चीन विमान दुर्घटना: दुर्घटनामा पर्नेहरूको खोजी तीव्र, भारतमा सोही मोडलका विमान 'उच्च निगारानीमा'

खोजीमा उद्धारकर्ताहरू

तस्बिर स्रोत, Reuters

दक्षिणी चीनमा दुर्घटनामा परेको विमानका यात्रु र चालकदलका सदस्यको खोजीमा उद्धारकर्ताहरू जुटिरहँदा उनीहरूका परिवार सूचनाको व्यग्र प्रतीक्षामा नजिकैको विमानस्थलमा जम्मा भएर बसेका छन्।

चीनमा विमान दुर्घटनाग्रस्त भएपछि बोइङ ७३७ मोडलका विमानहरूलाई भारतले पनि उच्च निगरानीमा राखेको अधिकारीहरूले बताएका छन्।

चालकदलका सदस्यसहित १३२ जना सवार चाइना ईस्टर्नको उडान नम्बर एमयू ५७३५को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनाले चीनभरि मानिसहरू शोकमग्न छन्। राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न आदेश दिएका छन्।

दुर्घटनामा परेकाहरूको जीवितै उद्धार गर्ने सम्भावना कम रहेको भन्दै उद्धारकर्ताहरू चिन्तित देखिएका छन्। तर मङ्गलवार अबेरसम्म कति जना हताहत भए भन्ने विवरण सार्वजनिक भएको छैन।

आफन्त

तस्बिर स्रोत, Reuters

घटनास्थलमा सयौँको सङ्ख्यामा उद्धारकर्ताहरू परिचालन भएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले विकट पहाडी भूभागबाट विमानका भग्नावशेषहरू सङ्कलन भइरहेको र अझै खोजी जारी रहेको उल्लेख गरेका छन्। खोजीमा जुटेकाहरूले मानिसहरूका झोला, पर्स र परिचयपत्रका अवशेषहरू सङ्कलन गरेका छन्।

घटनास्थलबाट प्राप्त विवरणहरूअनुसार विमान दुर्घटना भएको ठाउँमा जङ्गलमा आगो लागेका कारण जलेका रूखहरू स्पष्ट देखिन्छन्।

यसैबीच विमानमा सवार मानिसहरूका परिवार र साथीहरू ग्वाङ्जाऊ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। कुन्मिङबाट उडेको चाइना ईस्टर्न एअरलाइन्सको उक्त विमान सोमवार अपराह्ण उक्त विमानस्थलमा आइपुग्नुअघि दुर्घटनामा परेको थियो।

को थिए विमानमा?

अधिकारीहरूले विमानमा सवार यात्रु र चालकदलका सदस्यहरूको अझै पहिचान गर्न सकेका छैनन्।

ग्वाङ्जाऊमा एउटा अन्तिम संस्कारमा सहभागी हुन आउन लागेका जनाको समूह पनि सोही विमानमा चढेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनास्थल

सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै एक महिलाले दुर्घटनामा परेको उक्त समूहमा आफ्नी बहिनी र नजिकका साथी रहेको बताएकी छन्।

उनले आफूले पनि त्यही विमानमा टिकट लिए पनि पछि परिवर्तन गरेर त्यसअघिको उडानमा आएको बताएकी छन्।

"मलाई खल्लो महसुस भएको छ," उनले जियमिन न्यूजसँग भनेकी छिन्।

ग्वाङ्जाऊ विमानस्थलमा चिन्तित परिवारहरू प्रतीक्षारत रहेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्।

भारतमा पनि 'उच्च निगरानी'

चीनको विमान दुर्घटनापछि भारतको वायुसेवा नियामक निकायले बोइङ ७३७ मोडलका सबै विमानहरूलाई "उच्च निगरानीमा" राखेको जनाएको छ।

उसले उडान प्रक्रिया र सञ्चालन लगायतका विषयहरूको निगरानीका लागि टोलीहरू पठाएको जनाएको छ।

"उडान सुरक्षा एउटा गम्भीर विषय हो र हामी परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेका छौँ," भारतको नागरिक उड्डयन सङ्घका महानिर्देशक अरुण कुमारले भने।

"तत्कालका लागि हामीले बोइङ ७३७ का जहाजहरूलाई उच्च निगरानीमा राखेका छौँ।"

बीबीसीले अमेरिका, युरोप र चीनका नियामकहरूलाई पनि प्रतिक्रियाका लागि अनुरोध गरेको थियो।

अमेरिकी विमान निर्माता बोइङले अनुसन्धानलाई सहयोग गरिरहेको र अमेरिकी राष्ट्रिय पारवहन सुरक्षा बोर्डसँग सम्पर्कमा रहेको जनाएको छ।

विश्वभरि बोइङ ७३७-८०० मोडलका ४,२०८ वटा यात्रुवाहक विमान सञ्चालनमा रहेको उड्डयन विश्लेषक संस्था सिरियमले जनाएको छ। तीमध्ये एकचौथाइभन्दा बढी विमानहरू चीनमा रहेको बताइन्छ।