नेपाल निर्वाचन: धेरैजसो ठाउँमा मतगणना जारी, ‘मत गन्न भइरहेको ढिलाइ सम्बोधन गर्न थप टोली’

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगका एक जना अधिकारीले शुक्रवार मतदान भएका अधिकांश स्थानमा मतगणना भइरहेको बताउँदै मत गन्न समय लागिरहेको हुँदा चुनावी परिणाम केही ढिला आउनसक्ने सङ्केत गरेका छन्।
बीबीसीसँग कुरा गर्दै निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले मतगणनाको परिणाम सकेसम्म चाँडो सार्वजनिक गर्ने पक्षमा आयोग पनि रहेको र त्यसका लागि ढिलाइ भइरहेका ठाउँमा थप टोलीहरू खटाउन सकिने बताए।
यसअघि आयोगले पाँच दिनभित्र सबै स्थानीय तहका परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य रहेको बताएको थियो।
तर एउटै मतपत्र गन्न दुईदेखी २० मिनेटसम्म लागिरहेको काठमाण्डू महानगरका एक जना मतदान अधिकारीले बीबीसीलाई बताएका थिए।
कैयौँ स्थानमा तार जाली र सीसीटीभी क्यामेराको निगरानीसहित उच्च सुरक्षा व्यवस्था कायम गरेर मतगणना भइरहेको छ।
नयाँ संविधान जारी भए यता दोस्रो पटक भइरहेको स्थानीय तहको निर्वाचनमा करिब ६४ प्रतिशत मतदाताले भोट खसालेका थिए।
चासोका साथ हेरिएका काठमाण्डूसहित विभिन्न महानगरहरूमा सर्वदलीय बैठकपछि मतगणना थालिएको थियो।
अहिलेसम्म मनाङको दुई वटा र मुस्ताङको एउटा पालिकाको परिणाम प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
मतगणनाको प्रगति के छ?
आयोगका सह प्रवक्ता अर्यालका अनुसार मुचुल्का गरेर अनलाइन प्रणालीमा समावेश गर्ने काम भइरहेकाले ठ्याक्कै कतिपय स्थानमा मतगणना भइरहेको छ भनेर आफूले यकिन भन्न नसक्ने बताए।
तर उनले शुक्रवार मतदान भएका धेरै जसो ठाउँमा मतगणना भइरहेको विवरण आएको जानकारी दिए।
मतगणनामा समय लागिरहेको भन्ने विवरणका बारेमा उनी भन्छन्, "मतपत्र ठूलो छ। चिन्ह पनि धेरै छन्। मतपत्रको पाना खोल्नु पर्यो। सात ठाउँमा कसले कति मत पाए त्यो हेर्नुपर्यो। कुन सदर र कुन बदर भयो त्यो हेर्नुपर्यो। एक जनाले मात्र पाएको मत गन्नुभन्दा ६ देखि ७ गुणासम्म समय त्यसले लिने गर्छ। त्यही भएर मत गन्न समय लाग्छ।"

तस्बिर स्रोत, RSS
उनले थपे, "ढिलो भएका ठाउँमा विगतको स्थानीय चुनावमा जस्तै टोली थप्ने भन्ने विषयमा विचार गरिन्छ कि मलाई लाग्छ।"
निर्वाचन आयोगको अपेक्षा सकेसम्म चाँडो मतदान सम्पन्न गर्ने भएको उल्लेख गर्दै उनले विश्वसनीय र विवादरहित ढङ्गले काम अघि बढाउन आफूहरू लागिरहेको बताए।
सह प्रवक्ता अर्याल थप्छन्, "कुनै ठाउँमा ढिलो भएको खण्डमा टोली थप्नेबारे केन्द्रबाटै हामीले सोच्न सक्छौँ। हामीमा पनि कसरी चाँडो गर्न सकिन्छ भन्ने चिन्ता छ।"
निर्वाचन आयोगका प्रवक्ताले के भने?
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशका अधिकांश जसो ठाउँमा मतगणना सुरु भइसकेको छ।
उनले भने, "केही केही ठाउँमा मतगणनासम्बन्धी सर्वदलीय बैठकमा सामान्य विवादका कारणले वा दलका प्रतिनिध ठिक छन् कि छैनन् भन्ने रुजु गर्ने क्रममा छन्, नभए अधिकांश ठाउँमा गणना सुरु भइसकेको छ।"
उनका अनुसार हिमालपारिको जिल्ला मनाङबाट मत परिणाम आउन थालेका छन्।
"मनाङका दुई वटा पालिकाबाट आइसकेको छ। एउटामा एमाले र अर्कोमा कांग्रेसले जितेको खबर प्राप्त भएको छ," पौडेलले भने।
सबैको ध्यान रहेको राजधानी काठमाण्डू महानगरपालिकाको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको छ।
सत्तापक्ष र प्रतिपक्षी काठमाण्डू महानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने गरेका छन्।
करिब ३ लाख मतदाता रहेको काठमाण्डूमा विगतमा भन्दा कम अर्थात् करिब ५२ प्रतिशत मत खसेको यसअघि निर्वाचन अधिकारीहरूले बीबीसीलाई बताएका थिए।

तस्बिर स्रोत, RSS
काठमाण्डूका सहायका निर्वाचन अधिकृत प्रेम पौडेलका अनुसार वडा नम्बर एक र ३२ बाट मतगणना सुरु गरिएको थियो।
कहाँ के भइरहेको छ?
भक्तपुरस्थित हाम्री संवाददाता मतिनात्वनाबासुका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा मतगणना जारी रहेको छ।
उनका अनुसार सूर्य विनायक र मध्यपुर ठिमी नगरपालिकामा गएरातिबाटै मतगणना सुरु भएको थियो।
भक्तपुर नगरपालिकामा आज बिहान सात बजेबाट र चाँगुनारायण नगरपालिकामा अघि अपराह्नबाट मतगणना सुरु भएको स्थानीय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिकामा पनि शनिवार अपराह्नबाट मतगणना सुरु भएको हाम्रा नारायणगढस्थित संवाददाता ईश्वर जोशीले जनाएका छन्।

तस्बिर स्रोत, RSS
मधेश प्रदेश अन्तर्गत वीरगञ्ज महानगरपालिकाको पनि मतगणना जारी रहेको विवरण आएका छन्।
पोखरा महानगरपालिकाको मतगणना नगर विकास समितिको हलमा अपराह्न ढिलो गरी सुरु भएको थियो।
हाम्रा झापास्थित संवाददाता उमाकान्त खनालका अनुसार मतगणनाका क्रममा झडप भएपछि इलामको देउमाइ नगरपालिकामा प्रहरीले हवाई फायर गरिएको छ।
त्यहाँ मतदान स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।
आक्रोशित भिडले नगरपालिकाको कार्यालयमा तोडफोडको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।
विराटनगर महानगरपालिकामा आज बिहानदेखि ६ वटा वडाको मतगणना शूरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ।
कर्णाली प्रदेशको ७९ वटा स्थानीय तह मध्ये ७५ वटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले मतगणनाको कार्य अगाडि बढेको कर्णाली प्रदेश निर्वाचन आयोगको कार्यालय सुर्खेतले जनाएको छ।
मतदान कार्य रोकिएको स्थानहरूमा भने आइतवार पुन: मतदान गर्ने निर्णय भएको आयोगले जानकारी दियो।








