नेपाल निर्वाचन: कस्तो अवस्थामा मतदान केन्द्रमा मतदान रद्द हुनसक्छ?

नेपाल निर्वाचनः नमुना मतदान

तस्बिर स्रोत, Getty Images

स्थानीय तह निर्वाचनको लागि सबै झण्डै २२,००० मतदान केन्द्रमा मतदानको सुरु भइसकेको छ।

शुक्रवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म लाइनमा बस्नेले भोट हाल्न पाउने अधिकारीहरूले जनाएका छन्।

तर मतदान अवधिभर कुनै 'असामान्य' वा 'काबुबाहिरको अवस्था' सिर्जना भएको अवस्थामा त्यस्ता केन्द्रमा मतदान अधिकृतले आफ्नो विवेकका भरमा भोट हाल्ने काम केहीबेर रोक्न वा निर्वाचन कार्यक्रम नै रद्द गरी अर्को मिति तोक्न सक्ने व्यवस्था रहेको आयोगका अधिकारीहरूले बताएका छन्।

प्राकृतिक विपद्‌देखि मतदान केन्द्र र आसपास हुने अनधिकृत गतिविधिका कारण आउन सक्ने असहज अवस्थामा मतदान रद्द गर्न सकिने भएकाले सोका लागि व्यवस्थाहरू रहेको आयोगले जनाएको छ।

"त्यसै दिन निर्वाचन गर्न सकिने अवस्था आएन भने अर्को दिन हुने निर्वाचनका लागि सम्पूर्ण प्रक्रिया र कार्यक्रम नै नयाँ बनाउनुपर्छ," आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

"त्यसै दिन केही बेरलाई रोकिने अवस्थामा अगाडि भएका मतदान कायम रहन्छन्।"

शुक्रवारको मौसम

निर्वाचनको दिन शुक्रवार नेपालको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि साना र मध्यमखाले वर्षाको पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूका अनुसार देशका अन्य भागमासमेत आंशिकदेखि सामान्य बदलीको हुने सम्भावना रहेको देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ र यसको महत्त्व के छ?

त्यसले मतदानलाई निकै नै असहज बनाएमा चालिने उपायबारे आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, "एकदमै ठूलो हुरीबतास चल्यो र विषम परिस्थिति भयो भने मतदान स्थगन गरेर अर्को दिनका लागि मिति तोक्ने वा केहीबेर स्थगन गरेर पुन: सञ्चालन गर्न सकिने व्यवस्था निर्वाचन कानुनले गरेको छ।"

तर आयोगले सबै मतदान केन्द्रलाई त्रिपालको जोहो गर्न, ओत पर्ने ठाउँमा मतदानस्थल खडा गर्न र मतपेटिका सुरक्षित राख्नेगरी स्थानीय आवश्यकता अनुसार आवश्यक सबै तयारी गर्न भनिसकेको जनाएको छ।

"त्यसलाई मतदान अधिकृत वा निर्वाचन अधिकृतले नै व्यवस्थापन गर्न सक्नुहुन्छ र आयोगको सल्लाहमा समेत निर्णयहरू लिन सकिन्छ," सहप्रवक्ता अर्याल भन्छन्।

मौसमविद् वरुण पौडेलका अनुसार शुक्रवार केही स्थानमा १० मिलिमिटरभन्दा धेरै र अन्यत्र १० मिलिमिटरभन्दा कम वर्षाको सम्भावना देखिन्छ।

अनधिकृत गतिविधि

स्थानीय तह निर्वाचन ऐन अनुसार प्राकृतिक विपद्‌बाहेक मतदान केन्द्रमा हुलदङ्गा भएर मतदानको काम जारी रहन नसक्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजले त्यस्तो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्ने व्यवस्था छ।

प्रवक्ता पौडेल थप्छन्, "त्यस्तो अवस्था किन आएको हो भन्ने मुल्याङ्कन गर्दै आयोगले सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृतलगायत बसेर दुई-तिन दिनभित्र नयाँ मिति तोक्छ।"

त्यसको सूचना सोही स्थानमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

मतदान अधिकृतसामु 'मतदान केन्द्रमा निर्वाचनलाई व्यवस्थित तरिकाले जारी राख्न आवश्यक पर्ने जुनसुकै निर्णय लिने' अधिकार रहने प्रवक्ता पौडेल बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बदर नहुने गरी कसरी मतदान गर्ने?

कानुनी व्यवस्था अनुसार मतदान अधिकृतले अन्य कस्तो अवस्थामा मतदान रद्द गर्न सक्छन्?

  • कसैले मतदान केन्द्रको अनधिकृत कब्जा गरेर कुनै उम्मेदवारको समर्थक मतदातालाई मात्र मतदान गर्न दिएमा,
  • बल प्रयोग गरी वा नगरी मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डरत्रास देखाएमा वा धम्की दिएमा,
  • मतदान गर्नको लागि बाटोघाटो छेकेर केन्द्रसम्म पुग्न नसकेमा र
  • मतदान अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदान सम्बन्धी सामग्री खोस्नेजस्ता काम गरेमा।