चाइना इस्टर्न विमान दुर्घटना: जानाजान गराइएको हुनसक्ने अमेरिकी सञ्चारमाध्यमका विवरण

चाइना इस्टर्न विमान दुर्घटना

तस्बिर स्रोत, Getty Images

मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एअरलाइन्सको विमान जानाजान जोताइएको अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन्।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म उक्त विमानमा कुनै प्राविधिक वा अन्य समस्या फेला नपारेको प्रतिवेदनमा जनाइएको छ।

दुर्घटनामा परेको बोइङ ७३७-८०० दक्षिणी चिनियाँ शहर कुनमिङ र ग्वाङझाउबीच उडानमा थियो।

दुर्घटनामा चालक दलका सदस्य र १३२ जना यात्रुको मृत्यु भएको थियो।

के विवरण आएका छन्

यस विषयमा पहिलो सामग्री प्रकाशित गरेको द वाल स्ट्रीट जर्नलले उक्त दुर्घटनाको प्रारम्भिक विश्लेषण गरेका अमेरिकी अधिकारीसँग जानकार एक जना व्यक्तिलाई उद्धृत गर्दै लेखेको छ, "ककपिटमा भएका कसैले जे गर्न भन्यो, विमानले त्यसै गर्‍यो।"

विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर दुर्घटनाग्रस्त क्षेत्रबाट फेला परेको थियो। त्यसले विमानलाई दिइएको निर्देशनले त्यसलाई लगभग ठाडो ठोक्काइदिएको विवरणमा उल्लेख गरिएको छ।

एबीसी न्यूजले पनि अमेरिकी अधिकारी उद्धृत गर्दै जानीजानी उक्त दुर्घटना गराएको समाचार प्रसारण गरेको छ।

दुर्घटनाका अनुसन्धानकर्ताहरूले त्यो विमानभित्रका गतिविधिका कारण जानाजान गराइएको हो कि होइन भनेर जाँच गरिरहेको र विमानमा प्राविधिक गडबडीको कुनै प्रमाण नदेखिएको यो विषयबारे जानकारी दिइएका दुई जना व्यक्तिलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले लेखेको छ।

चीन

चाइना इस्टर्न एअरलाइन्सले विगतमा तीनै जना विमानचालक दक्ष रहेको र उनीहरूको स्वास्थ्य राम्रो रहेको बताएको थियो।

उक्त एअरलाइन्सले वाल स्ट्रीट जर्नललाई अलग्गै बताए अनुसार विमानचालकहरू आर्थिक रूपमा कुनै समस्यामा रहेको सङ्केत थिएन।

एअरलाइन्सले बीबीसीले प्रतिक्रिया मागेपछि तत्कालै कुनै जवाफ दिएको छैन।

चिनियाँ भनाइ के छ

अनुसन्धानको नेतृत्व गरिरहेको सिभिल एभिएशन एड्मिनिशट्रेशन अफ चाइना सीएएसीले बीबीसीले प्रतिक्रिया माग्दा तत्कालै जवाफ दिएको छैन।

अघिल्लो महिना सीएएसीले नियतवश विमान दुर्घटना गराइएको हुनसक्ने विवरणले 'गम्भीर रूपमा सर्वसाधारणलाई भ्रममा पारेको' र 'दुर्घटनाको अनुसन्धानको काममा हस्तक्षेप गरेको' बताएको थियो।

अनुसन्धानकर्ताहरूले अहिले पनि फ्लाइट डेटा र विमानका भग्नावशेषको विश्लेषण गरिरहेको चिनियाँ सरकारी सञ्चारमाध्यम द ग्लोबल टाइम्सले बुधवार जनाएको छ।

उसले सीएएसीले सो दुर्घटनाको अनुसार वैज्ञानिक, द्रुत र व्यवस्थित रूपमा' गर्ने पनि जनाएको छ।

वासिङ्टनस्थित चिनियाँ दूतावास, अमेरिकी यातायात सुरक्षा बोर्ड र विमान निर्माता बोइङले वाल स्ट्रीट जर्नलका विवरणबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्थाले तय गरेको नियमलाई ध्यान दिँदै उनीहरूले त्यस्तो भनेका हुन्।

चिनियाँ विमान

तस्बिर स्रोत, Getty Images

"दुर्घटनाको अनुसन्धानसम्बन्धी नियमका अनुसार मात्रै अनुसन्धानकर्ता निकायले मात्रै सार्वजनिक रूपमा हवाई दुर्घटनाबारे प्रतिक्रिया जनाउन सक्छन्," बोइङ प्रवक्ताले बीबीसीलाई बुधवार बताए।

उक्त कम्पनीले विगतमा आफूले अनुसन्धानमा चीनलाई सघाइरहेको र अमेरिकी यातायात सुरक्षा बोर्डसँग सम्पर्कमा रहेको उल्लेख गरेको थियो।

आम रूपमा चिनियाँ वायुसेवामा हवाई सुरक्षा दर राम्रो रहेको छ।

अन्तिम पटक १२ वर्षअघि त्यहाँ ठूलो हवाई दुर्घटना भएको थियो।

पछिल्लो पटक दुर्घटना भएको चाइना इस्टर्न एअरलाइन्सको प्लेन सात वर्षभन्दा कम पुरानो रहेको थियो।