विजय प्राप्त गरेको छ भने छ वटामा हार बेहोरेको छ। अर्थात् विजयको प्रतिशत ५० छ।

त्यसैले अमेरिका भ्रमणमा नेपालले खेल्ने चार खेलमा बढीभन्दा बढी खेल जित्नुपर्ने दबावमा नेपाली टोली छ।

प्रशिक्षक पुबुदु दशानायकेले बीबीसीसँग भनेः "हाम्रो लक्ष्य यहाँ चारवटै खेल जित्नु हो। यो जरुरी छ र हामी त्यसका लागि सक्षम छौँ।"

नेपालको समस्या के हो

नेपालको लागि नराम्रो खबर के भयो भने अमेरिका पुगेको नेपाली टोली अनपेक्षित चोट खेप्नुपर्‍यो।

पछिल्लो समय उदीयमान र भरपर्दो ठानिएका प्रारम्भिक ब्याटिङ जोडी कुशल भुर्तेल र आशिफ शेख दुवैलाई अभ्यासका क्रममा चोट लाग्यो।

टोलीको लागि यो राम्रो समाचार होइन।

अमेरिकाको मौसममा अभ्यस्त हुन १० दिन अगाडि त्यहाँ पुग्दा मैत्रीपूर्ण खेलमा पहिला शेख र त्यसपछि अभ्यासका क्रममा भुर्तेल घाइते भए।

उनीहरूको स्थानमा भेटेरान खेलाडी सुभाष खकुरेललाई बोलाइएको छ र उनीसँग सुनिल धमलाले इनिङ्सको सुरुवात गर्ने बताइएको छ।

यो परीक्षा नेपालको लागि जोखिमपूर्ण हुने चिन्ता कतिपयमा छ।

यद्यपि प्रशिक्षक दशानायके कम्तीमा पछिल्लो दुई म्याच खेल्न दुवै खेलाडी तन्दुरुस्त भइसक्ने विश्वासमा छन्।

उनी भन्छन्, "मलाई विश्वास छ प्रारम्भिक खेल गुमाए पनि उनीहरूले पछिल्लो दुई खेल खेल्न सक्ने छन्।"

नेपालले जेठ २६ गते राति ओमान र जेठ २८ मा अमेरिकासँग खेल्दै छ। जेठ ३१ मा ओमान र असार १ गते अमेरिकासँग बाँकी दुई खेल भएसँगै प्रतियोगिता टुङ्गिने छ।

अर्थात् भुर्तेल र शेखलाई खेल खेल्नका लागि निको हुन अब पाँच दिनको समय छ।

यो समस्याबाहेक नेपालको लागि ह्यूस्टनको गर्मी अर्को चुनौती हो। तर १० दिनको अभ्यासका क्रममा टोली यो चुनौतीका लागि अभ्यस्त भइसकेको ठानिएको छ।

प्रतिद्वन्द्वीको अवस्था

नेपालले लीग २ को आरम्भ दुई वर्षअगाडि काठमाण्डूस्थित कीर्तिपुर मैदानमा अमेरिका र ओमानविरुद्ध खेलेर गरेको थियो।

जहाँ नेपालले अमेरिकासँगको दुवै खेल जित्दा ओमानलाई भने दुवै खेल सुम्पेको थियो।

त्यसयता चार वर्षमा सबै टोलीहरूमा व्यापक परिवर्तन भइसकेको छ।

नेपाली टोली युवाहरूको हातमा पुगिसके जस्तो अवस्थामा छ भने अमेरिकी टोलीको संरचना पनि विगतभन्दा राम्रो बनिसकेको देखिन्छ।

त्यसैले खेलमा सबै पक्ष उत्तिकै बलियो बनेको बताइन्छ।

ओमान लीग २ को शीर्ष टोली हो। तर गत फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा ओमानलाई उनीहरूकै भूमिमा तीन खेलमा पराजित गरेकोले नेपाली खेलाडीहरूको मनोबल उच्च रहेको ठानिएको छ।

अमेरिका आफ्नो भूमिमा राम्रो नतिजा निकाल्ने पर्खाइमा हुने छ। नेपालको परिक्षा बिहीवार राति ओमानविरुद्ध खेलेर हुने छ।

लीग तालिकामा ओमानको ४० अङ्क छ। नेपाल १२ अङ्कसहित छैटौँ र अमेरिका २० अङ्कसहित चौथो स्थानमा छ।

यो शृङ्खलाको समाप्तिसँगै सबै ३६ खेल खेल्न भ्याएको ओमानको शीर्ष तीनमा रहने पक्कापक्की छ।

अब परीक्षा नेपाल र अमेरिकाको हुने छ।

कस्तो छ खेल तालिका?

  • जेठ २६ (जुन ९) - नेपाल र ओमान
  • जेठ २८ (जुन ११) - नेपाल र अमेरिका
  • जेठ ३१ (जुन १४) - नेपाल र ओमान
  • असार १ (जुन १५) - नेपाल र अमेरिका