टेक्सस गोलीकाण्ड: बन्दुक आक्रमणले कसरी अमेरिकी स्कुले बालबालिकालाई असर गरिरहेको छ

अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन।

हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई पढाइने रब एलिमेन्टरी स्कूलमा उक्त आक्रमण भएको थियो।

रामोस ह्याण्डगन, स्वचालित राइफल र थुप्रै राउन्ड गोली राख्ने क्षमताको म्यागजीनसहित आक्रामक रूपमा विद्यालय पुगेका थिए। घटनास्थलनजिकै रहेका एक सीमारक्षक सुरक्षाकर्मीले उनलाई गोली हानेर मारिदिएका थिए।

तर यस्ता खालका हिंसात्मक व्यवहारले अमेरिकी स्कुले बालबालिकाका साथै शिक्षक र अभिभावकको दैनिक जीवनलाई कसरी असर गर्छ त?

विद्यालयमा सुरक्षा व्यवस्था

विद्यालयमा हुने धेरै जनालाई लक्षित गरी हुने गोली प्रहारका घटनाबाट सर्वसाधारणमा पीडा उत्पन्न हुनु र विद्यालयलाई सुरक्षित पार्ने उपायको अपेक्षा गरिनु बुझ्न सकिने कुरा हुन्।

टेक्ससको विद्यालयमा भएको घटनापछि विद्यालय रहेका कैयौँ विद्यालयले प्रहरी उपस्थिति बढाउने बताए।

सन् १९९९ मा कोलम्बाइन हाईस्कूल, सन् २००७ मा भर्जिनिया टेक यूनिभर्सिटी, सन् २०१२ मा स्यान्डी हुक प्राथमिक विद्यालय र सन् २०१८ मा पार्कल्यान्ड हाईस्कूलमा पनि घटना भएपछि यस्तै गरिएको थियो।

यी सबै घटनाहरूमा ८८ निर्दोष मानिसहरू मारिएका थिए।

विद्यालयमा हुने बन्दुक आक्रमणबारे अध्ययन गरेकी अमेरिकी विज्ञ सेरिल लेरो जोनसनले भनिन्, “प्रत्येक घटनापछि विद्यालयहरूमा सुरक्षा बढाइएको छ र मानिसहरूलाई उनीहरूका बालबालिका कोलम्बाइन, भर्जिनिया टेक अथवा स्यान्डी हूकजस्ता घटनाका पीडित हुँदैनन् भनेर आश्वास्त पारिएको छ।”

भिक्टिम्स एन्ड अफेन्डर्स जर्नलमा लेख्दै उनले ती घटनापश्चात् विद्यालयमा बन्दुक बोकेका व्यक्ति वा सशस्त्र सुरक्षाकर्मी देखिने, एक्सरे मशीन, मेटल डिटेक्टरहरू राख्न पाउने जस्ता विषय सामान्य बनेको बताइन्।

‘पीडादायक’ अभ्यास

अमेरिकी विद्यालयहरू बन्दुकधारीले आक्रमण गरे के गर्ने भन्ने योजना बनाउन पनि अभ्यस्त भएका छन्।

यसको अर्थ विद्यालयहरूले खतराको आकलन गर्ने, आपत्कालीन प्रतिक्रिया जनाउन योजना गर्ने, सङ्कटका बेला खटिने टोली बनाउने र बन्दुकधारीलाई तत्काल कसरी प्रतिक्रिया जनाउने भनेर अभ्यासहरू बढाइरहेको जोनसन बताउँछिन्।

एभ्रीटाउन फर गन सेफ्टी सपोर्ट फन्ड नामक संस्थाका अनुसार एउटा एकदमै विवादित नीति भनेको बन्दुकधारी आउँदा के गर्ने भनेर गरिने अभ्यास हो। यो ९५ प्रतिशतभन्दा बढी अमेरिकी प्राथमिक विद्यालयहरूमा लागु हुँदै आएको छ।

ह‍ालैका केही त्यस्ता गहन अभ्यासमा नक्कली बन्दुक बोकेका नकाबधारी पुरुषहरू र नक्कली रगत प्रयोग गरेर पीडितको भूमिका निर्वाह गर्ने विद्यार्थीहरू सहभागी भएका थिए।

सन् २०२० को एउटा प्रतिवेदनमा एभ्रीटाउनले त्यस्ता अभ्यासको प्रभावकारिताले कति सघाउ पुर्‍याएको छ भनेर “कुनै अनुसन्धान” नभएको बताएको छ।

यसैबीच त्यस्ता अभ्यास मानसिक स्वास्थ्यका लागि भने हानिकारक हुने सङ्केत देखिएको छ।

उक्त प्रतिवेदनले एक अभिभावकलाई उद्धृत गर्दै लेखेको छ: “त्यस्तो अभ्यासका बेला पूर्वप्राथमिक विद्यालयमा पढ्ने मेरी छोरी शौचालयमा एक्लै बस्थिन् र अतिचिन्ताका कारण उनले एक वर्षसम्म उपचार गर्नुपर्‍यो।"

सन् २०१९ मा इन्डियानास्थित एक विद्यालयले त्यस्तो अभ्यास गराउँदा त्यसले विद्यार्थीलाई तनावमा पारेको र शिक्षकहरू पनि गोलीका छर्राबाट "आहत" र "भयभीत" भएको भन्दै उक्त विद्यालयको आलोचना भएको थियो।

"थुप्रै अभ्यासहरू विद्यालयका कर्मचारी वा कानुन कार्यान्वयन गराउने वयस्कका लागि हुन् ताकि उनीहरूले त्यस्ता अवस्थाको सामना कसरी गर्छन् भनेर हेर्न सकियोस्," न्याश्नल सेन्टर फर स्कूल क्राइसिस एन्ड बिरीभ्मन्टका डेभिड स्कनफील्डले बीबीसीसँग त्यतिबेला भनेका थिए।

"बालबालिकालाई नक्कली रगतले ढाकिएर भुइँमा लडेको अभियन गर्न लगाउनु अर्थहीन छ र त्यो आघात पुर्‍याउने हुनसक्छ।"

विद्यालय हाताभन्दा बाहिर

विद्यालयमा हुने बन्दुक हमलाबाट बाँच्न सफल मानिसको मानसिक स्वास्थ्यमा असर पर्ने, उनीहरूको शैक्षिक क्रियाकलाप कमजोर बन्ने र विद्यालय क्षेत्रमा पनि असर पुर्‍याउने थुप्रै अध्ययनहरूले देखाएका छन्।

वाशिङ्टन यूनिभर्सिटी र पेन्सिल्भेनिआ स्टेट यूनिभर्सिटीका विज्ञहरूले गरेको सन् २०२१ को अध्ययनअनुसार त्यस्ता घटना भएका विद्यालयका विद्यार्थीहरू अन्य विद्यालयका विद्यार्थीभन्दा धेरै अनुपस्थित हुने गरेका छन्।

ती विद्यार्थीले स्नातक गर्ने र चाँडै जागिर पाउने पनि कम देखिएको छ।

अन्य बृहत् क्षेत्रमा पनि त्यसको असर पर्छ। उदाहरणका लागि, अर्थशास्त्रीहरूका अनुसार परिवारहरूले ती क्षेत्र छोड्ने हुँदा हमलाका घटनाले आर्थिक रूपमा पनि असर गर्छ।

अन स्ट्यान्फर्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले विद्यालयमा हमला भएका समुदायमा २० वर्षमुनिका मानिसहरूले डिप्रेशनका कारण खाने औषधि २१ प्रतिशतले वृद्धि भएको पत्ता लगाएको छ।

स्ट्यान्फर्ड इन्स्टिट्यूट अफ इकोनोमिक पलिसी रिसर्चकी माया रोसिन स्लेटरले बन्दुक हमलाका घटनाहरू "बारम्बार भइरहँदा त्यसले असंवेदनशील बनाउँदै लगेको" बताइन्।

‘बन्दुक हमला भोग्ने पुस्ता’

एडुकेशन वीक नामक एउटा समूहका अनुसार यो वर्षमात्रै अमेरिकामा २७ वटा विद्यालयमा त्यस्ता बन्दुक हमला भएका छन्। ती घटनामा कम्तीमा ६७ जना मानिसहरू घाइते भएका छन् वा मारिएका छन्।

सन् २०१८ देखि तथ्याङ्क सङ्कलन गर्न थालेको उक्त समूहका अनुसार त्यसयता ११९ वटा विद्यालयमा घटना भएका छन् र तिनमा कम्तीमा एक जनाको मृत्यु भएको वा घाइते भएका छन्।

जोनसन भन्छन् आजका युवाहरूले दुर्भाग्यवश "बन्दुक हमला भोग्ने पुस्ता" को नाम पाएका छन्।

तर मानिसको जीवनमा यसका थुप्रै असर रहे पनि बन्दुक नियन्त्रणबारे यस्ता घटनाले सार्वजनिक धारणा डगमगाउन सकेको छैन। रिपब्लिकन नेताहरू र मतदाताहरू अझै पनि बन्दुक स्वामित्वको पक्षमै छन्।

सभामुख न्यान्सी पलोसीले टेक्सस घटनाका बन्दुकधारीले "बालबालिकाको भविष्य खोसेको" बताउँदै केही सांसदको आलोचना गरेकी छन्। ती सांसदले जीवन बचाउने सबै प्रयासको विरोध गरेर बन्दुक हमलापछि खोक्रा शब्द व्यक्त गरेको भन्दै पलोसीले उनीहरूको आलोचना गरेकी हुन्।

टेक्ससका रिपब्लिकन सिनेटर टेड क्रूजले बन्दुक हमलालाई "कुकर्म र सामूहिक हत्या" भने तर उनले बन्दुक नियन्त्रण नीतिले त्यस्ता घटना नरोक्नेमा जोड दिए।