नेपाल निर्वाचन: स्थगित भएका केही स्थानमा मतदान हुँदै, अधिकांश स्थानीय तहमा मतगणना जारी

भक्तपुरमा मतगणना

तस्बिर स्रोत, RSS

स्थानीय तह निर्वाचनको मतगणना ढिलो भइरहेको गुनासो आइरहँदा निर्वाचन आयोगले टोली बढाएर भए पनि छिटो गणना गर्न अधिकारीहरूलाई निर्देशन दिन लागेको निर्वाचन आयोगका सहायक प्रवक्ताले बीबीसीलाई बताएका छन्।

चुनाव सकिएको तेस्रो दिन आइतवार पनि देशभरि निर्वाचनको मतगणना कार्य जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

"मतपत्रमा सातवटा छाप खोज्ने, सदरबदर हेर्ने, प्रतिनिधिहरूलाई देखाउने जस्ता व्यावहारिक कठिनाइ छन्," सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीसँग भने।

"अरू बेला एउटा मत खोज्नुभन्दा सातगुना बढ्ता काम हो। तर गणना टोली थपेर भए पनि छिटो गर्न आयोगले निर्देशन पठाउँदैछ," उनले भने।

गणना किन ढिलो?

निर्वाचन आयोगले जेठ ५ अगाडि नै मतगणना कार्य सक्ने बताएको थियो। तर धेरै मतदाता भएका तहमा मतगणनाको गति निकै सुस्त भएको देखिएको छ।

राजनीतिक दल र तिनका कार्यकर्ताका गतिविधिबाट मतगणनामा "असर" परेको आयोगको दाबी छ।

सकेसम्म बढी मतगणना टोली गठन गर्दै छिटो गणना सक्न सघाउन आयोगले आइतवार दिउँसो एक विज्ञप्तिमार्फत् आग्रह गरेको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा "सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक अनावश्यक उचालेर विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने" जस्ता काम भएको आरोप लगाइएको छ।

आयोगले "राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई व्यवस्थित र अनुशासित रहन आग्रह' गर्दै तोकिएकै समयभित्र गणना सक्न सघाउन आग्रह गरेको छ।

तर निर्वाचनसम्बन्धी कतिपय जानकार तथा विज्ञहरूले गणना ढिलो हुनुमा आयोगको जनशक्ति र व्यवस्थापकीय बिषयलाई समेत कारण बताउने गर्छन्।

वालिङमा मतगणनास्थलको सीसीटीभी क्यामराबाट निगरानी गर्दै निर्वाचन अधिकारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वालिङमा मतगणनास्थलको सीसीटीभी क्यामराबाट निगरानी गर्दै निर्वाचन अधिकारी

केही ठाउँमा मतदान

शुक्रवार १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो।

तीमध्ये सप्तरी, कालीकोट र बझाङका केही केन्द्रहरूमा आइतवार मतदान भइरहेको आयोगले जनाएको छ।

आयोगले जेठ २ गते सोमवार धनकुटा, रामेछाप र बझाङका अरू स्थान तथा काभ्रेपलान्चोक जिल्लाका स्थगित केन्द्रमा जेठ ३ का लागि निर्वाचन कार्यसूची सार्वजनिक गरेको छ।

"अझै कति स्थानमा मिति तोक्ने गृहकार्य भइरहेको छ," आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीसँग भने।

लमजुङमा विजयी उम्मेदवार

तस्बिर स्रोत, RSS

निर्वाचन

तस्बिर स्रोत, RSS

नतिजा आउने क्रम सुरु

मतदान रद्द भएका पालिकामा सबैतिर मतदान सकिएपछि मात्र गणना सुरु हुनेछ।

झन्डै दुई दर्जन पालिकामा प्रमुख तथा उपप्रमुखसहित धेरैतिर वडाध्यक्ष र सदस्यहरूको अन्तिम नतिजा अहिलेसम्म आएको पाइन्छ।

मतदानअघि नै ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने केही वडामा बराबर मत आएपछि गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइएको छ।

नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि रहने व्यवस्था छ।

शुक्रवार साँझ निर्वाचन आयोगले देशभरि झन्डै ६४ प्रतिशत मतदान भएको जनाएको थियो। तर पुन: मतदानको काम सकिएपछि मात्र यस पटक भएको कुल मतदानबारे स्पष्ट तथ्याङ्क थाहा हुनेछ।

यसअघिको स्थानीय तह निर्वाचनमा ७४.१६ प्रतिशत मत खसेको थियो। त्यतिबेला एक करोड ४० लाख ७४ हजार ४२४ जना योग्य मतदाता थिए।

यसपालि मतदाताको सङ्ख्या थपिएर एक करोड ७७ लाख ३३ हजार ७२३ पुगेको थियो।

धाँधली भएको एमालेको आरोप

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ।

आइतवार एक वक्तव्य जारी गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले सरकार पक्षीय दलहरूले प्रशासनको दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै पालिकाहरूमा जित हासिल गरे पनि मतगणनाको प्रारम्भिक नतिजाले यो दलले यसअघिको जस्तो नतिजा ल्याउन नसक्ने सङ्केत गरेको छ।

एमालेले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानको क्रममा र मतगणनाको क्रममा 'योजनाबद्ध धाँधली' भएको आरोप लगाएको छ।

एमालेले आफ्नो दल र उम्मेदवारहरूको तर्फबाट कतिपय पालिकाको पुनः मतदान र मतगणना गराउन माग गर्दै दिएको निवेदनको सुनुवाइ गर्न निर्वाचन आयोगसँग माग गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: 'एउटै मतपत्र गणना गर्न दुई देखि २० मिनेटसम्म'