पोखराबाट जोमसोम उडेको तारा एअरको यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी कार्य मौसमका कारण प्रभावित

जोमसोममा तारा एअरको एउटा विमान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, जोमसोममा तारा एअरको एउटा विमान - फाइल तस्बिर

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेपछि सम्पर्कविहीन भएको तारा एअरको यात्रुवाहक विमानको अवस्था अझै पत्ता नलागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्।

उक्त ट्विनअटर 9NAET विमान सम्पर्कविहीन भएपछि त्यसलाई खोज्न हेलिकप्टर तथा स्थलमार्गबाट सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

तर प्रतिकूल मौसमका कारण खोजी कार्य प्रभावित भएको उड्डयन अधिकारी र नेपाली सेनाले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा चालकदलका तीन जनासहित २२ जना सवार थिए।

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।

जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।

पोखरा विमानस्थल

तस्बिर स्रोत, CAAN

तस्बिरको क्याप्शन, पोखराबाट उडेको केही मिनेटपछि विमान सम्पर्कविहीन भएको थियो

सम्पर्कविहीन विमानबारे हामीलाई के थाहा छ

तारा एअरले विमानमा चार जना भारतीय, दुई जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ९:५५ बजे उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो।

अपराह्ण जारी नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञप्तिमा उक्त विमान १०:११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा नआएको उल्लेख गरिएको छ। त्यसअघि जारी विज्ञप्तिमा प्राधिकरणले विमानसँग अन्तिम पटक घोडेपानी भन्ने स्थानमा १०:०७ बजे जाँदा सम्पर्क भएको जनाएको थियो।

विमान तथा उडानको तथ्याङ्क राख्ने बेवसाइट फ्लाइटरेडार२४ का अनुसार अहिले हराइरहेको विमानले आफ्नो पहिलो उडान ४३ वर्षअगाडि गरेको थियो।

फ्लाइटरेडारका अनुसार सम्पर्कविच्छेद हुनुअघि उक्त विमान १२,८२५ फिटको उचाइमा थियो। अन्तिम सम्पर्क हुँदा विमान रहेको स्थानको ल्याटिट्यूड र लङ्गिट्यूड सार्वजनिक गरेको छ।

GETTY
तारा एअरको 9NAET विमान

पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन

  • एप्रिल १९, १९७९पहिलो उडान

  • २२ जना सवारदुई जर्मन, चार भारतीय र अन्य नेपाली नागरिक

  • DHC-6-300ट्विनअटर

  • १२,८२५ फीटयूटीसी ०४:२२ बजे (नेपाली समयानुसार बिहान १०ः०७ बजे) विमान त्यति उचाइमा पुगेपछि सम्पर्कविहीन

स्रोतः Flightradar24

विमानचालकको फोन ट्र्याक गर्ने प्रयास

यसअघि विमानचालकको मोबाइल फोनमा घण्टी गइरहेको थाहा भएपछि त्यसको स्थान पत्ता लगाउने प्रयास गरिएको उडड्यन अधिकारीहरूले बताएका छन्।

जोमसोम विमानस्थलका एअर ट्राफिक कन्ट्रोलर सुशील रिसालका अनुसार मोबाइल ट्र्याक गरेर त्यस ठाउँमाथि हेलिकप्टर उडाइएको थियो। तर त्यसो गर्दा पनि कुनै सङ्केत नदेखिएको उनले बताए।

"अब हामी टुकुचे हिमालको क्षेत्रतिर हेलिकप्टर पठाएर खोज्ने तयारीमा छौँ। तर मौसम अस्थिर देखिन्छ - कतिखेर राम्रो, कतिखेर नराम्रो भइरहेको छ," उनले भने।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले अपराह्ण दोस्रो विज्ञप्ति जारी गर्दै सम्भावित स्थानका रूपमा न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटीताल क्षेत्रमा खोजतलास केन्द्रित गरिएको जनाएको छ।

केन्द्रका अनुसार प्रहरी र सेनाबाहेक हिमालय उद्धार सङ्घका उद्धारकर्ताहरूलाई परिचालन गरिएको छ।

नेपाली सेना के भन्छ

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार सम्पर्कविहीन विमान अझै पत्ता लागेको छैन।

उनका अनुसार "मानापाथी हिमालको फेदीमा विमान देखिएको" र त्यहाँ केही "जलिरहेको देखिएको" सूचना स्तानीयवासीले दिए पनि त्यसको पुष्टि हुन बाँकी छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"नेपाली सेना त्यहाँ नपुगी ... पुष्टि गर्न सकिँदैन। त्यसका लागि हामीले फौजलाई फरकफरक ठाउँमा खटाएका छौँ।"

सिलवालका अनुसार उक्त स्थान न्याउरीकोटबाट उत्तरपश्चिममा पर्छ र त्यहाँ पुग्न सेनालाई तीनदेखि चार घण्टा लाग्छ।

"उद्धारकार्यका निम्ति हेलिकप्टरसहित तयारी अवस्थामा छौँ, तर मौसम अनुकूल नभएका कारण सञ्चालन गरेका छैनौँ," उनले बीबीसीलाई बताए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उड्डयन अधिकारी के भन्छन्

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले अपराह्ण २:०० बजेपछि बीबीसीसँग "जहाज अझै लोकेट गर्न सकिएको छैन" भनेका थिए।

स्थानीय बासिन्दाले आवाज सुनेको भन्ने विवरण आए पनि प्रवक्ता कर्णले आफ्ना टोलीले त्यस्तो कुनै सङ्केत त्यतिबेलासम्म नभेटेको बताएका छन्।

"त्यस क्षेत्रमा दुईवटा हेलिकप्टर र जमिनमा खोजतलास टोलीहरू छन्। तर बादलले ढाकेको अवस्था छ। हामीलाई केही थाहा हुन सकेको छैन," उनले भने।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले नेपाली सेनाको हेलिकप्टर लेतेभन्ने स्थाननजिकै सम्भावित ठाउँमा खोज्न लागिएको बताएका छन्।

"[सेनाको] एमआई १७ जहाजले बन्दोबस्तीसहित विभिन्न ठाउँमा उतारेर खोज्ने काम हुँदैछ। मौसममा केही सुधार भएको भन्ने खबर समेत आइरहेको छ," उनले भने।

पोखरा-जोमसोम देखिने नेपालको नक्सा

'सम्भावित घटनास्थल लेते वा नजिकै'

मध्याह्न नेपाली सेनाले पैदल सैनिकहरू तथा उद्धारटोलीसहित हेलिकप्टरले उक्त विमान कहाँ छ भन्ने पत्ता लगाउन खोजिरहेको जानकारी दिएको थियो।

"सम्भावित घटनास्थल मुस्ताङको लेतेमा वा वरपर भएको ठानिएको छ," सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका थिए

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान देशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।

जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।

के भन्छन् प्रत्यक्षदर्शी

मुस्ताङको थासाङका स्थानीयवासीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले उक्त तारा एअरको विमान सामान्ययाभन्दा कम उचाइमा उडेको देखिएको थियो।

थासाङ गाउँपालिका-२ बोक्सेखोलाका विकल बागदासले हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि उक्त विमान दुई-तीनपटक घुमेको देखेको राससलाई बताएका छन्।

"हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो," उनले भने, "हल्का कुहिरो लागेर पानी परिरहेको थियो।"

उनले त्यसअघि मुस्ताङ जाने विमान त्यति धेरै तल आएको नदेखेको बताएका छन्।

"घरमै ठोकिन्छ जस्तो गरेर दुई-तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ," उनले भने, "केही बेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।"

मौसमको अवरोध

नेपाली सेना र प्राधिकरणका अनुसार मौसमका कारण खोजी कार्य प्रभावित भएको छ।

"विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिशटेल एअरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त पुन: जोमसोममै फर्किएको [छ]," प्राधिकरणले मध्याह्ण जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

काठमाण्डू, जोमसोम र पोखरा विमानस्थलमा मौसम सुधार हुनासाथ खोजी तथा उद्धारकार्यका लागि पठाउन थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन विमान खोज्न जान लागेको सेनाको हेलिकप्टर

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, खोजी तथा उद्धारकार्यका लागि काठमाण्डू, जोमसोम र पोखरा विमानस्थलमा हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ

यसअघि जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बीबीसीलाई "विमान सम्पर्कविहीन भएपछि धौलागिरि क्षेत्रमा खोजीका लागि हेलिकप्टर पठाइएको" जानकारी दिएका थिए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारीले पनि सम्पर्कविहीन विमानको खोजी भइरहेको बताएका थिए।

पोखरास्थित बीबीसी संवाददाता नारायण कार्कीले मुस्ताङ प्रहरी प्रमुख रामकुमार दानीलाई उद्धृत गर्दै बाक्लो हुस्सुका कारण खोजी कार्यमा कठिनाइ भएको र मौसमका कारण हेलिकप्टरबाट खोज्ने काममा बाधा उत्पन्न भएको बताएका छन्।

प्राधिकरणका अनुसार स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी पनि त्यसतर्फ पठाइसकिएको छ।

स्थान र मौसम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान कार्यालय गौचरणले बिहान १० बजेको समयमा पोखराबाट जोमसोम तर्फको क्षेत्रमा बादल लागेको हुनसक्ने जनाएको छ।

पोखरा-जोमजोम हवाईमार्गमा पहाडी खोँचहरू पर्छन्। तीव्र गतिमा चल्ने वायुका कारण जोमसोम विमानस्थल दुवैलाई उड्डयन क्षेत्रका जानकारहरूले चुनौतीपूर्ण मान्ने गरेका छन्।

सन् २०१६ को फेब्रुअरी २४ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दी जिल्लाको दानामा दुर्घटनाग्रस्त हुँदा २३ जना मानिसको मृत्यु भएको थियो।

दुर्घटनामा नेपाल, चीन र कुवेतका नागरिक परेका थिए।

विमानस्थलबाट उडेको १० मिनेटपछि उक्त ट्विन-अटर विमान सम्पर्कविहीन भएको थियो।

त्यसअघि सन् २०१२ मा पोखराबाट उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो।

सन् २०१३ मा समेत त्यहाँ नेपाल एअरलायन्सको विमान दुर्घटना भएको थियो। तर त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन।

तारा एअर खासगरी नेपालका पहाडी तथा हिमाली भेगमा छोटा धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने विमानसेवा कम्पनी हो। यो यती एअरको सहायक कम्पनी हो।

सन् २००९ मा स्थापना भएयता मात्र तारा एअरका पाँचवटा विमान दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणले देखाउँछ। तीमध्ये दुईवटामा कैयौँ मानिसको ज्यान जानेगरी मानवीय क्षति भएको थियो।