तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप क्रिकेट लिग २: ओमानद्वारा नेपाल सहजै पराजित
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल बनाए पनि घरेलु मैदानमा ओमानसँग आठ विकेटले पराजित भएको छ।
नेपालले दिएको २५० रनको लक्ष्यलाई ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको छ।
ओमानका लागि अकिब इलयासले पहिलो एकदिवसीय शतक बनाउँदै विजय निश्चित गरेका हुन्।
३७ रनमा हुँदा अरिफ शेखले छोडेको क्याचको फाइदा उठाउँदै उनले १०८ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनाए।
प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा दोस्रो हार हो।
यसअघि पनि नेपाल ओमानसँग हारेको थियो भने अमेरिकालाई हराएको थियो।
कमजोर बलिङ
ओमानका कप्तान जीशान मकसूदले ६८ रन बनाएर नटआउट रहे।
आउट भएका खेलाडीहरू खभर अलीले ४१ र जतिन्दर सिंहले २३ रन बनाएका थिए।
नेपालका सुसन भारी र कुशल मल्लले १-१ विकेट लिएका हुन्।
नेपालका बलरहरू कमजोर साबित भएका थिए। सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्च गरे भने अर्का स्पीनर भारीले ७ ओभरमा ४० रन खर्चे।
अघिल्ला दुई खेलामा ८ विकेट लिएका करण केसीले पनि १० ओभरमा ४४ रन खर्चेर कुनै विकेट लिन सकेनन्।
नेपालको दोस्रो ठूलो योगफल
यसअघि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानलाई विजयका लागि २५० रनको लक्ष्य दिएको थियो।
विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा मल्लको ५६ रनको सहयोगले नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो।
यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो ठूलो योगफल हो।
पूर्वकप्तान पारस खड्काले ३८ रन बनाएका थिए भने विनोद भण्डारीले ३५ रन बनाए।
अरिफ शेख र कुशल मल्लले समान २८ रन बनाए। ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए।
टस जितेको ओमानका लागि इलयासले ४ र मोहम्मद नदिमले ३ विकेट लिए।
मल्लको अर्धशतक
नेपालका लागि कप्तान मल्लले राम्रो इनिङ खेलेका थिए।
नवौँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका मल्लले आफ्नो दोस्रो अर्धशतक र व्यक्तिगत उच्च रन बनाए।
उनले ७६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरेका थिए।
एक जित, दुई हार
नेपालले प्रतियोगितामा एक जित र एक हार हात पारेको छ।
शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको नेपाल बुधवार भने ओमानसँग १८ रनले पराजित भएको थियो।
सात देशले अगस्ट २०१९ देखि ज्यानुअरी २०२२ सम्म खेल्ने यो प्रतियोगिता सन् २०२३ को विश्वकपको छनोट प्रतियोगिता पनि हो।
स्कटल्यान्ड, नामिबिया, यूएई र पपुआ न्यूगिनी समेत रहेको प्रतियोगितामा अन्य टोलीले कम्तीमा ७ खेल खेलिसकेका छन्।