अमेरिका: टेक्ससमा गोली हमलामा कम्तीमा १९ बालबालिका र दुईजना वयस्कको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुईजना वयस्कहरू मारिएका छन्।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।

अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।

कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ।

उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

आकस्मिक सेवा

स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ।

मारिने वयस्कमध्ये एकजना उक्त विद्यालयकी शिक्षक थिइन्।

उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ।

अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।

आक्रमणकारी कसरी मारिए?

समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए।

घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ।

मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन। 

के भन्छन् राष्ट्रपति?

ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा राष्ट्रपति जो बाइडनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुनेगरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बाएका छन्।

अमेरिकाका विद्यालयमा गोलीकाण्डहरू बारम्बार भइरहेका छन्।

गत वर्ष मात्रै त्यहाँ त्यस्ता २६ घटना भएको विवरण सार्वजनिक भएका छन्। सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार सन् २०२०मा अमेरिकामा कार दुर्घटनाभन्दा बढी मानिसको बन्दुक आक्रमणमा परेर मृत्यु भएको थियो।

दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको हमलामा १० जनाको मृत्यु भएको थियो।